Monday, January 27, 2014

नित्य-उन्मुक्त जीवन



म मेरै मार्गमा हिँड्छु 
सुसेल्दै मस्त हल्लिँदै
उड्छु आनन्द आनन्द 
धूलोजस्तै बतासिँदै !
।।१।।
जम्दै जम्दिनँ है पानी 
जस्तो जम्दछ पोखरी
झर्छु बग्छु बरालिन्छु 
जस्तो झर्छे सुनिर्झरी !
।।२।।
रोज्दै हिँड्दिनँ है प्यास 
तृष्णा माग्दिनँ क्रन्दन
बाँड्छु आनन्द आनन्द 
छन्द स्वच्छन्द नन्दन !
।।३।।
घरभित्र सियो झारी 
खोज्दै हिँड्दिनँ बाहिर
हीराको भित्र खानी छ 
सिक्का टिप्दिनँ बाहिर !
।।४।।
भित्र आनन्दको खोला 
ध्यान-डुङ्गा खियाउँछु
प्रज्ञाको झ्याल खोलेर 
प्रेमलाई चियाउँछु !
।।५।।
खोज्दै हिँड्दिनँ है मुक्ति 
रोज्दै हिँड्दिनँ बन्धन
म मेरै मार्गमा मस्त 
नित्य-उन्मुक्त जीवन ! 
।।६।।


:नरेन्द्र पराशर

Tuesday, January 21, 2014

गुरु र शिष्य

१.
गुरु,
भत्काएका थियौ
आत्मचैतन्यले 
मनस् बन्धनका पर्खालहरु
गुरु,
तिम्रा शिष्यहरुले
मुर्च्छनाका
तिनै ईटाहरु बटुलेर
बनाए
एउटा भयङ्कर कारागार ।
२.
गुरु,
तोडेका थियौ
आत्मसाक्षात्कारले
सघन तमिस्राको कुरुप साम्राज्य
गुरु,
तिम्रा शिष्यहरुले
उही अन्धकार बटुलेर
बनाए
भयङ्कर अँध्यारो छर्ने
एउटा विशाल मैनबत्ती ।
३.
गुरु,
तिमी त गयौ
यहाँ उत्पात मच्चाइरहेका छन्
तिम्रा शिष्यहरु ।

:नरेन्द्र पराशर
 

Monday, January 20, 2014

प्रणवोपासना


नादप्रणवको यात्रा 
दिव्ययात्रा पुरातन
ज्योति-अन्तर्यको यात्रा 
दिव्यज्योति सनातन ।

आत्म-चैतन्यको आभा 
''योग: कर्मसु कौशलम्''
नित्य-जीवनको प्यासी 
''ददामि ते सुधा जलम्'' ।

यम, नियमले धन्य 
रम्य आसनमा रहोस्
प्राणायाम गरी दीर्घ 
प्रत्याहार सुधा बहोस्
बहोस् दीर्घायुको गङ्गा 
धारणा ध्यानमा खुलोस्
प्रेम, आनन्द, औदार्य 
शान्तिमा जिन्दगी भुलोस् ।

भोगले भोग्छ है दुक्ख 
सुखको भ्रमले छली
त्यागले लुट्छ आनन्द 
नित्यानन्द झिलीमिली ।

प्रणवनादको शब्द 
उदाओस् करुणा, दया
जय होस् जय होस् नित्य 
''सर्वे सन्तु: निरामया:''

:नरेन्द्र पराशर

Saturday, January 4, 2014

जब कवि बिग्रिन्छ

१.
जब असल मान्छे सप्रिन्छ
भनिन्छ तब ऊ कवि बन्छ
जब कवि बिग्रिन्छ
तब ऊ शब्द-वैज्ञानिक बन्छ

तौलिन थाल्छ
आफ्नै छायाको वजन ।

२.
जब कवि बिग्रिन्छ
तब रन्दा लगाउन थाल्छ मुटुमा
आकाशमा या फूलमा
वा
आँशुका ढिक्कामा
सपनाको जहाज चलाउन थाल्छ

जोख्न थाल्छ कल्पनाको वजन ।

३.
जब कवि बिग्रिन्छ
तब पूर्वलाई पश्चिम र
पश्चिमलाई पूर्व देख्न थाल्छ
फूलमा ढुङ्गा र ढुङ्गामा फूल लेख्न थाल्छ
उसलाई देखेर हाँस्नेहरु देखेर
रुन थाल्छ
उसलाई हेरेर रुनेहरु देखेर
हाँस्न थाल्छ
र 
तौलिन थाल्छ
हृदयको वजन ।

४.
जब कवि बिग्रिन्छ
कोरिहिँड्छ असीमको सीमा

जोख्न थाल्छ फूलको बासनाको वजन ।

५.
उसको हृदयको डिजिटल तराजुमा
अटाउँछन् सबै अदृश्य चीजहरु
 र आँखाको स्क्रिनमा देखिन्छन्
अलग अलग चीजहरुका
अलग अलग वजनका अङ्कहरु
आफू निर्भार रहेर
धर्तीको भार घटाउँछ हेर ।

६.
जब कवि बिग्रिन्छ
झन् सुन्दर कविता बन्छ ।


:



नरेन्द्र पराशर