कुरु अधिराज्यको ऐतिहासिक ऐश्वर्य जेजस्तो भए पनि तत्कालीन अवस्थामा इन्द्रप्रस्थ एउटा अनुकूल मौसमले परिपूर्ण पर्यटकीय क्षेत्रमात्र थियो । कुनै समय कुरुवंशीय वैभव, राजनीतिक प्रभुत्व र सांस्कृतिक गरिमाको केन्द्र रहेको इन्द्रप्रस्थको पुरानो गौरवको चमक क्रमशः मलिन हुँदै गएको थियो । नगरका छेउकुनामा विगतका विजयगाथा सुनाउने कथावाचकहरू भेटिन्थे । तर वर्तमानका कमजोर दिनहरूमा विगतका ती वीरगाथाहरू लोककथाजस्ता बनेका थिए । यमुना किनारको रमणीय वातावरण र मनमोहक प्राकृतिक दृश्यले बाहिरबाट हेर्दा इन्द्रप्रस्थलाई आकर्षक बनाइरहेको भए पनि त्यस सौन्दर्यको भित्री तहमा राजनीतिक दुर्बलता र आर्थिक शिथिलताको दुश्चक्र फैलिँदै थियो । शक्तिशाली छिमेकी राज्यहरू आफ्नो सीमा विस्तार र सामरिक प्रभाव बढाउन व्यस्त रहँदा कुरुको राजधानी इन्द्रप्रस्थ भने आफ्नो पुरानो प्रतिष्ठाको स्मृतिमै रमाइरहेको थियो ।
कुरु नरेश कोरव्यराजका सेनापति थिए बज्रपाल । एक दिन सेनापति बज्रपालले राजा कोरव्यराजलाई अति गोप्य भेट गरेर विस्तारै भने ः ‘महाराज, कुरुको पश्चिम किनारमा रहेको मरुगिरि पर्वतमा अत्यन्त महत्त्वको दिव्यरत्नखानी छ भनी मगधका वणिक्हरूले कुरा गर्दैगरेको हाम्रो गुप्तचरले थाहा पाएको छ ।’
कुरु नरेश एकाएक सक्रिय भए । उनको अनुहारमा चमक आयो । उनले बज्रपाललाई सोधे ः ‘अनि त्यो कुरा सत्य हो त सेनापति बज्रपाल ?’
‘त्यसको सत्यतथ्यबारे यथार्थरूपले बुझ्न बाँकी छ महाराज ।’
‘गुप्तचरबाट प्राप्त सूचनाबारे तत्कालै थप अनुसन्धान गर्नु राजधर्म हो । उसो भए तिमीले पाञ्चाल देशको वणिक् व्यापारी मणिरत्न कर्णलाई कुनै बहानाले यहाँ झिकाऊ जो हाम्रो लागि काम गर्ने पाञ्चालको धनाढ्य वणिक् हो । रत्न पारखी हो । गुप्तचर आर्यकको साथ लगाएर मणिरत्नलाई मरुगिरि पुग्ने वातावरण मिलाऊ । रत्नहरूको विशेषज्ञ हुनाको नाताले उसले सत्य कुरा यथार्थरूपले भन्नसक्छ । साथै पाञ्चाल प्रशासनसँग उसको दुश्मनी रहेको कारणले भेद पनि गुप्त नै रहन्छ ।’
‘जो आदेश महाराज ।’ सेनापति बज्रपाल झुकेर गयो ।
कुरु नरेश कोरव्यराज गम्भीर भए । यदि साँच्चै दिव्यरत्नको खानी फेला परेको खण्डमा आफ्नो कमजोर हुँदै गएको आर्थिक हैसियत जुरुक्कै उठ्ने र मगध, कोशल, पाञ्चाल, गान्धार, मत्स्यजस्ता सम्पन्न देशहरूका अगाडि आफ्नो शिर एकपटक उचो हुने कल्पना गर्दै उनी गम्भीर भएका थिए ।
दिव्यरत्न एक प्रकारको खनीज पत्थर थियो जसले अन्य धातुको स्वरूप बदल्न सक्थ्यो । फलस्वरूप दिव्यरत्नको खोजीमा मगध, कोशल, गान्धार, चेदि, मत्स्य, मल्ल राजाहरू पनि गुप्तरूपले सक्रिय थिए । दिव्यरत्न जसको भण्डारमा पुग्थ्यो त्यो राज्यको वर्चस्वमा कसैले धावा बोल्नसक्ने सम्भावना रहन्नथ्यो ।
केही समयलपछि राजालाई सेनापतिले भन्यो ‘महाराज, मणिरत्नको भनाइअनुसार मरुगिरिमा दिव्यरत्नको महामण्डार छ । तर...’
