Thursday, April 25, 2013

कविता बोल्छे




हावालाई उडाएर आगोलाई जलाउँछु,
म हुँ तारल्यकी बेग पानीलाई बगाउँछु ।।

सत्य प्राकृत पन्छीझैँ स्वतन्त्रता म-गाउँछु,
उज्याली हुँ, उज्यालोकै दिव्य आलोक छाउँछु ।।

आँखीझ्याल भई सानो पारावार फुकाउँछु 

समुद्र एक थोपामा  खाँदी खाँदी अटाउँछु ।।

म हुँ बादलकी चित्र विचित्रमय अर्थ हुँ
म हुँ अमूर्तमा मूर्त, मूर्तमा म अमूर्त हुँ ।।



:नरेन्द्र पराशर
(छन्द अनुष्टुप्)

Monday, April 22, 2013

समयको एउटा विनिर्माण


१. 
तिमीलाई उसले
कविताको बाढी दिएको छ
आफ्नो अस्तित्व रक्षाको
महासङ्कट झेल्दै
तिमी निस्सासिएकी छ्यौ
यस अर्थमा
ऊ एउटा प्राकृतिक प्रकोप हो ।

२. 
तिमीलाई उसले
कविताको सपना दिएको छ
त्यस सपनामा तिमी
शशी शातील्य झुल्किएकी छ्यौ
चकोर स्वरूपमा ऊ
आधाजीवन अनिदो बसेको छ 
यस अर्थमा
ऊ एउटा दुःस्वप्न हो ।


३. 
तिमीलाई उसले
कविताको दिव्य-चक्षु दिएको छ
र तिमी तिनै चक्षुले
दिनको अन्धकारमा
प्रज्ञाज्योति फिजाउँछ्यौ
अनि मुस्कानको उज्यालोले
कालो रात जलाउँछ्यौ
यस अर्थमा
ऊ एउटा आगजनी हो ।

४. 
तिमीलाई उसले
कविताको रहस्य दिएको छ  
जसले तिम्रो चेतनपारावार
रहस्यमय बनाइदिएको छ
गुलाफझैँ प्रफुल्ल तिम्रो मुहार
कनक-सुन्दरीको मुकुटको मणिझैँ
जाज्ज्वल्यमान् बनाएको छ
यस अर्थमा
ऊ एउटा आत्मदाह हो ।


५. 
तिमीलाई उसले 
कविताको आकाश दिएको छ 
जहाँ तिमी जीवन गरिमाको साम्राज्य
एकलौटी भोग गर्छ्यौ
उन्मुक्तिको मधुले मात्तिएर
सम्भोगीय सीत्कार भर्छ्यौ
जहाँ स्वर्गका परीहरू ईर्ष्याले थुक निल्छन्
यस अर्थमा
ऊ एउटा दुर्भाग्य हो ।

६. 
तिमीलाई उसले
कविताको झङ्कार दिएको छ
अर्थात् 
प्राकृतिक प्रकोप
दुःस्वप्न
आगजनी
आत्मदाह
अर्थात्
दुर्भाग्य दिएको छ
यस अर्थमा ऊ समयको एउटा विनिर्माण हो


:नरेन्द्र पराशर
 

Sunday, April 14, 2013

तिम्रो नाममा मेरो कविता

भावना छेउमा फूल कति धेरै सुहाउँछे,
प्राचीको दिव्य आभामा सविता क्या रमाउँछे !
।।१।। 
सन्ध्यामा कल्पना उठ्छे चाँदनी मुस्कुराउँछे,
सपना सम्झना वीणा राग मीठो बजाउँछे !
।।२।।
आरती कान्तिकी पूजा उषामा झल्मलाउँछे,
सरस्वती भई गीता सरिता कल्कलाउँछे !
।।३।। 
कमला सिर्जनाभित्र कविता फुर्फुराउँछे,
श्रुति ज्योति फिँजाएर वेद-ऋचा सुनाउँछे !
।।४।।
शशी शीतल झुल्किन्छे रजनी नै रमाउँछे,
मुना मञ्जरीमा माया महिमा मग्मगाउँछे !
।।५।।
रचना शिष्टताभित्र अंशुमाला सुसाउँछे,
म त हाम्फाल्छु श्रद्धामा भाव जो भल्भलाउँछे !
।।६।।
तिम्रै यी नामका मीठा भावधाराहरूसँग,
कविता सिर्जना गर्छु बग्दै आशाहरूसँग !
।।७।।
 


:नरेन्द्र पराशर

Thursday, April 11, 2013

दर्शनसूत्र शतकबाट


मनसाथ डुली हिँड्ने अधैर्य नै अध्यान हो
बिन्दुमा टिक्नु, त्यो बिन्दु पनि बिल्नु त ध्यान हो ।। ७।।

टाढैबाट नियाल्नुमा  हुन्छ हिमाल सुन्दर
सुन्दर चीजको छेउ नजानुमै छ सुन्दर ।।११।।

योग्यमान्छे बनी बाठो कुनै यन्त्र बनाउँछ
किन बन्थ्यो र ऊ यन्त्र, स्रष्टा बनी रमाउँछ ।।१४।।

