Tuesday, May 5, 2020

संस्कृत कसरी सिक्ने ? How to learn Samskrit ?

संस्कृत कसरी सिक्ने ?
शृंखला -१

संस्कृत भाषाको महत्त्व, मिठास र यस भाषाको व्याकरणमा सन्निहित वैज्ञानिकताको बारेमा लामो लेख तयार हुनसक्छ । संस्कृत भाषामा रहेका सामग्रीहरू पढ्दा वा सुन्दा जुन आनन्द आउँछ त्यसका पछाडि धेरै कारणहरू छन् । ती कारणहरूको चर्चा पछि गर्दै गरौँला । बितेको समयमा संस्कृत पढ्न नपाएका र जीवनको मध्यतिर आइपुग्दा सो भाषाप्रति आश्चर्यलाग्दो गरी आकर्षित भएका प्रौढहरूले कसरी संस्कृतभाषामा बोल्न र लेख्न सक्छन् भन्ने बारे अहिलेयो लेखशृंखला केन्द्रित छ । संस्कृत भाषा कसरी सिक्ने भनेर उपाय बताउनु अगाडि तलका प्रश्नहरूमा केही समय विचार गरौँ ।

१. तपाईले अंग्रेजी भाषा जान्नको लागि करीब कति समय र धन लगानी गर्नु भएको छ <

= प्रतिदिन अंग्रेजी भाषामा के कति कुराहरू पढ्नु वा लेख्नु हुन्छ <

यी प्रश्नहरू यसकारण महत्वपूर्ण छन् कि तपाईले अंग्रेजी भाषा सित्तैमा सिक्नु भएको होइन । तपाईलाई बच्चै बेलादेखि फकाई, फुल्याई, लोभ देखाई, खुशी बनाई वा दण्ड दिएर जबर्जस्ती पढ्न लेख्न लगाइएको थियो । गैरनेपाली भाषीहरूले पनि त्यसैगरी नेपाली भाषा सिकेका हुन् । अर्थात् कुनै पनि भाषा सिक्नु निकै कठिन काम हो, तर असम्भव होइन भन्ने कुराको प्रमाण स्वयं तपाई नै हो । 

तर हामीले सहजै जाने–बुझेको भाषाका हजारौँ शब्दहरू जुन भाषामा पाइन्छन् त्यो भाषा सिक्न त उति अप्ठेरो हुँदैन । त्यसै गरी समान लिपिमा लेखिने र समान प्रकारले बोलिने भाषा सिक्न पक्कै पनि सजिलो हुन्छ । 

नेपाली, हिन्दी, बंगाली, मैथिली, भोजपुरी लगायतका भाषा बोल्नेहरूले त संस्कृत सिक्न कुनै असजिलो छैन । छोटो समयमै यो भाषा सजिलो गरी सिक्न सकिन्छ । 

आज पनि केही मानिसहरू संस्कृत अप्ठेरो र टपरे बाहुनहरूको भाषा हो भनेर हल्ला पिटाउँछन् र आफैँ संस्कृतका श्लोक राखेर टुइट् गर्छन् । यसको मतलब के हो भने संस्कृत भाषामा प्राण’ छ । वास्तवमै संस्कृत भाषामा प्राण छ । त्यसैले नै यो भाषा हजारौँ वर्षदेखि जस्ताको तस्तै कुनै प्रकारले अपभ्रंश नभई बाँचिरहेको छ ।

उसो भए जीवनको प्रौढ अवस्थामा यस्तो जीवन्त र रोमाञ्चकारी भाषा कसरी सिक्ने ?