‘के तर ?’
‘हो महाराज, महाराजको आदेशानुसार मैले तत्कालै पाञ्चालका मणिरत्न कर्णलाई यहाँ कुरुमा झिकाएर महाराजको निजी गुप्तचर आर्यकको साथ मरुगिरि पुग्ने व्यवस्था मिलाएको थिएँ । त्यहाँ दिव्यरत्नको भण्डार नै रहेको कुरा उसले पुष्टि गरेको छ । तर त्यसलाई समुचितरूपले खन्न, खोस्रिन र सफाइ गर्न परिशोधन यन्त्र र ठूलो आर्थिक लगानीको आवश्यकता पर्ने कुरा उसले बताएको छ ।’
‘ती शोधनयन्त्र कहाँ पाइन्छन् ?’
‘मगध र कोशलमा मात्र उपलब्ध छन् महाराज ।’
कुरु नरेश कोरव्यराजले राजगुरु हर्षवर्धनलाई बोलाउन लगाए । केहीबेरमै राजपण्डित अखण्ड ज्ञानराशि महापण्डित राजगुरु हर्षवर्धन उपस्थित भए । बज्रपालले विषयबारे विस्तृतमा बताएपछि राजगुरु हर्षवर्धनले भनेः
‘महाराज, मैले जे बुझेको छु सो बताउँछु । ध्यानपूर्वक सुन्नुहोस् ।
दुर्लभं धातुरत्नं हि सम्पदं जनयेद् ध्रुवम्
युद्धं कलहमेवापि तद्ददाति न संशयः ।।
पूर्वं किं समुपैतीति यो न जानाति मूढधीः ।
स आत्मानं च राष्ट्रं च नाशयत्येव निश्चयम् ।।
दुर्लभ धातुसँगै निश्चय नै धन आउँछ । तर सँगसँगै युद्धकलह पनि आउनसक्छ । पहिले के आइपुग्छ भनेर नजान्ने मूढले आफूलाई त विनाश गर्छ नै सिंगो देशलाई पनि समाप्त पार्छ भनेर नीतिशास्त्रमा भनेको हुनाले हामीले यस विषयमा गहिरो गरी विचार गर्नुपर्छ ।
यसर्थ महाराज, यो धातुरत्न जो छ यसलाई चलाउनुअघि पर्याप्त विचार पु¥याउन सकिएन भने राष्ट्रलाई प्रत्यक्ष हानि हुनसक्छ ।’
‘म विचार गर्छु ।’ कुरु नरेशले त्यति भने र विमर्श सभा समाप्त गरिदिए ।
0000000
मगधसम्राट् बिम्बिसार भव्य राजसिंरासनमा विराजमान् थिए । यथा आसनमा पदसोपानानुसार दायाँबायाँ सेनापति, मन्त्रीहरू र केही विशिष्ट भारदारहरू उपस्थित थिए । मगधसम्राट् बिम्बिसारले भने ः ‘सभा सुरु होस् ।’
नियमानुसार प्रमुख अमात्यमन्त्री वीरभद्रनाथले भने ः ‘कुरुको पश्चिम किनारमा दिव्यरत्न फेला पारेर हाम्रा गुप्तचरहरू केही समयअघि सकुशल स्वदेश आइपुगेका छन् ।’
‘अब कुरुदेशको उक्त मरुपर्वतको दिव्यरत्न कसरी मगध भित्राउन सकिन्छ भन्ने विषयमा विमर्श होस् । यसमा गुप्तचर प्रमुख पद्मदेवको के राय विचार छ ?’ मगधसम्राट् बिम्बिसारले सोधे ।