आगोको को छ आफन्त, छैनन् पराई नै पनि
डढाउँछ बडा राजा, साना गरीव नै पनि ।।२२।।

यौटा पागल त्यो देख्दा आफैँ टोलिनु पर्दछ
अर्काको त्यो चिता जल्दा आफैँ पोलिनु पर्दछ ।।३१।।

शत्रुको तीरमा हुन्न, हुन्न टाढा कतै पर
आफ्नो खल्तीसगैँ मृत्यु बसिराख्छ सधैँभर ।।४२।।

भुल्यो जल्ले पखेटाको रहस्यको मजा सबै
पिँजडाको सुगा त्यै हो उड्न जान्दैन जो कवै ।।४८।।

शत्रुसँग डराएर काँप्छ को के सधँैभर ?
स्वास्नीसँग सधैँ लोग्ने काँपिरहन्छ थर्थर ।।५९।।

धन-मान प्रतिष्ठाकै खोजी गर्दछ स्वाँठले
ज्ञानी खोज्दछ है मुक्ति, केटी खोज्दछ ल्वाँठले ।।७०।।

कण्ठ पारेर के हुन्छ शास्त्र रटेर हुन्छ के ?
अनुभूति नभै भित्र जिब्रो पड्केर हुन्छ के ?।।९१।।

काम भत्काउने भन्दा बनाउने कठीन छ
गार्‍हो छैन घृणा गर्न प्रेम गर्न कठीन छ ।।९२।।




ःनरेन्द्र पराशर

Wednesday, April 10, 2013

युवालाई आह्वान

राजनीति रुँदैछे ऊ
आभा–ऐश्वर्यकी धनी,
दिएनन् प्रेम थोत्राले
लिन आऊ युवा भनी !
।।१।।
बैँस गौरवले दृष्टि
लोलाएको निमन्त्रण,
डाक्दैछे आशले तीव्र
जाऊ हाम्फाल यै क्षण !
।।२।।
राजनीति रुँदैछे ऊ
कोख बाँझो भयो भनी,
सत्यको वीर्य बोकेर
जाऊ उर्बरता बनी !
।।३।।
थोत्राबाट सबै खोसी
सजाऊ सप्त–रङ्गले,
गङ्गा जूठी कहाँ हुन्छे
ल्याऊ भाइ उमङ्गले !
।।४।।
राजनीति रुँदैछे ऊ
पार चौडा तिमी उर,
कुरा काटेर डाँडामा
बस्ने हुन्न बहादुर !
।।५।।
राजनीति रुँदैछे ऊ
बुझ भावार्थ भाइ ए,
त्यसको हात पक्डेर
ल्याऊ माया लगाइ ए !
।।६।।
राजनीति रुँदैछे ऊ
छुन डाराउँछौ किन ?
खोज्दैछे दिन ऊ जम्मै
किन डराउँछौ लिन ?
।।७।।

नरेन्द्र पराशर
छन्द ः अनुष्टुप, उर ः छाती ।

Wednesday, April 3, 2013

आर्थिक सम्वृद्धिका चार आधार

एकक्षणलाई सोच्नुहोस् कि तपाईको घरमा बेच्नका लागि केही पनि छैन । यसको कूल तात्पर्य तपाई कसैसँग अनेक तरहले ऋण, सापटी लिन थाल्नुहुन्छ । त्यो पनि केही समयपछि पाइन छाड्छ । अनि तपाईलाई केही दयालु मानिसहरूले केही दिनका लागि कृपा गरिदिन सक्छन् र तपाईको घरपरिवार थप केही दिनका लागि चल्नसक्छ । त्यसपछि ? त्यसपछि जे हुन्छ त्यो सहजै अनुमान गर्न सकिन्छ । देशको अवस्था पनि यही हो । यदि देशसँग बेच्नका लागि केही छैन भने त्यो देश विदेशबाट झिकाइने सामग्रीका लागि पैसा तिर्दैमा टाट पल्टिन्छ । आज हामीले देशबाट बाहिर के के सामान बेचिरहेका छौँ भन्ने कुरा एकदमै महत्वपूर्ण छ । यदि हामीले त्यसो गर्न सकिरहेका छैनौँ वा अति कममात्र सामान बेचिरहेका छौँ भने हाम्रो अर्थतन्त्र एकदिन डावाडोल हुने निश्चित छ । रेमिटेन्स र अनुत्पादक क्षेत्रमा त्यसको लगानीले देश राम्ररी चल्न सक्दैन । 

संसारभरि छरिएर रहेका कुनै पनि देशलाई प्रकृतिले छलेकी छैनिन् । सबै देशहरूलाई कुनै न कुनै स्रोत दिएकी छन् । कसैलाई बालुवै–बालुवाको थुप्रोमुनि खनीज तेल दिएकी छिन् भने कसैलाई पहरै–पहराले भरिएको जमीन दिएकी छिन् । कसैलाई समुद्र दिएकी छिन् भने कसैलाई नदी । कसैलाई वनै–वन दिएकी छिन् भने कसैलाई ढुङ्गै–ढुङ्गा । कसैलाई हिमाल दिएकी छिन् भने कसैलाई कोइला । प्रकृतिले कसैलाई पनि विभेद गरेकी छैनिन् । परम् कल्याणी प्रकृतिले जहाँ जे दिनु पर्ने हो त्यहाँ त्यही चीज–वस्तु प्रदान गरेकी छिन् । 

