Wednesday, April 11, 2018

प्रश्न




जोगाउनु पर्छ जीवनमा थुप्रै कुराहरू
तर सिध्याउनु हुन्न केही प्रश्नहरू ।

उठाऊ जीवनमाथि प्रश्न 
उठाऊ सिद्धान्तमाथि प्रश्न
उठाऊ अहिलेसम्म हिँडेको बाटोमाथि प्रश्न
जीवन र दर्शनमाथि
मुक्ति र बन्धनमाथि
सत्तामाथि
उठाऊ प्रश्नै–प्रश्न ।

अहिलेसम्म दिइएका उत्तरमाथि
अहिलेसम्म नदिइएका जवाफमाथि
उठाऊ प्रश्न ।

राजनीतिमाथि
समाजमाथि
बग्दै गरेको पानीको काव्यिक तरङ्गमाथि
बल्दै गरेको आगोको उत्तप्ततामाथि
हूरी र बतासको उग्रतामाथि 
हिउँको शुभ्रतामाथि 
फूलको कोमलतामाथि
उठाऊ प्रश्नै-प्रश्न ।

जहाँ जहाँ 
जति जति उठ्छ प्रश्न
उति उति खुल्छन् उत्तरका पारावारहरू
नसिध्याऊ प्रश्नहरू
जोगाइराख 
कम्तीमा एउटा प्रश्न ।। 

-नरेन्द्र पराशर