राजगुप्तचर प्रमुख पद्मदेवले उठेर भन्यो ः ‘त्यहाँ निकै सघनमात्रामा दिव्यरत्न उपलब्ध रहेको कुरा पुष्टि भएको छ । हाम्रा कुशल कालीगढहरूले यो कुरा पत्ता लगाएर आएका छन् । त्यो हाम्रा लागि रणनैतिक महत्त्वको छ । तर हामी कुरुभित्र सरासर छिरेर मरुपर्वतमा उत्खनन गर्न सक्दैनौँ । यसको लागि कुरु नरेशलाई आफ्नो पक्षमा ल्याउन उनलाई गुन लगाउनु पर्छ ।’
राजा बिम्बिसारले सहमतिमा टाउको हल्लाए ।
गुप्तचर प्रमुख पद्मदेवले सुझाव पेश गर्दै मगधसम्राट् बिम्बिसारलाई बिन्ति गरे ः ‘महाराज कुरु नरेश कोरव्यराजलाई राजकीय भ्रमणको निम्तो दिई पाटलीपुत्रमा बोलाइयोस् । उनको यथायोग्य स्वागत सत्कार गरी दिव्यरत्न खननको सन्धि गर्न मनाइयोस् ।’
‘कुरु नरेशको सत्कारमा कुनै कसर बाँकी नरहने गरी राजकीय भ्रमणको चाँजोपाँजो मिलाइयोस् ।’ राजाज्ञापछि राजसभा समाप्त भयो ।
00000000000
कुरुका प्रजाहरू अत्यन्त खुशी भए । किनभने मगधजस्तो सम्पन्न र शक्तिशाली देशले कुरुका नरेशलाई राजकीय भ्रमणमा निमन्त्रण गर्नु आफैँमा एक अपत्यारिलो घटना थियो । विगत लामो समयदेखि कुरुका कुनै पनि राजाले मगधको भ्रमण गर्ने अवसर पाएका थिएनन् ।
कुरु नरेश कोरव्यराज यथायोग्य उपहारहरू लिएर मगधको राजधानी पाटलीपुत्र पुग्दा उनको सैन्यसलामीसहति भव्य स्वागत भयो । जताततै अनेक सज्जाद्वारहरू सजिएका थिए । जताततै रङ्गीन ध्वजापताका र अनेक बास्नादार फूलका तोरणहरूले बाटाघाटाहरू सजिसजाउ थिए । अग्ला र चिल्ला घोडाहरूले तानिएका उच्चकोटिका रथहरू सवारीको अगाडिपछाडि गुडिरहेका थिए । जताततै बाजागाजा बजिरहेका थिए । जताततै नाचगान चलिरहेको थियो । जताततै कुरु नरेशको जय होस् शब्द गुञ्जयमान थियो ।
रात्रिभोजमा अकल्पनीय व्यञ्जन र दिव्यमधुका अनेक परिकारहरू तयार भए । मगध सम्राट् र कुरु नरेश समानासनमा र अन्य मन्त्री, कर्मचारीहरू सोहीअनुसार यथास्थानमा बसेर खानपान गरेपश्चात् मैत्रीवार्ता सुरु भयो ः
‘हामीले इतिहासको लामो कालखण्डदेखि अवस्थानुसार विविध विषयमा सहकार्य गर्दै आएका छौँ । बीचमा यो क्रम केही कमजोर भएको अवस्था हो । अब हामीले पुरानो मित्रतालाई पुनर्जीवन दिँदै सम्बन्धलाई नयाँ स्तरमा उठाउनु पर्छ । हामी कुरुमा लगानी गर्न इच्छुक छौँ । महाराज कोरव्यराज, हामी कुरुलाई आवश्यक पर्ने फलाम उपलब्ध गराउँन चाहन्छौँ । कुरुले हामीलाई बालुवा देओस् । हामीलाई सिसा बनाउन बालुवा आवश्यक परेको छ ।’ मगध सम्राट्ले मूल लक्ष्य लुकाएर औपचारिकरूपले वार्ता सुरु गरे ।