हो,  बालुवैबालुवाले भरिएको अरबलाई प्रकृतिले तेल खानी दिईन् र त्यहाँका मानिसहरूले त्यही तेललाई अनेक बल र बुद्धि लगाएर निकाले, बेचे र पैसा कमाए । वन भएका ब्राजिलजस्ता देशले काठ बेचे र पैसा कमाए । वन पनि मासेनन् । समुद्र भएका देशले त्यहाँबाट खानेकुरा निकाले र बेचे अनि पैसा कमाए । खनीज–धातु प्रशस्त हुने देशले यन्त्र, औजार, मेसिन बनाएर बेचे अनि पैसा कमाए । प्राविधिक बुद्धि हुने देशका मानिसले कम्प्युटर र सफ्टवेयरहरू बनाए, बेचे र पैसा कमाए । यसरी जस जसले आफ्नो देशमा के छ र त्यसबाट के के बनाएर बेच्न सकिन्छ भनेर सोचे र त्यस दिशामा काम गरे ती देशहरू अहिले धनी र सम्पन्न छन् । तर जुन जुन देशका मानिसहरूले आफ्नो देशमा के छ र कसरी बेच्न सकिन्छ भनेर सोचेनन् तिनै देशहरूमात्र आज आर्थिकरूपले कङ्गाल भएका छन् ।
 
के हामीलाई प्रकृतिले ठगेकी हुन् त ? होइन । हामीलाई त प्रकृतिले यति धेरै चीज दिएकी छिन् कि त्यसको लागि परमेश्वरलाई कोटीकोटी प्रणाम् गर्दा पनि कमै हुन्छ । दिन र रात झण्डै बराबर हुने (युरोप, अमेरिकामा यस्तो हुँदैन) स्थान, दक्षिणमा उर्बर भूमि, उत्तरमा हिमाल, बीचमा पहाड, अनगिन्ती नदीनाला, वन र जडिबुटी हाम्रा लगि अमूल्य सम्पत्ति हुन् । हामीले उपर्युक्त कुरालाई हेर्ने हो भने राज्यको प्रत्यक्ष संलग्नतामा निम्न चार प्राकृतिक स्रोतलाई सहजै बेच्न सक्छौँ । जल, वन, ढुङ्गा, प्राकृतिक सौन्दर्य ।

नेपाल र नेपालीको लागि पानी अद्वितीय प्राकृतिक स्रोत हो । हाम्रा नदीनाला र खोलाहरू वर्षौँ–वर्षदेखि अर्थहीन बगिरहेका छन् । राष्ट्रिय अर्थोपार्जनको स्रोत बन्नु–बनाउनु त कता कता, उल्टै यी नदीहरू बाढीपहिरो वा विनाशका कारक बनेका छन् । दक्षिण एसियाको शिरमा रहेका हाम्रा नदीनालाहरू हरेक घरको छतमा रहेका पानी टांकीसरह हुन् । सदाबहार रहने यस्ता नदीहरूबाट बिजुली निकाल्ने, साथै सिँचाईका लागि प्रयोग गर्ने हो भने हामीसँग बेच्नका लागि प्रशस्त बिजुली र अन्न तयार हुनेछन् । बिजुली उत्पादनका लागि स्वदेशी पूँजीलाई नै प्राथमिकता दिइनुपर्छ । यदि स्वदेशी पूँजीले मात्र थेग्न सक्दैन भने विदेशी पूँजीलाई आकर्षित गर्नुको विकल्प रहँदैन । यदि विदेशीले लगानी गर्छन् भने उत्पादनको निश्चित प्रतिशत उनीहरूले दाबी गर्नु कुनै नौलो कुरा होइन । आफ्नो ल्याकत छैन भने (इच्छा नहुँदा नहुँदै पनि) आफू थोरै निहुरिएरै भए पनि आफ्नो हितमा काम गर्नुपर्छ । यदि कुनै आवश्यक चीज पूरै नाश हुनुभन्दा आधी नाश उचित हो भन्ने पुरानो उक्ति यहाँनेर स्मरणीय छ ।
 
त्यसै गरी चुरे र महाभारतबीचमै केही नदीहरूलाई जोडिदिने हो भने तराई भावरमा प्रशस्त जग्गा निकाल्न सकिन्छ जो अहिले बगरको रूपमा अनुब्जाउ र अर्थहीन भएर रहेको छ । यसरी प्राप्त जग्गालाई व्यवस्थित गरेर त्यहाँ भूमिहीनहरूको एकमुस्ठ बस्ती बसाल्ने र तरकारी, भुइँकटहर, खर्बुजा, केरा खेती, बंगुर–कुखुरा वा पशुपालनजस्ता एकिकृत आयआर्जनका कार्यक्रम सञ्चालन गर्न सकन्छि जहाँ स्कूल, अस्पताल, कृषि, वन, पशुसेवाको एकिकृत सेवा एकै ठाउँबाट सहजै उपलब्ध गराउन सकिन्छ । यसले एकातिर भूमिहीनहरूको समस्या समाधान हुनेछ भने अर्कातिर वन विनाश रोकिने छ ।
 
