Tuesday, June 12, 2012

सपना



........................
सपनाका पुतलीहरूलाई फुक्का छोडिदिएं मैले
र उडाइदिएं सपना कै बगैचाहरूमा
अनेकौं प्रफुल्ल स्वप्नपुष्पहरूका
अमृतमय परागहरूमा
रमाइरहे मुक्त सपनाका उन्मुक्त पुतलीहरू
स्वप्नहीनताकोविरूध्धमा
अनन्त सपनाका अद्भुत् नन्दन बागहरू सजाएर
बहाइदिएं सपनाकी पवित्र गंगा
पारावार खुलेको स्वप्नमय ह्रिदयको फांटमा

सपनाका तोरीबारीहरू
सपनाका हिमचुचुराहरू
सपनाका मानसरोबरहरू
सपनाका आकाशगंगाहरू
यी सबै सबै प्राप्य छन्
सपनाका उत्तप्त तरंगहरूमा

मेरा सपनाका पुतलीहरू रमाइरहे
प्रत्येक स्वप्नपुस्पहरूलाई सुनाइरहे
कुनै गुप्त रहश्य
जन्मजात थाकेर सुतेकाहरूले
कसरी देख्नु सपना
ढुंगाहरूले बरू देख्न सक्लान् सपना
तर लाशहरूले कसरी देख्नु सपना

सपनाका पुतलीहरू कहिल्यै थाकेनन् उडेर
रंग् माथि रंग् थपिरहे
आनन्द माथि आनन्द थप्दै उडिरहे
दुबै पखेटा फैलाएर
सपनाकै आकाशतिर उडिरहे
सपनाका अगणित रंगीन पुतलीहरू
मेरा सपनाका आखा नजिक उडिरहे
सपना देख्न सिकाउंदै
उडिरहे
उडिरहे....!