‘पराक्रमी मगध सम्राट्, हजुरका पवित्र वचनले हामी अत्यन्त खुशी भयौँ । सिंगो कुरु हर्षित भयो । महाराजले प्रस्ताव गरेको यो परस्पर सहकार्यको सदासयता र सद्भावलाई कुरुले कहिल्यै भुल्ने छैन । एक अर्कालाई चाहिने सामग्रीहरू आदानप्रदान गर्नु अत्यन्त फलदायी कुरा हो । यो आवश्यक पनि छ । हामीलाई फलामको आवश्यकता छ र मगध सम्राट्लाई सिसा बनाउन बालुवा आवश्यक रहेको कुरा थाहा पाउँदा हामी पनि खुशी भयौँ ।’
‘कुरु नरेश अत्यन्त साहसी र निर्भिक हुनुहुन्छ भनेको हामीले सुनेका थियौँ । तर कुरु नरेश त अत्यन्त मृदुभाषी र कोमल पनि हुनुहुँदोरहेछ । उसो भए किन विलम्ब गर्ने ? बरु एउटा सन्धिपत्र तयार गरेर सहीछाप गरौँ ।’ मगध सम्राट्ले भने ।
‘मगध सम्राट्को कुरा सबै तरहले उचितै हो । तर कुरुको नियमानुसार विदेशसँग सन्धि गर्न लोकसम्मति लिने परम्परालाई खण्डित हुन नदिन हामीले अहिले नै सन्धिपत्रमा सहमति जनाएर सहीछाप गर्न समर्थ हुनसकेनौँ । पछि लोकसम्मतिअनुसार भइजाने गरी गरौँला । यो भ्रमणको सिलसिला जारी रहोस्, हाम्रो दीर्घकालदेखिको मैत्री निरन्तर रहोस् । हाम्रो सम्बन्ध अझै सुदृढ होस्, आपसी विश्वास अमर रहोस् ।’
मगध सम्राट्को अन्तरहृदयमा चोट लागिसकेको थियो । तर त्यसको पीडा अनुहारमा कतै नदेखाई शान्त भएर उनले भने ः ‘नियम विपरीत काम गर्नु न्यायोचित होइन । सबै कुरा कुरुको नियमानुसार नै होस् । मूल विषय के हो भने हामी कुरुको आर्थिक विकासमा हृदय खोलेर सहयोग गर्न तयार छौँ । फलाममात्र होइन । हामी अन्य आवश्यक स्रोतहरूसमेत प्रदान गर्नेछौँ र कुरुसँगको मित्रतालाई नयाँ उचाइमा उठाउन तयार छौँ ।’
यसरी रात्रिभोजपश्चात्को वार्ता समाप्त भएलगत्तै गोप्यकक्षमा मगधसम्राट् बिम्बिसारले राजगुरु बृहस्पत्यानन्दलाई बोलाएर सोधे ः
‘राजगुरु, देखिहाल्नु भयो । कुरु नरेशले कुनै सन्धि गरेन । चिप्लाचाप्ला कुरा गरेर हाम्रो प्रस्तावलाई पन्छाइदियो । अब के गर्ने ?’