हामीले बेच्ने दोस्रो स्रोत हो ढुङ्गा–गिट्टी, बालुवा । हामीसँग विभिन्न गुणस्तरका प्रशस्त ढुङ्गा–गिट्टी, बालुवाहरू छन् । जथाभावी यी स्रोतहरू बेच्दा बाढीपहिरोको समस्या आउनु वा उब्जाउ जमिन पुरिन पुग्नु कुनै नौलो कुरा होइन । सम्बन्धित विषयका विज्ञहरूको संलग्नातामा व्यवस्थापन योजना तयार पारी निश्चित स्थानहरू छनोट गरेर सही तरिकाले ढुङ्गा–गिट्टी निकाल्नुको हाामीसँग विकल्प छैन । यी ढुङ्गा–गिट्टी, बालुवाहरू अर्थहीन भएर थुप्रिनु हुँदैन । यी त सस्तै छरिएर रहेका फरक रँङका महङ्गा सुनचाँदी हुन् ।
 
वन हाम्रो अर्को महत्वपूर्ण स्रोत हो । तराईको वनलाई मात्र वैज्ञानिक व्यवस्थापनमा लैजाने हो भने यसले अकल्पनीय आम्दानी दिनसक्ने हैसियत राख्दछ । वनलाई विभिन्न ब्लकहरू(मान्नोस् १०० वटा)मा विभाजन गरी एउटा ब्लकमा एक वर्ष काट्ने र काटिएको ब्लकमा पुनरोत्पादन सुरक्षित गर्ने चक्रप्रणाली अपनाउने हो भने सयौँ वर्षसम्म त्यसले लगातार काठमात्र होइन, लाखौँ मानिसहरूलाई स्तरअनुसारको रोजगारी दिनसक्छ । उत्पादन भएका काठहरूबाट अनेकौँ खालका आधुनिक काष्ठ उद्योगहरू चलाउन सकिन्छ । जसले काठको मागको हाहाकार समाप्तमात्र हुनेछैन अपितु ठगी खान पल्किएका जो कोहीको वनमाथि भइरहेको दबदबा पनि सदाका लागि समाप्त हुनेछ । वनक्षेत्र अतिक्रमण रोकिने छ । जैविक विविधताको समुचित संरक्षण हुनेछ भने राष्ट्रले कार्बन सञ्चितिमा महत्वपूर्ण भूमिका खेल्न सक्नेछ । खासगरी तराईका बूढा रुखहरू पालिरहनुको औचित्य साबित हुनसक्दैन । वन संरक्षणको नाममा रूखहरूलाई दिनानुदिन बूढो बनाएर धोद्रो पार्दै जानु अति नै अवैज्ञानिक र अशोभनीय काम हो । मलेसियाजस्ता देशबाट हाल भइरहेको काठ आयात हाम्रो लागि गम्भीर दुर्भाग्यको विषय हो । यदि वनलाई वैज्ञानिक व्यवस्थापनमा लैजाने हो भने वन कर्मचारीहरूले अहिलेजस्तो व्यर्थको दुक्ख झेल्नै पर्दैन र उनीहरूले राज्यलाई उपलब्ध गराइदिने राजस्वले नै पर्याप्त सुविधा प्राप्त गर्ने अवसर जुटाइदिने छ । दुईचार हजार कतैबाट झर्ला कि भनी फायल घुमाइरहनै पर्दैन ।
 
हामीले बेच्नसक्ने अर्को महत्वपूर्ण स्रोत भनेको प्राकृतिक सौन्दर्य हो । पवित्र हिन्दकुश हिमालयको मध्यमा अवस्थित हाम्रो देशको हिमाललाई संसारले नै रहस्यमय मानेर हेर्दछ । हामीले यसमा थप रहस्य थप्नैपर्छ । हिमाली क्षेत्रमा सुविधासम्पन्न होटेल र लजहरू व्यवस्थितरूपले स्थापना गर्नुपर्दछ । यसका लागि निजी क्षेत्रका लगानीकर्ताहरूलाई विशेष सुरक्षा र सहुलियत दिनुपर्दछ । सोमार्फत् पर्यापर्यटनका लागि आवश्यक पर्ने सम्पूर्ण पुर्वाधारहरू तयार गर्नुपर्दछ । नेपाल पस्ने पर्यटकहरूको स्तर निर्धारण गरिनुपर्छ र निश्चित आकारको खर्च गर्नसक्ने पर्यटकलाईमात्र देशमा भित्रिन सक्ने वातावरण सिर्जना गरिनुपर्दछ । तपोभूमि हिमालयमा योग र ध्यानको एकछत्र पर्यटन चलाउने हो भने संसार नै चमत्कृत हुनेछ । यसले समग्र देशमा हाल भइरहेको नकारात्मक सोचलाई घटाएर तत्कालै सकारात्मक ऊर्जा प्रदान गर्न सक्नेछ । फलस्वरूप आजको जस्तो भाषण र गफमा रमाउन छोडी सही खानपान र आहारबिहारमा प्रेरित भई सामाजिक र सांस्कृतिक उन्नयनका लागि मानिसहरू श्रम र सिर्जनामा विश्वास गर्ने बन्न सक्छन् । यसै सिलसिलामा हामीले लुम्बिनीको सौन्दर्यलाई पनि बेच्न सक्छौँ । तिब्बत आउने लाखौँ पर्यटकहरूको केही प्रतिशतमात्र पनि लुम्बिनी छिराउन सक्ने हो भने त्यो हाम्रो लागि पर्याप्त आम्दानीको स्रोत साबित हुनेछ । भारत तथा चीनसँग सन्तुलित र यथार्थ कूटनैतिक सम्बन्ध कायम गर्दै हामीले बेच्नसक्ने चीजलाई बेच्न के गर्नु पर्छ भन्ने विषयमा पर्याप्त ध्यान दिएर योजनाहरू बनाई काम सुरु गरिहाल्ने हो भने निजीस्तरमा आयआर्जनका उद्यममा संलग्न हुने र हुन चाहनेलाई पनि यसले उत्साह थप्नेछ । परिणामस्वरूप देशको आर्थिक सम्वृद्धि अगाडि बढ्नेछ ।

