Saturday, May 9, 2015

भूूकम्प गएको छ

मन्दिरका गजुरमा बस्ने परेवाहरू
एकाएक स्तब्ध भएका छन्
समान धड्किने सानो शिशुको मुटु
एकाएक असमान भएको छ

हो, एउटा भयङ्कर भूूकम्प गएको छ ।

दुुःख–कष्टमा पनि चाउरिएका गाला र
थोते दाँत देखाएर
निष्पाप मुस्काउन सक्ने
हजुर बा र हजुर आमालाई
र्निममतापूूर्वक
भारी दलीनले थिचेर गएको छ
हो, एउटा भयङ्कर भूूकम्प गएको छ ।

यही धर्तीबाट पाएको
रातो कमेरे माटोले लिपेको
पाखाभरी सौन्दर्य छर्ने
सुन्दर घर
माटोमै मिलेको छ
भत्किएको घरसँगै
जीवनका कलात्मक स्वप्नहरू पुरिएका छन्

प्रेमका गजुरहरू
चकनाचुर भएका छन्
लाश र भग्नावशेषहरू थुपारेर
वीभत्स दृश्य बिस्कुन लगाएर
हो, एउटा भयङ्कर भूूकम्प गएको छ ।

काख रित्तो पारेर
सिउँदो खाली गरेर
साना साना दुुधे बालकहरू टुहुरो बनाएर
भीर–पाखा, गाउँ–शहर जगैबाट हल्लाएर
आतङ्कको बज्र आएको छ
हो, एउटा भयङ्कर भूूकम्प गएको छ ।

पराई र आफन्तहरू चिनाएर
सबैलाई एउटै त्रिपालमुनि छिराएर
बाँडीचुँडी खाने
मिलीजुली बस्ने
एउटा पुरानो परम्परालाई
सम्झाइदिएर
नयाँ नेपाल बनाउँन
एउटा ढोका खोलिदिएको छ
हो, एउटा भयङ्कर भूूकम्प गएको छ ।


:नरेन्द्र पराशर


Monday, February 9, 2015

जीवन : सिर्जना र प्रज्ञान


सिर्जना शक्तिका हामी साना सन्तति सुन्दर
बनौँ आनन्दको ज्योति महाज्योति समुज्ज्वल ।।१।।

मान्छे उत्सव हो मीठो कला सङ्गीत नृत्य हो
उच्च आदर्श चैतन्य बोधले ऊ सुकृत्य हो ।।२।।

दिव्य दृष्टि छ सम्भाव्य बुझ्न संसारको गति
चेतनाको खुले द्वार कहाँ हुन्छ र दुर्गति < ।।३।।

उत्स उत्सवको प्रेम प्रेम निर्झरको लय
यो हो जीवन प्रज्ञाको छविच्छाया समुच्चय ।।४।।

जसरी हुन्छ ढाकेको विश्वले विश्व यो सबै
त्यसरी जिन्दगीलाई ढाक्छ जीवनले सधैँ ।।५।।

ढाक्छ दर्पण ध्वाँसोले देखिँदैन प्रतिच्छवि
ढाक्छ अज्ञानले ज्ञान छोपिराख्छ त्यसै गरी ।।६।।

करुणा प्रेम मैत्रीको बीज उम्रिन्छ ज्ञानमा
ज्ञान नै धन हो दिव्य ज्ञान उम्रिन्छ ध्यानमा ।।७।।

प्रज्ञा जीवनको लागि ज्ञान ध्यान समन्वित
श्रमले सिर्जना छर्ने पारौँ उन्नत जीवन ।।८।। 


: नरेन्द्र पराशर