Wednesday, July 31, 2013

तिमी

तिमी गुराँसकी फूल, सौन्दर्यको छ के कमी  ?
तिमी माधुर्यकी मात, तिमी स्वप्निल छ्यौ अनि  !
।।१।।


विमल प्रेमको खोला भोला मुहारमा छ नि
ईश नै झुक्छ है हेर्दै तिम्रो अगाडिमा अनि 
!
।।२।।

आफैँलाई क
हाँ हुन्छ थाहा कस्तो छु है भनी 
तिमी छाया परेकी छ्यौ पानीमा जूनको अनि  ! 
।।३।।

हाँस्ता उसै तिमी प्यारी नहाँस्ता पनि के कमी  ?
जहाँ बस्छ्यौ जसो गर्छ्यौ उसै सुन्दर छ्यौ अनि 
! 
 ।।४।।

नदीमा फूलको थुँगा बहे झैँ भावना छ नि
तिनै भाव उठी उड्ने मीठो बादल हौ तिमी  !
।।५।।


एक्लो हुँदैन है प्रेम एकान्तमा रहे पनि
आनन्द लाग्छ है धेरै तिमी छेउ भए अनि 
!
।।६।।

:नरेन्द्र पराशर
श्रिङ्गारसुधा कवितासङ्ग्रहबाट 

छन्द: अनुस्टुप्

Thursday, July 11, 2013

चरीका आँखा




कुनै गाउँकी एउटी राम्री किशोरीको
हृदय बगैँचाभित्र
कल्कलाएर उम्रिएका रहररूपी दूबोका पातहरूमा
खासमा बैंसका कोपिलाहरूमा
उखरमाउलो चाञ्चल्यले
दिव्य लालिमा पोतिएको
प्रेमको तुलसीमठमा
जसरी कविहरूले श्रद्धा देखे
त्यसै गरी मैले
मलेवा, हलेसा
हाँस र जुरेलीका आँखाहरूमा
सद्यस्नात पवित्रता देखेँ
खासमा चराका आँखाहरूमा....!

भविष्यको गर्भमा
आइपर्ने लफुङ्गो जीवनसाथी नसम्झिएकी
भूतकालको बालापन बिर्सिएकी
कुनै गाउँकी
एउटी स्वच्छ किशोरीको
आँखाको आँगनमा उम्रिएका
अगणित स्वप्नपुष्पहरूमा
नाच्दै रमाएका कल्पनाका पुतलीहरुमा
जसरी कविहरूले कविता देखे
त्यसै गरी मैले जीवन गरिमा देखेँ
खासमा चराका आँखाहरूमा...!



:नरेन्द्र पराशर

Tuesday, July 9, 2013

शुभेच्छा



आँखामा ज्ञानको ज्योति झल्किँदैछ बरोबर
दाँतमा शीतका थोपा टल्किँदैछन् मनोहर

गालामा वयको आभा लाली लावण्य प्राञ्जल
तिलझैँ दिव्य कोठीमा काव्य सौन्दर्य झल्मल


तिम्रो मुस्कानमा जादु ओठमा छन् गुलाव नै
तिम्रो कोकिल बोलीमा मोहनी छ अचम्मकै ।


मेघको रँङले राम्री प्यारी सौन्दर्यभावले
श्यामा, शान्त, तिमी शिष्ट, जाती छ्यौ है स्वभावले


तिम्रै हो सपना सारा तिम्रै आकाश हो सबै
पखेटा फड्फडाएर उड माथि झनै झनै ।


जितेकी छ्यौ सबैलाई प्रेममा हार्छ भावना
जय होस् ! जय होस् तिम्रो शुभेच्छा ! शुभकामना !!