नरेन्द्र पराशर
हिमालय टाइम्स, २०६९।१२।२१  मा प्रकाशित

Tuesday, April 2, 2013

साहित्य र राजनीतिः हिजो र आज


१. प्रारम्भः

नेपालको जनसङ्ख्या, नेपाली मातृभाषीको सङ्ख्या, साक्षरताको अवस्था, प्रतिव्यक्ति वार्षिक आम्दानी, बजार र यातायातको सुविधाजस्ता तथ्याङ्कहरू हेर्दा नेपाली साहित्यको विकास र उन्नति जे जति भएको देखिन्छ त्यो आफैँमा आश्चर्यजनक उपलब्धि हो । साथै केही समययता प्रतिस्पर्धात्मकरूपमै पुस्तक प्रकाशनको क्रम बढेको देखिनु थप आशालाग्दो स्थिति हो । नेपाली साहित्यिक बजारमा पाँच हजारभन्दा माथिको सङ्ख्यामा बिक्री भएका पुस्तकहरू आँैलामा गन्न सकिने गरी नै सीमित होलान् । खुशीको कुरा के हो भने चाउचाउ र बिस्कुटजस्ता औद्योगिक उत्पादनको मात्र विज्ञापन देख्न र सुन्न बाध्य भएका मानिसहरूमाझ पुस्तकहरूका विज्ञापन पनि देखिन थालेका छन्, जसले पठनसंस्कृति निर्माणार्थ मनोवैज्ञानिक दबाब सिर्जना गर्न अवश्य सहयोग पुगेको छ । उसो त राम्रो पुस्तकलाई पाठकहरूले चिहानबाट पनि निकालेरै पढ्छन् भन्ने कुरा आफ्नो ठाउँमा छँदैछ । नेपाली साहित्यमा एकआध सुन्दर कृतिहरू वर्षैपिच्छे प्रकाशित भइरहेकै छन् र तिनले पाठकहरूको साहित्यिक तीर्खा मेटाउन सहयोग गरेका पनि छन् ।