‘महाराज, यो स्वाभाविकै हो । मगधले कुरुमा आफ्नो उपस्थिति जनाउँदा कोशल, पाञ्चाल र मत्स्य देशका राजाहरू चूप बस्ने छैनन् । कुरु आफैँमा कमजोर छ । यदि हामी कुरुमा बलप्रयोग गरी जबर्जस्ती प्रवेश ग¥यौँ भने ती छिमेकी देशले कुरुलाई शान्त रहन दिनेछैनन् । हामीलाई पनि सहज हुने छैन । ती अन्य देशहरू पनि हाम्रा लागि विपरीत हुनेछन् । यस अर्थमा कुरु नरेश कोरव्यराजले आफ्नो हितका लागि लिएको अडान जायजै हो । हामीले अब हाम्रो रणनीति बदल्नुपर्छ ।’
‘कसरी ?’
‘दुर्बलं नृपतिं कार्ये प्रलोभेन भयेन वा ।
स्वकार्ये योजयेत् धीमान् नान्यथा सिद्धिरिष्यते ।।
अर्थात् आफ्नो कार्यसिद्धि गर्नका लागि (कमजोर राजाबाट काम लिन) उसलाई लोभ देखाउनु पर्छ । (लोभले काम बनेन भने) भय उत्पन्न हुने गरी तर्साएर काम लिनुपर्छ ।
हामीले लोभ देखायौँ । काम लागेन । अब भय उत्पन्न गराएर कार्य सिद्धि गर्नुपर्छ ।’
‘तर राजगुरु, कसरी भय उत्पन्न गराइदिने ? सम्भव छ ?’
‘छ महाराज । कुरु राजालाई मगधले नुन र सुन सित्तैमा दिन खोजेको थियो । तर राजा कोरव्यराजले मदिराको सुरमा म नुन र सुन लिन आएको होइन । म पुरानो आत्मसम्मान फर्काउन आएको हुँ भनेर भन्यो भन्ने हल्ला कुरु देशमा पिटाइदिने । सर्प खेलाउने, बाँदर नचाउने, नाच्नेगाउनेहरूलगायत हाम्रा सयौँ तालीमप्राप्त गुप्तचरहरूले यो हल्ला कुरुमा पिटाइदिने छन् । थप केही गर्नु पर्दैन । जे गर्छ कुरुको प्रजा आफैँले गर्छ । हामीले छेस्को पनि उचाल्नु पर्दैन । थप कुनै खर्च जुटाउनु पनि पर्दैन । कुरु राजा कमजोर भएपछि राजसिंहासन रक्षाको भीख माग्दै आफैँ सन्धि गर्न आइपुग्छन् ।’
0000000000
कुरुको छिमेकी देश कोशल सम्पन्न र शान्त थियो । प्रजाको सुख र अमनचयनमा कुनै बाधा नआओस् भनेर झैझगडा, लडाइँमा लाग्दैनथ्यो । ऊ चुपचाप आफ्नो व्यापारवृत्तिलाई बढाएर देश र प्रजालाई सम्पन्न बनाउन चाहन्थ्यो । राष्ट्रिय हित कायम राख्न उसका गुप्तचरहरू देशभित्र र बाहिर पनि सक्रिय रहन्थे । समय समयमा राष्ट्रिय सुरक्षा, व्यापार, कूटनीतिबारे छलफल गर्न दरबारमा सभा बस्ने गथ्र्यो । कोशल नरेश प्रसेनजित्ले एकदिन आकस्मिक राजसभाको बैठक राखे । र सभामा सोधे ः ‘कुरु र मगधबीचमा के तानातान र तलवितल चल्दैछ ?’
