Monday, December 30, 2013

कवि, पागल र प्रेमिका


काफलको बोटजस्तै
सर्लक्क र झ्याम्म परेको
टाढैबाट मन-मुटु चोर्ने
सोझो र उज्ज्यालो
तिमीलाई असीम प्रेम गर्ने
आहा त्यो हृदय !
आफ्नो अनुपम् प्रेमीलाई
आभा,
छोडिदेऊ/त्यागिदेऊ/धोका देऊ हृदयलाई
आज
देशलाई एउटा कवि चाहिएको छ !

हृदय टुक्रिओस्
छिया-छिया होस्
विदीर्ण होस्
अनि आँशुले कविता लेखोस्
र बाँडोस् प्रसन्नाता व्यथितहरुलाई
आभा,
छोडिदेऊ/त्यागिदेऊ/धोका देऊ हृदयलाई
आज
देशलाई एउटा कवि चाहिएको छ !


:नरेन्द्र पराशर

Tuesday, December 3, 2013

एउटा लठेप्रो समय


ग्रीष्मको मध्यान्हमा

धूलो उडाउदै हिँड्नु

हिँउदको मध्यरातमा

डाँको छोडेर रुनु

आफ्नै विश्वासको नौनीमा           

चिप्लिएर लड्नु

झिना-मसिना

काला कर्तुतहरु

छ्याप्छ्याप्ती छन्

तिम्रै छेउछाउमा !

 

भींड खोज्दै हिँड्ने गोडाहरु

ब्वाँसो खोज्दै हिँड्ने भेडाहरु

वा संसदको चुनाब

वा भावरको सुक्खा

अथवा शिरैमाथि खस्दै गरेको ढुङ्गो

ओइलाएको लाहुरे फूल

त्यसमा रमाएको

निकृष्ट चेतना

हारेको साँढे  

आत्महत्यामा प्रेरित कुरुपताका सौंन्दर्यहरु

कापुरुषताका नपुंसकताभित्र (न) चलमलाउने वीर्य

कुनै आँडे कविताजस्तै

(न)हेर

बजार मृतप्राय: छ

तर पनि बजार सक्रियताको नाममा जिउ मढार्छ

एउटा लठेप्रो समय !
 

Friday, September 20, 2013

प्रेम-चरी




देखा झ्याम्म परी हाँगा-लता-कुञ्ज बराबरी

अनि पो आउँछे गीत गाउँदै कोइली चरी ।।

देखा फक्रेर रङ्गीन वासन्ती पुष्प-मञ्जरी
अनि पो आउँछे नाच्दै फुर्किँदै प्रेमकी चरी ।।

देखा पाकेर मीठो भै फल जामुनझैँ गरी 
अनि पो आउँछे उड्दै प्यारी सौन्दर्यकी चरी ।।

देखा सम्मान श्रद्धाले प्रेमले निहुरी परी 
अनि पो आउँछे दङ्ग परी आनन्दकी परी ।।

देखा औदार्यको भाव नमाग् केही कसै गरी  

अनि पो आउँछे 
जान्ने बस्छे आन्दले चरी ।।

नरेन्द्र पराशर
छन्द: अनुष्टुप् 


Thursday, August 8, 2013

सौन्दर्य के हो ?



वसन्तको कोकिलको गलामा
वा चन्द्रमाको मधुरो कलामा
झल्किन्छ आनन्द अचम्म खास
सौन्दर्य के हो ?’ ‘मनको मिठास !
।।१।।

छन् शीतथोपा रङले पवित्र
मुस्कान देखिन्छ गुलावभित्र
अमूर्तमा मूर्त छ मेघ खास
सौन्दर्य के हो ?’ ‘मनको मिठास !
।।२।।

जो फूल हुन् वा वनवन्यघारी
कल्लोल भर्ने सरिता सफारी
जो फैलिने मादक छन् सुवास
सौन्दर्य के हो ?’ ‘मनको मिठास !
।।३।।

विद्रोह हुन् वा कि त क्रान्ति ज्वाला
जल्दै गरेका नव दीपप्याला
जेमा सधैँ यो मुटु बस्छ खास
सौन्दर्य के हो ?’ ‘मनको मिठास !

