Wednesday, May 6, 2020

संस्कृत कसरी सिक्ने शृङ्खला -२ How to Learn Samskrit ?

प्रौढहरूले संस्कृत भाषा सिक्नको लागि प्राथमिक प्रस्थान–बिन्दु भनेको विभक्तिहरूको ज्ञान हो ।

विभक्तिहरूको सही ज्ञान र प्रयोगले नै वाक्य निर्माण गर्न सजिलो हुन्छ । गुगलमा सर्च गर्नुभयो भयो भने प्रायः सबै संकृत नामशब्दहरूका विभक्ति प्रयोग भई बनेका ‘शब्दरूपावलि’ पाइन्छन् ।  अघिल्लो शृंखलामा हामीले पुल्लिङ्ग राम शब्दको रूप जानेका थियौँ ।

निम्न कुराहरू जान्नका लागि विभक्ति आवश्यक हुन्छ ।

कसले वा केले ? 
कसलाई वा केलाई ? 
को वा केद्वारा ? 
कसका लागि ? 
को वा केबाट ? 
कसको वा केको ? 
कसमा वा केमा ?

रामले खान्छ । रामलाई नमन गर । रामद्वारा नाचियो । रामका लागि नमस्कार छ । रामबाट पर जाऊ । रामको भाई लक्ष्मण हो । राममा प्रेम गर । जस्तो-

सुरेन्द्रः । (सुरेन्द्र कर्ता हो ।)

उपर्युक्त विभक्तिहरूको ज्ञान र प्रयोगले नै वाक्य निर्माण गर्न सहज हुन्छ ।

वाक्य निर्माण गर्दा क्रियापद पनि सँगसँगै आउने भएकाले केही प्रचलित क्रियापदबाट ती क्रियापदहरू कसरी प्रयोग हुन्छन् भन्ने जान्नुपर्छ । 

पहिले एक वचनमा प्रयुक्त हुने क्रियापदहरू जान्नु पर्छ । जस्तो-

भवति । खादति । चलति । वदति । हसति । गच्छति । आगच्छति । नृत्यति । करोति । वसति । तिष्ठति । रमति । पठति । गायति (गाउँछ) । खनति (खन्छ) । भणति (भन्छ) आदि ।

१. सुरेन्द्रः खादति । (सुरेन्द्रले खान्छ ।)
२. सुरेन्द्रः ओदनं खादति । (सुरेन्द्रले भात खान्छ ।) (जे खाइन्छ वा गरिन्छ त्यो कर्म हो र त्यसमा द्वितीय विभक्ति लाग्छ ।)
३. सुरेन्द्रः प्रातकाले दाडिमफलं खादति । (सुरेन्द्र विहानै (बिहानमा) अनारफल खान्छ ।)
४. सुेन्द्र प्रातकाले दाडिमफलं रुचिपूर्वकेन खादति । (सुरेन्द्रले बिहानै अनारफल स्वाद लिएर खान्छ ।)
५. सुरेन्द्रः काष्ठमण्डपनगरात् ग्रामं गच्छति । (सुरेन्द्र काठमाण्डुनगरीबाट गाउँ जान्छ ।)
६. सुरेन्द्रस्य स्वभावः सुन्दरः अस्ति । (सुरेन्द्रको स्वभाव सुन्दर छ ।)
७. सुरेन्द्रे विश्वासं करोतु । (सुरेन्द्रमा विश्वास गर ।) (प्रथम पुरुष)
८. हे सुरेन्द्र भवान् कुत्र गच्छति ? (हे सुरेन्द्र हजुर कता जानुहुन्छ ? सम्बोधनमा विसर्ग लाग्दैन ।)

यसरी विभक्तिअनुसार संस्कृतमा वाक्य बनाउन र सोही अनुसार बोल्न पनि सकिन्छ । तपाई साथी भाइ वा परिवारका सदस्यहरूसँग हँसीमजाक गर्दै संस्कृतमा बोल्न सक्नु हुन्छ । नबोली भाषा जानिदैन । भाषा जान्नु भनेको कण्ठ पार्नु होइन । तर आधारभूत कुराहरू त कण्ठ नगरी पनि हुँदैन ।