२. कम्युनिस्ट आन्दोलन र पठन संकृतिः

तीसको दशकदेखि आक्रामक शैलीमा उकालो लागेको नेपाली कम्युनिस्ट आन्दोलनले थुपै्र प्रकारका जनवादी साहित्य जनतामाझ पु¥यायो । तत्कालीन नेकपा (माले), चौ.म., मसाल, मशालजस्ता वाम पार्टीहरूका आआफ्नै नीतिसिद्धान्तअनुरूप ती पार्टीका लेखकहरू पनि सोहीअनुसार कलम चलाउथे । यी वामपन्थी पार्टीहरूका अनुयायी लेखकहरूको योगदानले नेपाली समाजमा भूमिगतरूपमा पठन संस्कृतिको राम्रो विकास गरेको थियो भन्न सकिने प्रशस्त आधारहरू छन् । यीमध्ये मोदनाथ प्रश्रित, सञ्जय थापा नेकपा (माले)का प्रखर साहित्यकार थिए भने चौ.म.की पारिजात, मसालका मोहनविक्रम सिंह र मशालका चैतन्य(मोहन बैद्य,किरण) पनि उत्तिकै प्रभावशाली लेखक थिए । खासगरी नेपाली युवाहरूलाई वाम आन्दोलनमा सघनतापूर्वक समावेश गर्न मोदनाथ प्रश्रितका रचनाहरूको भूमिका महत्वपूर्ण रहेको कुरामा शायदै दुईमत होला । देवासुर सङ्ग्राम, नारी बन्धन र मुक्ति, चोरनानी, भुतप्रेतका कथाजस्ता कृतिहरूले धेरै युवायुवतीहरूलाई वामपन्थी बनाइदिएको थियो । यिनै र यसै प्रकारका कृतिहरू पढिसकेपछि सर्वसाधारण मानिसहरू माक्र्सवादतिर आकर्षित हुन्थे र विस्तारै द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक समाजवाद, सामन्तवाद, साम्राज्यवाद, दलाल, नोकरशाही पूँजीवाद पढ्दै न्याय र समानताको लागि वर्ग सङ्घर्षलाई कार्यान्वयन गर्न गाउँघरमै प्रमुख दुश्मन खोज्नसक्ने हैसियत बनाउथे । तत्कालीन नेकपा (माले) ले खुनपसिना गरेर तयार पारेका आफ्ना सदस्यहरूमा वर्गसङ्घर्षको नशा राम्रै गरी चढ्नु कुनै नौलो कुरा थिएन । झापा विद्रोहको रूमानी कार्बाहीको धरातलमा सी.पी. मैनालीहरूको वीरताको कथामा आधारित रहेर तत्कालीन नेकपा (माले) गठन भएको थियो । तत्कालै झापा विद्रोहलाई मालेको नेतृत्वले आत्मआलोचनाको दृष्टिबाट हेर्न थालिसकेको अवस्थामा आफ्नो अतीतको गौरवपूर्णकार्बाहीलाई तल्लोस्तरका सदस्यहरू भने एकप्रकारले अनुपम् आदर्श मान्दथे । नेकपा (माले)को लाइन सी.पी. मैनालीबाट मदन भण्डारीसम्म आइपुग्दा यू टर्नमा पुगिसकेको थियो । २०४७ सालमा प्रजातन्त्रको पुनस्र्थापनापश्चात् नेकपा (माले) नेकपा (माक्र्सवादी)सँग एकीकरण भई एमाले हुँदै पूर्णरूपले जनताको बहुदलीय जनवादमा आइपुगेको हो । यसबीचमा प्रजातन्त्रको खुल्ला अर्थनीति र मार्केट फोर्सले एमालेका आफ्ना विशेष मान्छेहरूलाई गैरसरकारी संघसंस्था सञ्चालन, प्राध्यापन, बोर्डिङ स्कूल स्थापना, सरकारी कर्मचारी, सहकारी स्थापना र अन्य आर्थिक गतिविधिका आकर्षक स्थानहरूमा केन्द्रित पार्दै जाँदा एमालेभित्रै जन्मिएको नव धनाढ्य वर्गसँग विमति जनाउदै सुरुमै उसका थुप्रै कार्यकर्ता खुलेर वा नखुलेरै पनि असन्तोषको भुमरीमा परिसकेका थिए ।

३. माओवादीको उदय

तिनताक नेकपा (एकताकेन्द्र)बाट क. सन्देश (प्रकाश, नारायाणकाजी श्रेष्ठ)लाई पन्छाउँदै फुटेर बनेको नेकपा (माओवादी) भने हतियारबन्द आन्दोलनको तयारीको चर्का कुरा गर्दै गाउँघरमा भरुवा बन्दुक बटुल्दै थियो । यसरी देशमा आफ्नो जबर्जस्त पहिचानसहित उभिएका दुई वामघटकहरूका रणनीतिक कार्यदिशा फरक परेपछि एमालेका लागि काम नलाग्ने भइसकेका पुराना राता किताबहरू पचासको दशकमा नेकपा (माओवादी)का लागि भने गज्जबले कामलाग्ने खुराक बनेका थिए ।

४. कांग्रेस र दर्शन

यता प्रजातन्त्रको पुनस्र्थापनापश्चात् २०४८ बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको जननिर्वाचित सरकारले प्रजातान्त्रिक मर्मअनुसार विश्वेश्वरप्रसाद कोइरालाको समाजवादी राजनैतिक दर्शनलाई लागु गर्ने मेसो नै पाएन वा त्यसो गर्नुपर्ने कुनै आवश्यकता नै ठानेन । राजतन्त्रको जरो राम्ररी गढिसकेको देशमा प्रजातन्त्रजस्तो दुर्लभ शासन पद्धति स्थापना भएको अपूर्व मौकामा पनि नेपाली कांग्रेसका विचारकहरू विकास, उन्नति र विधिको शासनमा चिन्तित नभई भट्टीमा बहत्तरे र छत्तीसेका विषय वा वामपन्थीहरूलाई सत्तोसराप गर्नुमा नै केन्द्रित हुनपुगे । उनीहरूले नेपाली सामाजिक संरचनाको वैविध्य, गरिवी र दुर्गतिलाई सम्बोधन हुने कुनै काम गर्न त सकेनन् नै जनताको सामान्य विकास र उन्नतिको तीव्र चाहनालाई पनि नजरअन्दाज गरिरहे । यसबीचमा नेपाली पत्रकारिता जगत् पनि दलीय हितभन्दा माथि उठ्न सकिरहेको थिएन(जसको चरित्र र हालत आज पनि खासै फरक छैन) । कांग्रेसी बुद्धिजीवीहरूका दार्शनिक लेखनस्रोत जरैबाट काटिए । एक्ला प्रदीप गिरीले धानेको कांग्रेसको बौद्धिकता पत्रपत्रिकाहरूमै सीमित रहनु अनौठो थिएन । यता नरहरि आचार्यका पखेटा पटकपटक काटिए । अनि यसबीचमा कांग्रेसले न त कवि जन्मायो न त लेखक । एकआध कांग्रेसी लेखकहरू पनि साझा र प्रज्ञातिर कागजको ठेक्कापट्टाबाट दाम कमाउने खेतीमै सीमित रहे । जानी नजानी कांग्रेसले केवल कर छलुवा व्यापारी, भ्रष्टाचारी नेताहरू र खराब कर्मचारीतन्त्र स्थापना गरिदियो । नेपालको दुर्गति यहीँबाट सुरु भएको हो । यदि नेपाली कांग्रेस वा गिरिजाप्रसाद कोइरालाले बाटो राम्ररी पक्डिएको भए शायद यो देश निकै माथि पुगिसकेको हुन्थ्यो । वामपन्थीहरूलाई प्रमुख दुश्मन मान्ने गिरिजा बाबुको हठपूर्ण पूर्वाग्रही सोच नै कांग्रेसको पहिचान हो कि भन्ने भान भइरह्यो र प्रजातान्त्रिक अतिवादको कारणले आफ्नो शिशुकाल(२०५१)मै बहुमत प्राप्त संसद बलपूर्वक भङ्ग गरियो ।