राजाको जिज्ञासापछि सेनापति वीर बन्धुलले राजा प्रसेनजित्समक्ष आफ्नो लिखित प्रतिवेदन वाचन गरेर चढाए ः
‘महाराज, मगधका गुप्तचरहरूले कुरुको पश्चिम किनारामा अवस्थित मरुगिरि पर्वतमा दिव्यरत्नको खानी पत्ता लगाएका छन् । हाम्रा गुप्तचरहरूका अनुसार अघिल्लो महिनामा भएको कुरु नरेशको पाटलीपुत्र भ्रमणबाट मगध नरेश बिम्बिसारले उक्त दिव्यरत्न हात पार्न धातुको आदानप्रदान गर्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई कुरु नरेश कोरव्यराजले सहर्ष स्वीकार नगरी कूटनैतिक चालले अलमलाएर पर सारेपछि मगधले कुरुका प्रजामा अनेक तरहले भ्रम फैलाएको छ । कुरु नरेशले मदिरा पिएर मगधमा तथानाम गरेको, सुन र नुन मागेको भनी बदनाम गराउन सर्वत्र मगध गुप्तचरहरू निरन्तर खटिरहेका छन् । सारा लोकहावालाई विपरीत दिशामा उडाइदिएका छन् । जसको कुप्रभावले कुरुका सारा प्रजाहरू आफ्नै राजाविरुद्ध सङ्गठित हुँदैछन् । स्थिति यस्तै रह्यो भने कुरु नरेशको राजसिंहासन धरापमा पर्नसक्छ ।’
‘दिव्यरत्न हामीलाई चाहिन्छ । कुरुको मरुपर्वत हामीनजिकै छ । कुरुले दिव्यरत्न मगधलाई नदिएर राम्रो निर्णय गरेको छ । कुरु नरेश धन्य छन् । उनको उद्धार गर्न हामी तयार रहनु पर्छ र दिव्यरत्नमा हाम्रा आँखा निरन्तर अडिएको हुनुपर्छ ।’
‘हो महाराज, कोशलको सम्पूर्ण गुप्तचरी सेवा र सैन्यशक्ति त्यसमा गुप्तरूपले केन्द्रित छ ।’
‘कुरु नरेशको उत्थानको लागि उनलाई तत्काल कोशलको राजकीय भ्रमणको निम्तो दिइयोस् ।’
00000000000
मगधको भ्रमण लगत्तै कुरु नरेशले कोशलको राजधानी श्रावस्तीको भ्रमण गरे । राजा बिम्बिसार र कोशलका प्रजाले कुरु नरेश कोरव्यराजको भव्य स्वागत गरे । तीन दिन हर्ष बढाइँ भयो । यही भ्रमणबाट सारा प्रजाहरूले थाहा पाए कि कुरु नरेश कोरव्यराजले मांस मदिरा सेवन गर्दैनन्.। राजा त साधु महात्माजस्ता रहेछन् । पञ्चमकारबाट दूर अनि शान्त र शिष्ट । यो हल्ला कोशलका गुप्तचर र राजप्रशासनले चलाइदिएपछि कुरुका अशान्त प्रजाहरू फेरि राजाप्रति सकारात्मक सोच्न विवश भए । कुरु राजप्रशासन पनि राजाको छवि कायम राख्न सक्रियतापूर्वक खटिरह्यो ।
भ्रमणको अन्तिम दिन कुरु नरेश र कोशल नरेशबीच एक्लाएक्लै (वान टु वान)भेट वार्ता भयो ।
‘कुरु नरेश, तपाईले दिव्यरत्न मगधलाई दिन अस्वीकार गरेर राम्रो काम गर्नु भएको छ । दिव्यरत्न सहजै पाइने कुरा होइन । पाइए पनि सहजै उपयोग गर्न सकिने कुरा पनि होइन । दिव्यरत्नको बहानामा मगधले पाञ्चाल र कोशललाई समेत आफ्नो शक्तिको छायाँमा राख्न चाहन्छ । मगधलाई यति वरसम्म आउन दिनुहुन्न । मगध यति वरसम्म आयो भने यो क्षेत्र नै अशान्त हुन्छ । तसर्थ मगधबाट जे जस्तो सहयोगको तपाईले आश्वासन पाउनु भएको छ त्यसमा थपेर नै महाराजलाई सहयोग प्रदान गर्न सिंगो कोशल तयार छ । हामी तयार छौँ ।’
