Saturday, June 8, 2013

खै खै तिमीलाई त को सुहाउँछ ?




हौ सिर्जना पुष्प वसन्तकी तिमी
हौ कल्पना मिष्ट अनन्तकी तिमी
गुराँस हौ, लाल-गुलाव हौ तिमी
प्यारी, सदा स्वच्छ हिमाल हौ तिमी ।

हौ पूर्णिमाकी मधु-पूर्ण-चन्द्र हौ
हौ काव्य-बोली लयदार छन्द हौ
हौ शीतथोपा, रँगले पवित्र हौ
विचित्र प्यारी, सुख-स्वर्ग चित्र हौ ।

झर्ना झरेझैँ सरिता प्रवाह हौ
उड्दै गरेकी अनि वारिवाह हौ
ऐश्वर्य हौ नन्दन बागकी चरी
प्यारी, तिमी स्वच्छ प्रसून मञ्जरी ।

नीलो सफा व्योमसमान छ्यौ तिमी
छ्यौ पालुवाझैँ कलिलो मुना तिमी
तारासँगै चम्चम गर्दछ्यौ तिमी
छ्यौ मैनकी ज्योतिसमान छ्यौ तिमी ।

छन् चम्किला चक्षु पवित्र सुन्दर
अनारका दन्त अहा मनोहर
छन् ओठमा कोमलता गुलावका
हौ सिर्जना माधवकी अनुपमा ।

जे बोल्दछ्यौ सुन्दर नै सुनिन्छ नि
बोल्दै नबोले पनि बोल्दछ्यौ तिमी
जे गर्दछ्यौ सुन्दर भै सुहाउँछ
खै खै तिमीलाई त को सुहाउँछ ?

:नरेन्द्र पराशर
(शृंङ्गारसुधा कवितासङ्ग्रह बाट)