५. नेपाली राजनीतिमा शक्तिकेन्द्रको चासो

जनताको बहुदलीय जनवादको पूर्ण भाष्य तयार गर्न पाउदा नपाउदै जननेता मदन भण्डारीको अवसान(रहस्यमय हत्या) हुनु र मध्यावधि निर्वाचनमा एमाले ठूलो दल भएर देखापर्नु तथा उसको नौ महिने शासनकालमा विकास निर्माण र शान्ति सुरक्षाको सर्वाधिक उत्तम नमुना पेश हुँदै जानुले राष्ट्रिय तथा अन्राष्ट्रिय शक्तिकेन्द्रहरूमा अवश्य पनि विचलन पैदा भएको थियो । अर्कोतिर संसदीय वामदलले लोकप्रियता हासिल गर्दै गएमा क्रान्तिकारी दललाई पुग्नसक्ने घाटाको बारेमा नेकपा (माओवादी) अनभिज्ञ थिएन । देशैभरि सशक्त र चुस्त जनवर्गीय सङ्गठन भएको माओवादी र उसको तातो अवधारणाप्रति त्यहीबेला शक्तिकेन्द्रहरू पर्ख र हेरको नीतिअनुसार जिज्ञासु बन्दै गएका थिए ।

६. जनयुद्धकालको साहित्यः

संसदीय व्यवस्थाकै धज्जी उड्ने गरी जथाभावी सरकार बनाउने र गिराउने खेलमा सरिक भएका एमाले, कांग्रेस र रा.प्र.पा.का संसद सदस्यहरू दिनानुदिन बदनाम भएकै बेलामा माओवादीले अपत्यारिलो गरी सशस्त्र जनयुद्ध छेडिदियो । नेपालमा कहिल्यै कल्पना पनि नगरिएको र नपत्याइएको सशस्त्र कम्युनिस्ट विद्रोहले देखिने गरी नै आफ्नो आकार लिन थाल्यो । दिन दुगुना रात चौगुनाको दरले माओवादी आक्रमणहरू सफलतापूर्वक वृद्धि हुँदै जाँदा नेकपा (माले) ले पैतीस सालदेखि तयार गर्दै लगेका धेरै ताता सदस्यहरूलाई स्वाभाविकरूपले आकर्षित गरिरह्यो । यसबेला मै हुँ भन्ने लेखकहरू पनि अलमलिए । खासमा जनयुद्धकालभरि नेपाली साहित्य जनयुद्धको निरपेक्ष समर्थन वा विरोधमा नै केन्द्रित रह्यो । परम्परावादी वाम शिक्षादीक्षाबाट प्रशिक्षित साहित्यकारहरूमाथि यस कालखण्डमा वास्तविकरूपले चर्को मनोवैज्ञानिक दुविधाको प्रभाव परेको थियो । यहीकालमा वामस्वरलाई काउन्टर दिँदै विनिर्माणवाद र उत्तर आधुनिकतावाद निकै बहस र चर्चामा आए र तिनको प्रभाव नेपाली साहित्यमा अहिले पनि जबर्जस्तरूपले परेको देख्न र महशुस गर्न सकिन्छ ।

७. अबको बाटोः

जनयुद्धको समाप्ति र गणतन्त्रको स्थापनापश्चात् पनि नेपाली लेखकहरूमा लेखकीय द्विविधा समाप्त भइसकेको छैन । नेपाली समाजमा रहेका केही भ्रम र पूर्वाग्रहहरूले लेखकहरूलाई तर्साएर लेखनलाई सङ्कुचित पारिदिएको आभास हुन्छ  । सुन्दा जतिसुकै प्रिय वा अप्रिय लागे पनि जातीय नारा वर्गीय नाराको तुलनामा सदैव कमजोर हुन्छ । लेखकहरूले सत्य कुरा नबताइदिँदा राजनीतिले कहिल्यै पनि सही बाटो पक्डिन सक्दैन । अब छलकपट गरेर चालबाजीका रोमान्टिक कुरा गर्ने र लेख्ने बेला रहेन । लेखकहरूले ठण्डा दिमागले सोच्नुपर्दछ र दूरगामी सोच राखेर सत्यलाई जस्ताको तस्तै जनमानसमा पस्किदिनु पर्दछ ।