गुरुकुलमा गुरुकुलीय शिक्षापद्धतिबाट संस्कृत पढाइ हुन्छ । सानो उमेरमै त्यहाँ बालबालिकाहरूलाई विशेष परीक्षा मार्फत् प्रवेश लिइन्छ । 

तथा ती बालबालाहरूलाई दैनिक विशेष आचारमा प्रशिक्षित गर्न थालिन्छ । बिहान सबेरै शय्या त्याग गर्ने, शौच–स्नानादि नित्यकर्मपश्चात् समूह समूहमा विशेष मन्त्रोच्चारणसहित विशेष देवदेवताको पूजा अर्चना गर्ने गराउने गरिन्छ । त्यसपछि विद्यार्थी वटुकहरू गुरुकुलको सरसफाइ, स्वाध्याय वा अन्य काममा व्यस्त रहन्छन् । 

बिहान-बेलुका नित्य सामूहिक भोजनपरम्परा हुन्छ । दानदातव्यबाट प्राप्त अन्नबाट शुद्ध शाकाहारी भोजन गुरुकुलपति–प्रमुख–आचार्य, अन्य आचार्यहरू र सबै विद्यार्थीहरूले उही प्रकारको समान खाना सँगै बसेर खान्छन् । सबैले आ–आफ्ना थाल–बटुका आफैँ सफा गर्छन् । र पुनः पढ्न–पढाउन लीन हुन्छन् ।

यी साना बालबालिकाहरूलाई गुरुकुलमा सबैभन्दा पहिले उच्चारण विधि सिकाइन्छ । शुद्ध उच्चारण संस्कृत भाषाको पहिलो शर्त हो भन्न सकिन्छ । 

त्यसपछि जब विद्यार्थीले सकारात्मक पारा ल्याउँछन् उनीहरूलाई वर्णोच्चारण बारे ज्ञान दिन थालिन्छ । अर्थात् अब विद्यार्थीहरू पाणिनि व्याकरण सिक्नतिर लाग्छन् । पहिले स्वर र व्यञ्जन वर्णहरू सिकाइन्छ । तिनको उत्पत्तिको कारण र स्थानबारे सिकाइन्छ । कुन वर्णहरू के कसरी कहाँ कहाँ स्पर्श गर्दै के कति जोडबलले उच्चारण हुन्छन् र कुन वर्णको उच्चारण गर्दा ओठ, मुख बन्द हुन्छ वा खुला हुन्छ आदिको बारेमा ज्ञान दिइन्छ । 

सँगसँगै बालकहरूले शब्दरूपावलि र धातुरूपावलि पनि पढिरहेका हुन्छन् । माथिल्लो कक्षाका अग्रज विद्यार्थीहरूले तल्लो कक्षाका अनुज विद्यार्थीहरूलाई जुनसुकै बेला पनि जानेका बुझेका कुराहरू सिकाइरहेका हुन्छन् । गुरुले नै सिकाइदिनु पर्छ भन्ने बाध्यता त्यहाँ रहन्न । 

यसरी त्यहाँ भाषा सिक्ने परम्परागत पद्धति छ । जसले संस्कृतभाषालाई जरैबाट बलियो बनाइरहेको हुन्छ । गुरुकुलका विद्यार्थीहरूले गुरुशिष्य परम्पराबाट अनेकौँ विषयका अनेकौँ कुराहरू विना दबाब सिकिसकेका हुन्छन् । 

तर यही प्रक्रियाबाट संस्कृत सिक्नु प्रौढ मानिसहरूका लागि कठिन काम हो । यहाँ हामी केही फरक तरिकाले संस्कृत सिक्ने उपायका बारेमा कुरा गर्नेछौँ । जुन तपाईका लागि काम लाग्ने हुनसक्छ ।

उच्चारण ठीक तरिकाले गर्नु पर्ने भएकोले हामी पनि उच्चारणमा बानी पार्न तलका केही श्लोहरू पढौँ । मनमनै पढेर उच्चारण हुनसक्दैन । तपाईले गतिलो आवाजमा जोड दिएर प्रेमपूर्वक पढ्नै पर्छ । 

यावत् जीवेत् सुखम् जीवेत्
ऋणम् कृत्वा घृतम् पिबेत् ।
भस्मीभूतस्य देहस्य
पुनरागमनम् कुतः ।।

(चार्वाक्)

जतिन्जेल बाँच्ने हो सुखपूर्वक बाँचौँ । ऋण गरेर भए पनि घीउ खाऊँ मरेर देह खरानी भइसकेपछि फेरि फर्केर कताबाट आउँनु <