‘पराक्रमी कोशल नरेशको भनाइ ठीक हो । यो कुरा सत्य हो कि मगध कुनै पनि बहानामा मरुगिरि पर्वत आफ्नो पकडमा लिन चाहन्छ । यस विषयमा अन्यथा भए उनीहरूको एक जना विशिष्ट गुप्तचराधिकारी काश्यपले कुरुमा गृहयुद्ध भड्काइदिने भनेर हामीलाई धम्क्याएको छ ।’
‘हो उनीहरूले त्यो काम गर्न सक्छन् । त्यसलाई परास्त गर्न हामीले सूचनाहरू आदान प्रदान गर्नुपर्छ । परम्परादेखिको हाम्रो आपसी सम्बन्धलाई थप बलियो बनाउँदै मगधको कूटनैतिक प्रतिकार गर्दै उसलाई पछि धकेल्नुपर्छ ।’
‘महाराजको भनाइ उचितै छ । हामी लोकसम्मतिपश्चात् त्यो काम गरौँला ।’
कुरु नरेश जसरी मगधको जालमा फसेनन् त्यसरी नै कोशलको प्रपञ्चमा पनि फस्न चाहेनन् ।
00000000000
पाञ्चाल देशको राजप्रशासन छरछिमेकमा केही गडबडी भइरहेको छ तर त्यो गडबडीको मूल कारण पत्ता लगाउन प्रयासरत थियो । आफ्नो गुप्तचरी संयन्त्रले यथार्थ पत्ता लगाउन नसकेको अवस्थामा पाञ्चाल नरेश चुली ब्रह्मदत्त रिसाएका थिए । यत्तिकैमा गान्धार देशबाट आएको वणिक् भेषधारी गुप्तचरले दरबारको नाममा खबर छोडिदियो ः ‘कुरु देशको मरुपर्वतमा दिव्यरत्नको खानी रहेको । त्यसलाई हात पार्न मगध र कोशलले गुप्तरूपले काम गरिरहेका । कुरु नरेश दबाबमा परेको ।’
यसपछि पाञ्चाल नरेश ब्रह्मदत्तलाई निद्रा लागेन । उनी छटपटाए । त्यति नजिकै दिव्यरत्नको खानी हुनु र पाञ्चाललाई त्यो कुरा थाहै नहुनु । उनको लागि यो लाजमर्दो कुरा थियो । त्यसपछि राजा ब्रह्मदत्तले आफ्नो सक्रियता देखाए र अति विश्वासिलो दूतलाई गुप्त सन्देशसहित तत्कालै कुरु पठाए ।
0000000000
कुरु नरेश ठूलो दबाबमा परेका थिए । एकातिर दिव्यरत्न उत्खनन गर्न आफ्नो क्षमता पुग्दैनथ्यो भने अर्कातिर महाशक्ति मगध र कोशल त सक्रिय छँदै थिए पाञ्चालसमेत अनुचित चासो राख्दै अगाडि आइपुगेको थियो ।
कुरुका प्रजालाई दिव्यरत्न खानीको मूल विषयको बारेमा थाहा थिएन । उनीहरू सतहमा आएका कुराहरूको तरङ्गमै भुलेका हुन्थे । उनीहरूलाई गहिराइमा के चल्दैछ भन्ने केही पनि थाहा थिएन ।
0000000000
‘राजगुरु, यो दिव्यरत्नको प्राप्यताले सिंगो देश नै अशान्त बनिरहेको छ । ठूला राजाहरू यसलाई हत्याउन चाहन्छन् । उनीहरू यसैका लागि कुनै न कुनै बहानामा यहाँ आउन चाहन्छन् । एउटा आउँछु भन्छ । अर्कोले आउन न दे भन्छ । यस्तो बेलामा के गर्ने होला ?’