:नरेन्द्र पराशर
छन्द ः उपजाति
(उपेन्द्रवज्रा र इन्द्रवज्रा)

Wednesday, August 7, 2013

‘नेपाली महिला साहित्यकार’ ः एक झलक


नेपालको एकीकरणपश्चात् नै नेपाली भाषा र साहित्यको उन्नयन हुँदै आएको हो । यसरी हेर्दा नेपाली लेख्य साहित्यको इतिहास करीव साढे दुईसय वर्ष पुरानो मान्न सकिन्छ । नेपाली साहित्यको विकासक्रमको तुलनात्मकरूपले यस छोटो अवधिमा धेरै कवि, लेखकहरूले आफ्नो महत्वपूर्ण श्रम खर्चिएका छन् । यस प्रसङ्गमा नेपाली महिलाहरूको योगदानको बारेमा भने खासै चर्चा, चासो र बहस भएको पाइँदैन । खासगरी नेपाली साहित्यको अध्यययन–अनुसन्धानमा पुरुषहरूको वर्चस्व रहनु र तिनको नजरमा महिलाको योगदानमाथि सचेतरूपले ध्यान पुग्न नसक्नु वा नचाहनुको कारणले नेपाली महिला साहित्यकारहरूको बारेमा एकमुष्ठ अध्ययन सामग्री मुस्किलले पाइने गरेका छन् ।


कम साक्षरता प्रतिशत, भौगोलिक विकटता, अनेकन सामाजिक–सांस्कृतिक अन्धविश्वास, रोग, भोक, गरिबीले सताइएको बहुभाषिक र बहुजातीय स्वरूपमा संरचित हाम्रोजस्तो अति विपन्न देशमा नेपाली भाषा–साहित्यको जे जति श्रीवृद्धि भएको छ यो पनि आफैँमा पर्याप्त सन्तोषको विषय हो । तर यसमा महिला साहित्यकारहरूको भूमिका र नेपाली साहित्यमा महिला लेखकहरूको प्रवेश र बिस्तार के कसरी र कहिलेदेखि भयो भन्ने जिज्ञासा भने सामान्यतया अनुत्तरित नै छ ।

पितृसत्तात्मक हैकमवादी सोचले महिलाहरूलाई सदैव निरीह र कुनै न कुनै प्रकारले पुरुषको संरक्षण क्षेत्राधिकारभित्र मात्र बाँच्नसक्ने प्राणीको रूपमा सोच्ने र सोही रूपमा चित्रित गर्ने गर्छ । थोरै ‘यताउति’ गरे कि महिलाहरू ‘बिग्रिने’ वा ठूलो ‘अनिष्ट’ हुने भयभीत मानसिकताको यान्त्रिक सोच राख्ने पुरुषहरूका बीचमा आत्मसमर्पणपूर्ण हीन जीवन जिउने महिलाहरूको अवस्था वास्तविकरूपमा दयनीय र टिठलाग्दो नै छ । निरपेक्ष पुरुषवादी सोचको कुल तात्पर्य महिलाहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिकरूपले परनिर्भर खासगरी पुरुषआश्रित बनाइराख्ने र महिलाहरूमा सन्निहित अनेकन सिर्जनात्मक सम्भावनाहरूलाई सदाका लागि निमोठिदिने (कु)मनसाय लुकेको छ भन्न सकिन्छ । कतिपय परिवारमा त अझै पनि छोरी बुहारीले प्रेमका कथा–कविता लेखेको कुरा निकै ठूलो विद्रोह र घरायसी भाँडभैलोको विषय बनेको हामीले यदा–कदा सुनेका देखेका छौँ । यस्तो सामन्तवादी सामाजिक–सांस्कृतिक पछौटे चेतना भएको हाम्रो परिवेशमा महिलाहरूले आफूलाई साहित्यकारको रूपमा स्थापना गराउन सफलता प्राप्त गर्नु पनि आफैँमा निकै ठूलो र महत्वपूर्ण उपलब्धि हो । यसमा खासगरी राजनैतिक परिवर्तनहरूले दिएका अवसरहरूको प्रभाव त छँदैछ आज जति पनि सशक्त महिला साहित्यकारहरू अगाडि आउँदै छन् वा आएका छन् ती सबै तिनै पुराना महिला लेखिकाहरूले गरेको सङ्घर्ष र त्यसको प्रतिफलका उपज हुन् भन्न सकिन्छ । यस्तो अवस्थामा स्वाभाविकरूपले प्रश्न उठ्छ कि नेपाली महिला साहित्यकारहरूको विगत र वर्तमानको बारेमा यथार्थ थाहा पाउने उपाय के छ त ? 

नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘नेपाली साहित्यिक इतिहासमा नारी स्रष्टाको योगदान’ विषयको अनुसन्धान परियोजनामा तयार पारिएको र ‘गुञ्जन’ले प्रकाशित गरेको र शब्दार्थ प्रकाशनले वितरण गरेको ‘नेपाली महिला साहित्यकार’ नामक पुस्तक बजारमा आएको छ । नेपाली साहित्यको प्राथमिक कालदेखि वर्तमानसम्ममा नारी हस्ताक्षरको आगमन, विस्तार र हस्तक्षेपीकरणमा के कस्ता आरोह–अवरोहहरू देखापरे भन्ने विषयमा यस कृतिले विहङ्गम दृष्टि लगाएको छ । नेपाली साहित्य र साहित्यकार भन्ने बित्तिकै बडा–बडा पुरुष साहित्यकारहरूको सोचमग्न चित्र हाम्रासामू आइहाल्ने मनोवैज्ञानिक प्रभाव छ । तर नेपाली भाषा र साहित्यमा प्राथमिक कालदेखि नै नारी हस्ताक्षरको उपस्थिति रहेको कुरा लीला लुइटेलले खुलस्त पारिदिएकी छिन् । उनका अनुसार प्राथमिक कालमा प्राणमञ्जरीदेवी, ललितत्रिपुरसुन्दरी, बवगुनी गुरूङ, हीरा गाइनेनीलगयतका चारजना महिलाहरूले आफ्ना भावनाहरू लिखितरूपमा अभिलेख गरेका थिए । त्यसै गरी माध्यमिक कालमा पनि भक्तिकुमारी राणा, चन्द्रसुब्बा गुरूङ, योगमायालगायत अन्य महिला साहित्यकारहरूको उपस्थिति रहेको कुरासहित आधुनिक काल अर्थात् वि.सं.१९९१ देखि हालसम्मका महिला साहित्यकारहरूको विधागत परिचयात्मक टिप्पणी रहेको यस पुस्तकमा स्वच्छन्दतावादी धारा(१९९१–२०१६), प्रयोगवादी धारा(२०१७–२०३५) र समसामयिकधारा (२०३६ देखि हालसम्म)का महिला साहित्यकारहरूको इतिवृतान्त पस्किने काम भएको छ । यस प्रकारको खोजी कार्य वास्तवमै निकै कठिन हुँदाहुँदै पनि लीला लुइटेलले गरेको प्रयासले नेपाली महिला साहित्यकारको इतिहासलाई मात्र होइन नेपाली साहित्यलाई नै पर्याप्त गुन लगाएको छ ।

यस पुस्तकमा कविता, उपन्यास, कथा, निबन्ध, नाटक, नियात्राजस्ता विधाहरू र समालोचनामा कलम चलाउने नारी साहित्यकारहरूको जन्म, योगदान, पेशागत संलग्नता, शिक्षाजस्ता सूचनाहरूसहित सातसय त्रिसट्ठी जना महिला साहित्यकारहरूको जीवनको विविधपक्षमा खुलासा पार्ने प्रयत्न गरिएको छ ।

लीला लुइटेलले यो शोधकार्य गर्दा आइपरेका समस्याहरू जसरी राखेकी छन् त्यो आफैँमा एउटा मर्मस्पर्शी अनुभवको रूपमा आएको छ । नेपाली महिला साहित्यकारहरूबीचमा रहेका अनेकन् लघुताभास वा अहङ्कारवादी सोच र प्रवृत्तिहरूको समेत खुलासा हुँदा सबैलाई तत् विषयमा जान्न बुझ्न पाइने कुराले कृतिलाई रोचक र सङ्ग्रहणीय बनाएको छ । पाँचसय पचास पृष्ठको निकै ठूलो आयतनको यो पुस्तक नेपाली भाषा–साहित्यमा रुचि राख्ने विशेष गरी अनुसन्धनकर्ता, विद्यार्थी, साहित्यिक पत्रकारलगाायत सबै प्रकारका बाङ्मय अनुरागीहरूका लागि लाभकारी हुनसक्ने देखिन्छ ।  