यो पनि हेर्नुहोस् https://ratopati.com/story/53069

यो श्लोक तपाईले राम्ररी उच्चारण गर्नु भएको हुनुपर्छ । तर कतिपय स्थानमा त सन्धिले यही उच्चारणलाई फरक पारिदिन्छ । त्यतापट्टि अहिले नजाऊँ । अहिले अर्को एउटा श्लोक फेरि हेरौँ । 

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानम् श्रृजाम्यहम् ।। -गीता अध्याय ४ श्लोक ७_

जब जब धर्मको हानि र अधर्मको वृद्धि हुन्छ तब म आफै प्रकट हुन्छु । 

जिब्रो नलटपटाओस् उच्चारण रामरी होस् भन्ने उद्देश्यले पढ्नुहोस् । दोहोर्याएर पढ्नुहोस् र ठूलो ठूलो स्वरले पढ्नुहोस् । 

यी श्लोकहरू पढ्दा कतै तपाईलाई लाज त लागेन ? संसारको सबैभन्दा पुरानो भाषा सिक्ने कुरा हो कसैले केही भनिदिने हो कि भन्ने भयबाट मुक्त हुनुहोस् । संस्कृत हाम्रो भाषा हो  

नखीनाञ्च नदीनाञ्च शृङ्गीणां शस्त्रपाणिनाम्।
विश्वासो नैव कर्तव्यः स्त्रीषु राजकालेषु च ।।  (चाणक्य नीति)

नदीहरुको, नंग र सिंग भएकाहरूको, हतियारधारीहरूको, स्त्रीहरूको र राजकुल-राजनीति गर्नेहरूको कहिल्यै विश्वास गर्नु हुँदैन ।

यो श्लोक स्त्रीद्वेषी पनि छ । सत्य हो । तर चाणक्यको समयमा भएका भीषण युद्धहरूमा युवतिहरूको प्रयोग भएको थियो । हनी ट्र्यापिंग को रूपमा, जासुसी गर्ने गराउने एजेन्टको रूपमा वा अन्य धेरै ठाउँहरूमा । चाणक्यले त्यही प्रसङ्गमा, त्यही कालमा लेखेको यो श्लोकमा महिलाहरूलाई विश्वास नगर्नू भन्नुको तात्पर्य पनि त्यही हुनसक्छ । 

यसरी शब्दोच्चारणमा हाम्रो जिब्रो बानी परोस् । क ख ग घ आदिको वर्णहरूको शुद्ध उच्चारण गर्नका लागि तलको लिंक लाभकारी छ । 


पढ्दै जाँदा उच्चारण पनि आफैँ शुद्ध हुँदै जान्छ । त्यसकारण अब हामी पढ्नतिर लागौँ । 

जन्मिएको एक वर्षसम्म बच्चाले शब्दहरू सुन्छन् । अनि हातगोडा चलाउँदै आमा, बाबा, काका, पापा आदि शब्दहरू उच्चारण गर्न थाल्छन् । अनि उनीहरूले छोटा छोटा वाक्यहरू बोल्न थाल्छन् । जस्तै 

पापा खान्छु । आमा आउनू । माम खान्न । बाबा नजानू ।

अलिपछि थप परिस्कृत वाक्यहरूबोल्न थालछन् । जस्तै- 

राम विद्यालय जान्छ । म घर जान्छु । ऊ राम्रो पढ्दैन । तिमी असल छौ । त्यो केटी बाठी छे । आदि ।

भाषा सिक्ने प्राकृतिक तरिका यही हो । छिपछिपेबाट गहिराइतिरको प्रस्थान । 

माथिको पहिलो वाक्य हेरौँ ।

राम विद्यालय जान्छ । यहाँ राम कर्ता हो । विद्यालय कर्म हो र जान्छ क्रियापद हो । 

संस्कृतमा पनि यस्तै हुन्छ । तर संस्कृतमा जुन सुकै शब्दहरू जहाँसुकै रहे पनि त्यसको मूल अर्थमा फरक पर्दैन । 

रामले खान्छ । रामलाई नमन गर्छु । रामद्वारा रावण मारिए । रामलाई नमस्कार । रामबाट टाढा जाऊ । रामको भाइ लक्ष्मण हो । राममा विश्वास गर । हे राम रक्षा गर । 