कुरुका महापण्डित राजगुरु हर्षवर्धनले राजा कोरव्यराजलाई भने ः ‘मगध युद्धवीर हो । उसले हामीलाई फकाएर आफ्नो बनाउने नीति लिएको बेला हामीले त्यसलाई युक्तिपूर्वक पन्छाइदियौँ । अब ऊ हामीलाई धम्क्याएर वशमा राख्ने प्रपञ्चमा लागेको छ । कोशलले पनि हामीलाई नरम भाषामा धम्क्याएको छ । वर्तमानको उसको त्यही नरम भाषा भविष्यमा कठोर हुनसक्छ ।’
‘हाम्रा कतिपय विद्वान् मान्छेहरू हामीले यहाँ मगधलाई स्वागत ग¥यौँ भने हामीले दिव्यरत्न उपयोग गरेर धन‐ऐश्वर्यसाथमा यशसमेत आर्जन गरी आफ्नो सुरक्षालाई सधैँका लागि सुनिश्चित गर्नसक्छौँ भन्ने मान्यता राख्छन् । कतिपय बौद्धिकहरू भने दिव्यरत्न हामीले थेग्नसक्ने विषय होइन भन्छन् । यथार्थमा हामीले के गर्नुपर्छ ?’
‘मैले पहिले पनि भनेको थिएँ महाराज । दुर्लभ रत्नहरूसँग दिव्य बल पनि हुन्छ । त्यसमा बलिया देशहरूको सदैव गहिरो चासो रहन्छ । मगध, कोशल, पाञ्चाल, कान्दार, मत्स्यजस्ता बलशाली देशहरूको घर्षणबाट ताप उत्पन्न हुन्छ । त्यो तातो खप्न जोसुकैले सक्दैन । के हामीले सक्छौँ ?’
‘के गर्ने त ?’
‘महाराज, ंकहिलेकाहीँ राष्ट्रको जीवनमा सङ्कट आइलाग्छ । त्यसलाई युक्तिपूर्वक टार्नुपर्छ । अब हामीले खुलारूपमा भनिदिनुपर्छ ः हामीकहाँ दिव्यरत्नको खानी छ । तर हामी यसलाई कुनै पनि देशको सहायताले खनन गर्ने छैनौँ । अरू कसैलाई खनन गर्न दिने पनि छैनौँ । जुन दिन हाम्रो क्षमताले भ्याउला सोही दिन हामी आफैँ यसको खनन गर्नेछौँ । यस विषयमा सबै देशहरू तटस्थ बसून् । यस विषयमा हामी कसैसँग कुनै प्रकारको सन्धिमा हस्ताक्षर गर्ने छैनौँ । यो कुरा सारा लोक र प्रजालाई पनि खुलस्त बताइदिनुपर्छ । किनभने नीतिले भन्छ ः
अशक्यं भारमादाय स्वयमेव निपीड्यते ।
त्यक्तव्यं तद् यथास्थानं तत् त्यागो बुद्धिलक्षणम् ।।
बोक्न नसकिने भारीले आफैँलाई थिच्छ । त्यस्तो भारीलाई जहाँ छ त्यहीँ छाडिदिनु नै बुद्धिमानी हुन्छ । तसर्थ हे राजन्, यो दिव्यरत्नको खानीलाई हाल जहाँ छ त्यहीँ सुरक्षित राख्नु नै श्रेयस्कर छ । यसको खनन गर्ने गराउने काम अहिले हाम्रो वशभन्दा बाहिर छ ।’
राजा कोरव्यराजले महाप्राज्ञ राजगुरु हर्षवर्धनको सुझाव ग्रहण गर्दै सबै कुरा छर्लंग हुने गरी लोकलाई प्रस्ट भाषामा बताएपछि कुरुका प्रजाहरू विस्तारै शान्त र एकताबद्ध भए । लगत्तै कलहको पर्याय रहेको कुरु देशले फरक गति लियो । अस्तु ।
(२०८३ असोज ३ गते शनिबार रातोपाटमिा प्रकाशित
https://www.ratopati.com/story/593223/ratnotapanna-tension-in-kurukshetra )


