हामी बाँदर पालेर, निकुञ्जमा रमाउँछौँ ।
कर्मवीर युवालाई, 'खाडी'तर्फ धपाउँछौँ ।।
।।१।।
रुख काट्न दिँदैदिन्नौँ, धोद्रो पारी सडाउँछौँ ।
बर्मा मलेसियाबाट कच्चा काठ झिकाउँछौँँ ।।
।।२।।
'स्वदेशी बीउ फल्दैन', भन्ने विज्ञान ल्याउँछौँ ।
विदेशी बीउ किन्दामा हामी मस्त रमाउँछौँ ।।
।।३।।
हामी कागजमा ठूला पोखरी नै खनाउँछौँ ।
फेरि कागजमै हामी, पुर्नलाई लगाउँछौँ ।।
।।४।।
खोला हालेर झोलामा, आफ्नै भँडार फोर्दछौँ ।
दिई कानुनका धारा, थैली हामी निचोर्दछौँ ।।
।।५।।
किलो पाँचेकको घिच्रो, घमण्डले फुलाउँछौँ ।
टन क्विन्टलको माला पाएदेखि लगाउँछौँ ।।
।।६।।
नेपाली बोल्न रोकेर, अंग्रेजी नै पढाउँछौँ ।
भाषा ध्वस्त गरी हामी प्रज्ञामा मुस्कुराउँछौँ ।।
।।७।।
'केही छैन मरी लानु' भनी निर्धक्क भन्दछौँ ।
भ्रष्ट आचारको पैसो, कुना पसेर गन्दछौँ ।।
।।८।।
'बिग्रियौँ, पर्ख सच्चिन्छौँ,' भन्छौँ हल्ला फिँजाउँछौँ ।
सच्चिने जनताले हो, लाठी ठोक्न लगाउँछौँ ।।
।।९।।
यौटा वाक्य बटारेर, नीतिमै छिद्र पार्दछौँ ।
सद्धे जहाज ल्याएर, भोलिपल्टै बिगार्दछौँ ।।
।।१०।।
साना साना दुलाबाट हात्ती हामी छिराउँछौँ ।
आफैँ गल्ती गरी हामी, दोष अन्तै भिराउँछौँ ।।
।।११।।
गणतान्त्रिक हौँ भन्छौँ राजाझैँ मुस्कुराउँछौँ ।
दशैँका पाहुनालाई, घुँडा टेक्न लगाउँछौँ ।।
।।१२।।