यी माथिका विभक्तिरूप थाहै नपाई हामी नेपालीमा बोलिरहेका हुन्छौँ । तर संस्कृत जान्नका लागि यी विभक्तिहरू जान्नु सिक्नु नै पहिलो शर्त हो । यी विभक्तिबारे तपाईले जान्नु अत्यावश्यक छ, अनिवार्य छ ।

संस्कृतमा रामले भन्नु पर्दा त्यस राम शब्दमा अन्य अक्षर थपिदैनन् । त्यही राम शब्द एकपटक चल्छ। जस्तो 

रामः 

यसरी राम शब्दको पछि विसर्ग (ः) राखेपछि स्वतः रामले भन्ने अर्थ आउँछ ।

ऊ राम हो भन्नुपर्दा सः रामः अस्ति । 

रामलाई नमस्कार गर्छु भन्नुपर्दा रामम् नमस्करोमि अहम् ।त्यहाँ रामम् रूप हुन्छ ।

रामद्वारा भन्नुपर्दा रामेण बन्न आउँछ । रामेण रावणः हतः । रामद्वारा रावण मारिए ।

रामलाई वा रामको लागि फूल दिन्छु भन्दा रामाय पुष्पं समर्पयामि ।

रामबाट टाढा जाऊ भन्नुपर्दा रामात् दूरे गच्छतु ।

राममा विश्वास गर भन्नु पर्दा रामे विश्वासं कुरोतु । 

हे राम मलाई रक्षा गर भन्नु पर्दा भो राम माम् रक्षतु ।

यसरी नै राम विद्यालय जान्छ भन्नुपर्दा कस्तो हुन्छ हेरौँ । 
रामः विद्यालयं गच्छति । रामः मन्दिरं गच्छति । रामः आपणं गच्छति । रामः वनं गच्छति । रामः गृहं गच्छति । रामः कार्यालयं गच्छति । रामः मदिरालयं गच्छति । रामः नगरं गच्छति । रामः ग्रामं गच्छति । 

माथिका यी छोटा वाक्यहरूका संरचना समान छन् । कर्ता रामः सबैतिर समान छ । त्यसपछि कर्म अर्थात् ऊ जाने ठाउँका शब्दको पछाडि अम् छ । अर्थात् दोस्रो विभक्ति प्रयोग भएको छ । जहिले पनि कर्ममा द्वितीय विभक्ति प्रयोग हुन्छ ।

सः भोजनं करोति । ऊ भोजन गर्छ ।
सः फलं खादति । ऊ फल खान्छ । 
सः मांसाहारं न करोति । ऊ मांसाहार गर्दैन । 
सः पुस्तकं पठति । ऊ पुस्तक पढ्छ । 
सः जलं पिबति । ऊ पानी पिउँछ ।
सः रोदनं करोति । ऊ रोदन गर्छ । 

तसर्थ जो कर्ता हो त्यसको ठीक पछि विसर्ग लाग्छ । जुन शब्द कर्म हो त्यसको पछि म् हुन द्वितीय विभक्ति लाग्छ । क्रियापदमा कर्ता एक जना मात्र भए क्रियापद पनि एक वचनकै लाग्छ ।  

संस्कृतमा एक वचन, दुई वचन र बहुवचन गरी तीन वचनहरू हुन्छन् । यही कारणले मान्छेहरू संस्कृत भाषासँग बिच्किन्छन् । तर यस्तो व्यवस्थाले संस्कृत लेख्ने बेलामा यसको जादु हेर्न पाइन्छ । सुरु सुरुमा अलि अप्ठेरो लाग्न सक्छ ।

राम शब्दको रूप हेरौँ ।

विसर्ग -M) लाई झण्डै झण्डै ह जस्तो उच्चारण गरिन्छ । यसलाई परित्याग गर्न सकिँदैन । यो विसर्ग -M_संस्कृत भाषाको अभिन्न, अत्याज्य र अनिवार्य अङ्ग हो । 

विभक्ति एक वचन   दुई वचन    बहु वचन

प्रथमा, ले          रामः       रामौ      रामाः
द्वितीया, लाई      रामम्       रामौ          रामान्
तृतीया,   द्वारा    रामेण       रामाभ्याम्    रामैः
चतुर्थी,  लागि     रामाय      रामाभ्याम् रामेभ्यः
पञ्चमी  बाट,     रामात्     रामाभ्याम् रामेभ्यः
षष्टी को          रामस्य      रामयोः रामानाम्
सप्तमी मा       रामे          रामयोः         रामेषु
सम्बोधन        हे राम       हे रामौ         हे रामाः