:नरेन्द्र पराशर

Wednesday, July 31, 2013

तिमी

तिमी गुराँसकी फूल, सौन्दर्यको छ के कमी  ?
तिमी माधुर्यकी मात, तिमी स्वप्निल छ्यौ अनि  !
।।१।।


विमल प्रेमको खोला भोला मुहारमा छ नि
ईश नै झुक्छ है हेर्दै तिम्रो अगाडिमा अनि 
!
।।२।।

आफैँलाई क
हाँ हुन्छ थाहा कस्तो छु है भनी 
तिमी छाया परेकी छ्यौ पानीमा जूनको अनि  ! 
।।३।।

हाँस्ता उसै तिमी प्यारी नहाँस्ता पनि के कमी  ?
जहाँ बस्छ्यौ जसो गर्छ्यौ उसै सुन्दर छ्यौ अनि 
! 
 ।।४।।

नदीमा फूलको थुँगा बहे झैँ भावना छ नि
तिनै भाव उठी उड्ने मीठो बादल हौ तिमी  !
।।५।।


एक्लो हुँदैन है प्रेम एकान्तमा रहे पनि
आनन्द लाग्छ है धेरै तिमी छेउ भए अनि 
!
।।६।।

:नरेन्द्र पराशर
श्रिङ्गारसुधा कवितासङ्ग्रहबाट 

छन्द: अनुस्टुप्

Thursday, July 11, 2013

चरीका आँखा




कुनै गाउँकी एउटी राम्री किशोरीको
हृदय बगैँचाभित्र
कल्कलाएर उम्रिएका रहररूपी दूबोका पातहरूमा
खासमा बैंसका कोपिलाहरूमा
उखरमाउलो चाञ्चल्यले
दिव्य लालिमा पोतिएको
प्रेमको तुलसीमठमा
जसरी कविहरूले श्रद्धा देखे
त्यसै गरी मैले
मलेवा, हलेसा
हाँस र जुरेलीका आँखाहरूमा
सद्यस्नात पवित्रता देखेँ
खासमा चराका आँखाहरूमा....!

भविष्यको गर्भमा
आइपर्ने लफुङ्गो जीवनसाथी नसम्झिएकी
भूतकालको बालापन बिर्सिएकी
कुनै गाउँकी
एउटी स्वच्छ किशोरीको
आँखाको आँगनमा उम्रिएका
अगणित स्वप्नपुष्पहरूमा
नाच्दै रमाएका कल्पनाका पुतलीहरुमा
जसरी कविहरूले कविता देखे
त्यसै गरी मैले जीवन गरिमा देखेँ
खासमा चराका आँखाहरूमा...!



:नरेन्द्र पराशर

Tuesday, July 9, 2013

शुभेच्छा



आँखामा ज्ञानको ज्योति झल्किँदैछ बरोबर
दाँतमा शीतका थोपा टल्किँदैछन् मनोहर

गालामा वयको आभा लाली लावण्य प्राञ्जल
तिलझैँ दिव्य कोठीमा काव्य सौन्दर्य झल्मल


तिम्रो मुस्कानमा जादु ओठमा छन् गुलाव नै
तिम्रो कोकिल बोलीमा मोहनी छ अचम्मकै ।


मेघको रँङले राम्री प्यारी सौन्दर्यभावले
श्यामा, शान्त, तिमी शिष्ट, जाती छ्यौ है स्वभावले


तिम्रै हो सपना सारा तिम्रै आकाश हो सबै
पखेटा फड्फडाएर उड माथि झनै झनै ।


जितेकी छ्यौ सबैलाई प्रेममा हार्छ भावना
जय होस् ! जय होस् तिम्रो शुभेच्छा ! शुभकामना !!