८. भिन्नताको खोजीः

एनेकपा (माओवादी)को एक्काइसौँ शताब्दीको जनवाद कुन अर्थमा नेकपा (एमाले)को जनताको बहुदलीय जनवादभन्दा फरक हो भन्ने कुरा कसैले पनि प्रस्ट पार्नु पर्ने आवश्यकता ठानेका छैनन् । प्रेस र वाक् स्वतन्त्रता, (स्वतन्त्र) न्यायालय, बहुदलीय प्रतिस्पर्धामा आधारित आवधिक निर्वाचनजस्ता प्रायः सबै जानामाना प्रजातान्त्रिक परिपाटीलाई स्वीकार गरिसकेपछि ती सबै पार्टीहरू सारमा समानै हुन् । फरक त केवल तिनको आर्थिक नीतिमा मात्र रहेको मान्न सकिन्छ । फरक त तिनले अपनाउने कार्यक्रमको प्राथमिकतामा मात्र झल्किन सक्छ ।

९. बाम एकताः

यस अर्थमा टाउको टेकेर उभिएको जनताको बहुदलीय जनवाद र टाउकै टेकेर तँभन्दा म राम्ररी अडिएको छु भन्दै अलमलिएको एक्काइसौँ शताब्दीको जनवाद एकै ठाउँमा आएर खुट्टा टेकेर उभिनु आवश्यक छ । यसो भयो भने नेपाली जनताका बीचमा रहेका अन्तरविरोधहरूलाई हल गर्ने दिशामा एउटा भरपर्दो प्रगतिशील तथा अग्रगामी प्रजातान्त्रिक शक्तिको उदय हुनेछ । राजनैतिक तहमा चारित्रिक शुद्धता र विधिको शासनलाई आदर्श मानेर अगाडि बढ्नेबित्तिकै नेपालको आर्थिक समृद्धिलाई कसैले अवरोध पु¥याउन सक्नेछैन । विगतको पृष्ठभूमि जे जस्तो भए पनि वर्तमानमा खासै सैद्धान्तिक भिन्नता नभएका दुई ठूला वामपन्थी दलहरू लामो समयसम्म अलग अलग रहिरहनु देश र जनताको हितमा हुँदैन । यहाँनेर स्मरणीय कुरा के हो भने २०४६ सालको जनआन्दोलनपछि तत्कालीन मदन भण्डारी (सागर) महासचिव रहेको ने.क.पा.(मा.ले.) र मनमोहन अधिकारी महासचिव रहेको ने.क.पा.(मार्क्सवादी)बीच एकीकरण भयो (तिनताक, माले भनेको भयङ्कर क्रान्तिकारी मानिन्थ्यो भने मार्क्सवादी दक्षिणपन्थी) तर ०६२।६३ को दोश्रो जनआन्दोलनपश्चात् यसप्रकारको बाम-एकता हुन नसक्नु प्रकारान्तले नेपाली बाम आन्दोलनको मात्र होइन नेपाली राजनीतिकै दुर्भाग्य हो !

१०. विद्रोही सोचः

जहाँसम्म क. किरण वैद्य बाको कुरा छ, लोकतान्त्रिक विधि र पद्धतिभन्दा बाहिरबाट समस्याको समाधान खोज्ने कुराले अन्ततः नेपाल पुनः अन्तहीन (जन)युद्धको भुमरीमा फस्नेछ र त्यसप्रकारको युद्धको कमाण्डबैद्य बाको हातमा मात्र सीमित हुनेछैन । त्यसले अन्तराष्ट्रिय शक्ति केन्द्रहरूलाई फराकिलो क्रीडास्थल प्रदान गर्नेछ र नेपालको अस्तित्व नै धरापमा पर्नेछ । नेपाल उसै पनि दुई फरक राजनैतिक दर्शन बोकेका ठूला देशका बीचमा 'बफर जोन'को रुपमा रहेको रणनैतिक(सामरिक ) महत्वको क्षेत्रमा अवस्थित छ ।  नेपाल दुई ढुङ्गाबीचको ग्रिनेट हो भन्ने गैरजिम्मेवार केटौले र काँचो भनाइ अब कहिल्यै पनि दोहो¥याउनु हुँदैन ।

११. साहित्यकारहरुको दायित्वः

अतः यो एउटा यस्तो बेला हो, जुनबेलामा सबै राजनैतिक दलहरूले विगतबाट पाठ सिकेर आफ्नै बलबुँतामा व्यावहारिक निर्णय गर्नु नै देश र जनताको हितमा हुनेछ भन्ने कुरा जिम्मेवार साहित्यकारहरूले सबै नेताहरूलाई बताइदिनु आवश्यक छ । किनभने राजनीतिज्ञहरूका गोडा लडखडाएका छन् र स्रष्टाहरूले तिनलाई लड्नबाट बचाएर सही दिशा देखाइदिनु साहित्यिक धर्म हो ।

नरेन्द्र पराशर
 २०७०।१।७ मा राजधानी दैनिकमा प्रकाशित