अकारान्त सबै पुल्लिंग शब्दहरूको रूप यही तरिकाले चल्छ । 

जस्तो कृष्ण, नरेन्द्र, इन्द्र, नारद, शिव, गणेश, कुमार, पराशर, व्यास, धर्म, चन्द्र, बल, विशाल, सरोज, ईश्वर, मूसक, मृग आदि ।


गम् धातु 'जानु' को रूप 

पुरुष       एकवचन       द्विवचन             बहुवचन

प्रथम       गच्छति        गच्छतः             गच्छन्ति
मध्यम      गच्छसि       गच्छथः             गच्छथ
उत्तम      गच्छामि       गच्छावः            गच्छामः




पुरुष     एकवचन          नेपाली

प्रथम           रामः गच्छति राम जान्छ ।

                 रामः गृहम् गच्छति ।

मध्यम त्वम् गच्छसि तिमी जान्छौ ।
उत्तम          अहम् गच्छामि म जान्छु ।

पुरुष           द्विवचन                    नेपाली

प्रथम     रामौ गच्छतः         दुई राम जान्छन् ।
मध्यम    युवाम् गच्छथः तिमी दुई जान्छौ ।
उत्तम    आवाम् गच्छावः      हामी दुई जान्छौँ ।


पुरुष       बहुवचन                     नेपाली

प्रथम       रामाः गच्छन्ति        रामहरू जान्छन् 
मध्यम      यूयम् गच्छथ तिमीहरू जान्छौ 
उत्तम      वयम् गच्छामः हामीहरू जान्छौँ ।

केही थप उदाहरण
पुल्लिङ्ग एक वचन

१. कृष्णः स्थूलः अस्ति । कृष्ण मोटो छ ।
२. श्यामः कृशः अस्ति । श्याम दुब्लो छ । 
३. लक्ष्मणः वनं गच्छति । लक्ष्मण वन जान्छ ।
४. रमेशः कार्यालयं गच्छति ।
५. प्रमोदः पुष्पं चिनोति । प्रमोद फूल टिप्छ ।
६. विकासः शीघ्रं धावति । विकास छिट्टो कुद्छ । 
७. पंकजः शनैः शनैः वदति । पंकज बिस्तारै बिस्तारै बोल्छ ।
८. हरिप्रसादः गीतं गायति । हरिप्रसाद गीत गाउँछ ।
९. नरेन्द्रपराशरः कवितां लिखति । नरेन्द्रपराशर कविता लेख्छ ।
१०. भोलामानः शोकं करोति । भोलामान दुःख मान्छ । शोक गर्छ । 

अब यी र यस्तै प्रकारका अनेकौँ वाक्यहरू बनाउनु होस् । 

बाँकी अर्को शृंखलामा सिक्ने छौँ । तलको एउटा श्लोक शुद्धसँग पुनः पढ्नुहोस् ।


त्यक्त्वा लज्जां भयं त्यक्त्वा वक्तुमिच्छन्ति चेद्यदा ।
शक्नुवन्ति तदा वक्तुं संस्कृतं नास्ति दुर्गमम् ।।

  • नरेन्द्रपराशर


त्वक्त्वा लज्जां  =लाजलाई त्यागेर ।
भयं त्यक्त्वा  =भयलाई त्यागेर ।
वक्तुम् = बोल्न 
इच्छन्ति = इच्छा गर्नुहुन्छ (बहुवचन)
चेत् = यदि 
यदा = जब 
शक्नुवन्ति = सक्नुहुन्छ (बहुवचन) 
तदा = त्यसपछि 
संस्कृतम् = संस्कृत भाषा 
नास्ति = छैन । (न अस्ति इति )
दुर्गमम् = दुर्गम, अप्ठेरो, गमन गर्ने नसकिने । 
धन्यवाद ।

बाँकी अर्को शृंखलामा । 

No comments:

Post a Comment