के तपाईले ILETS / GRE जस्ता अंग्रेजीका भाषाकक्षाहरूमा भाग लिनु भयो ? लिनु भएको भए तपाईले धेरै अंग्रेजी शब्दहरू मरिहत्ते गरेर कण्ठ गर्नु भएको कुरा तपाईलाई पक्कै पनि सम्झना भएको हुनुपर्छ । संस्कृतका धेरै शब्दहरू हामी दैनिक जीवनमा प्रयोग गरिरहेका हुन्छौँ । तसर्थ ती शब्दहरूको रूप कसरी चल्छ भन्ने कुरा बुझ्यौँ भने त्यो नै पर्याप्त छ । केही पनि अप्ठेरो छैन ।

हाम्रो दैनिक जीवनमा धेरै प्रयोग हुने शब्दहरूमा ऊ, म, तिमी, हामी हुन् ।

अहम् = म ।
वयम् = हामीहरू ।
त्वम् = तिमी तपाई ।
सः = ऊ÷त्यो ।
भवान् = हजुर तपाई (यो प्रथम पुरुष ऊ सरह प्रयोग हुन्छ ।)

अब हामीले बोल्नु पर्दा मैले, मलाई, मद्वारा, मेरा लागि, मबाट, मेरो, ममा भन्नु पर्दा कसरी भनिन्छ त्यो कुरा जानौँ ।

१. अहं शिक्षकः अस्मि । (म शिक्षकः हुँ । यहाँ अस्मि नभने पनि स्वतः म हुँ भन्ने अर्थ आउँछ ।)ं
२. माम् पश्यतु । (मलाई हेर ।)
३. मया कृतम् सुकार्यम् । (मद्वारा गरिएको सुकार्य हो ।
४. मत् दूरे गच्छतु । (मबाट टाढा जाऊ ।)
५. मम नाम बादलः अस्ति । (मेरो नाम बादल हो ।)
६. मयि तत् ज्ञानं नास्ति । (ममा त्यो ज्ञान छैन ।)


सः = ऊ ।

सः कृषकः अस्ति ।
सः क्षेत्रं खनति ।
सः श्रमं करोति ।
सः अन्नोत्पादनं करोति ।
सः देशस्य आधारस्तम्भः अस्ति ।
परन्तु सः कथं दीनः अस्ति ?
सः ऋणस्य भारेण ग्रस्तः अस्ति ।

सः = ऊ ।
तम् = उसलाई ।
तेन = ऊ द्वारा ।
तस्मै = उसलाई
तस्मात् = त्यस÷ऊबाट ।
तस्य = उसको÷त्यसको ।
तस्मिन् = उसमा वा त्यसमा ।

माथि अहं बाट जसरी स-साना वाक्यहरू बनेका छन् यो सः बाट पनि त्यसै गरी स-साना वाक्य बनाउन सकिन्छ । जस्तो-
१. सः देवः अस्ति । (ऊ देव हो ।)
२. तम्(तं) पृच्छतु तस्य नाम किम् । (त्यसलाई सोध त त्यसको नाम के हो ?) 
३. तेन किम् कर्तव्यम् । (उसद्वारा के गरिनु पर्छ ?) तेन पठितव्यम् (उसद्वारा पढिनुपर्छ )
४. देवाय तस्मै नमः । (ती देवलाई नमस्कार छ ।) रामाय नमः । कृष्णय नमः । शिवाय नमः आदि )
५. तस्मात् भयं नास्ति । (ऊबाट डर छैन ।)तस्मात् कारणात् जानामि ।त्यसको कारणले म जान्दछु ।)
६. तस्य पठनकार्यं सम्यक् नास्ति । (त्यसको पढाइ ठीक छैन ।)
७. तस्मिन् तत् ज्ञानम् अस्ति वा ? (त्यसमा त्यो ज्ञान छ त ?)

यसरी कर्ता कर्म र क्रियापदहरू राखेर वाक्यहरू बन्छन् । जहाँ विभक्तिको ज्ञान अनिवार्य छ ।
शब्दरूपावलि गुगल गरेर खोज्न सक्नुहुन्छ ।

यो श्लोक कण्ठ गर्नुहोस्

नत्वा सरस्वतीं देवीं शुद्धां पुण्यां करोम्यहम् ।
पाणिनीय प्रवेशाय लघुसिद्धान्तकौमुदीम् ।।



शृंखला -२ पढिदिनु भएकोमा धन्यवाद ।

No comments:

Post a Comment