Tuesday, May 28, 2013

सम्भावनाको क्षितिज


=
अन्योलको यो निविंड अन्धकार
झन् घना देखिँदैछ
ठीक यही (कु)बेलामा
विश्वदृष्टि
धृतराष्ट्र खसेको र कुम्भकर्ण सुतेको छ,
दर्शनका गोडाहरू
जहीँको त्यहीँ स्थिर छन्
दुर्भाग्य,
अतीतमुखी, यथास्थिति र पश्चगामी उल्लूहरू
पखेटा फटफटाइरहेका छन्
भविष्यमुखी आनन्दका परेवाहरू स्तब्ध छन्
छ्या ! घनघोर लडेको छ
संसारभरीकै (अ)राजनैतिक अन्धकार !

= 
यो (अ)राजनीति
अर्थात्
ब्ल्याक होल
अर्थात्
कृष्णविवर
अकल्पनीय (अ)विचारको घनत्वले
हिरण्यगर्भ
अन्धकारमय छ
अब एउटा सुपरनोभा
महाविस्फोटले
सायद सिर्जना गर्नेछ:
नयाँ अन्तरीक्ष
(राजनीतिको)
नयाँ क्षितिज
अनि बन्नेछ
एउटा नयाँ तारा
एउटा नयाँ सूर्य
एउटा नयाँ पृथ्वी
जहाँ विकसित हुनेछ:
पखेटासहितको एउटा नयाँ मान्छे
आकाशसहितको
एउटा नयाँ विचार !

= 
बृहस्पति वा शुक्राचार्य
प्लेटो वा एरिस्टोटल
मार्क्स वा विस्मार्क
वा महात्मागान्धी
वा फुको
अथवा ग्राम्सी
वा डेरिडा
सबै सबै हराएका छन्
यही प्रेमबिहीन अन्धकारमा
जहाँ
पानीजस्तो बगेन विचार
वा चराजस्तो उडेन सपना
फूलजस्तो फक्रेन ह्रिदय !

आऊ
नयाँ प्रकाशको
नयाँ उज्ज्यालो खोजिगरौँ
र लगाऊँ आगो
यो (अ)राजनैतिक
ब्ल्याकहोलमा !
 
:नरेन्द्र पराशर

Thursday, May 23, 2013

ढुङ्गाजस्तो सार्‍हो मुटु



ढुङ्गाजस्तो सार्‍हो मुटु बाँच्नु हुन्न सानु 
फूलमाथि उफ्री उफ्री नाँच्नु हुन्न सानु  ।

      तिम्रो स्पर्श पायो भने सिँउडी पनि फुल्छ सक्छ 
      पात छैन भनी हाँगो भाँच्नु हुन्न सानु ।

नाफा-घाटा जोखी बस्ने व्यापारी हो पक्कै
आँशुमाथि एसिड हाली जाँच्नु हुन्न सानु ।

     गौंडा ढुकी बसेका छन् सिकारीका जत्था
     माहुरी झैँ महलाई साँच्नु हुन्न सानु ।


:नरेन्द्र पराशर

Wednesday, May 22, 2013

जैविक विविधता संरक्षण ः सम्भावना र चुनौती

कुनै पनि प्राकृतिक बासस्थान(ह्याबिट्याट) वा पारिस्थितिकीय प्रणाली(ईकोसिस्टम)मा पाइने विभिन्न जीवहरूको प्रजातिगत सङ्ख्यालाई जैविक विविधता भनिन्छ । यसलाई सरलभाषामा कसरी पनि व्यक्त गर्न सकिन्छ भने कुनै पनि बासस्थान विशेषमा के कति शूक्ष्म जीवाणुहरू, वनस्पतिहरू, जन्तुजनावरहरू, चरापन्छी र कीटपतङ्गहरू रहेका छन् ती सबैको प्रजातिगत उपस्थिति नै जैविक विविधता हो । हाम्रो देशको परिप्रेक्ष्यमा जैविक विविधता संरक्षणको महत्व र यसका चुनौतीहरूको विषयमा यो छोटो लेख केन्द्रित छ ।

विभिन्न ईकोसिस्टमहरूमा प्रजातिगत तथा आनुवांशिक (जिनिटिक) भिन्नता रहने गर्दछ । तराई, चुरिया सिवालिक, भित्री मधेस, मध्यपहाडी क्षेत्र, उच्च पहाड तथा हिमाली क्षेत्रका कृषि, वन, सिमसार, मरुस्थल तथा घाँसेमैदानहरूमा जैविक विविधताको अवस्था पनि फरक हुनेगर्दछ । सानो क्षेत्रफलमा पनि समुद्रीसतहबाट साठी मिटरदेखि आठहजार आठसय अड्चालीस मिटरसम्मको उचाइ, पवित्र हिन्दकुश हिमालय पर्वतश्रृङ्खलाबीचको अवस्थिति र पेलिआर्कटिक तथा ओरिएन्टल क्षेत्रको ईकोटोन -अर्थात् सन्धिक्षेत्र_ हुनुको कारणसमेतले हाम्रो देश जैविक विविधताले सम्पन्न मानिन्छ । सरकारी तथ्याङ्कअनुसार विश्वको कुल भूसतहमध्ये ०.१ % भूभागमा फैलिएको हाम्रो देशमा पाइने ११८ प्रकारका इकोसिस्टमहरू र ३५ प्रकारका वनहरूमा रहेका १८१ प्रजातिका स्तनधारी जनावर, १०० प्रजातिका घस्रने जन्तु, ४३ प्रजातिका उभयचर, १८५ प्रजातिका माछाहरू, ६३५ प्रजातिका पुतलीहरू, ८६० भन्दा बढी प्रजातिका चराहरू तथा २,००० भन्दा बढी प्रजातिका फन्जाई, ४६५ प्रजातिका लाइकेन, ८५३ प्रजातिका ब्रायोफाइटस्, ५३४ प्रजातिका टेरिडोफाइटस्, फूल नफुल्ने २७ प्रजाति, फूल फुल्ने ५,८५६ वानस्पतिक प्रजातिहरू हालसम्म पहिचान गरिएको छ र पहिचानको यो क्रम निरन्तर जारी छ ।

जैविक विविधता आफैँमा कुनै पनि ईकोसिस्टम, बायोम वा बासस्थानको स्वस्थताको सूचक हो भने अर्कातिर यसले हाम्रो समाजका विभिन्न तह र तप्काका मानिसहरूलार्ई भोजन, स्वास्थ्य, आयआर्जन, ऊर्जा, औद्योगिक कच्चापदार्थ तथा अन्य दैनिक जीवनका लागि चाहिने आधारभूत सेवाहरूसमेत प्रदान गरिरहेको हुन्छ । किनभने आज पनि कर्णलीलगायत उच्च पहाडी भेगको जीविकोपार्जनमा जडीबुटीले खेलेको भूमिका स्मरणीय छ । त्यसैगरी विश्वमै दुर्लभ मानिएका गैंँडा, हात्ती, पाटेबाघ, हिम चितुवा, कस्तुरी मृग, हाब्रेजस्ता वन्यजन्तुहरूबाट प्राप्त हुने सौन्दर्यात्मक महत्व तथा त्यसमा आधारित पर्यटन व्यवशाय अनि विभिन्न औषधीय तथा सुगन्धित गुण भएका अनेकौँ जडीबुटीहरूको वैज्ञानिक व्यवस्थापन अर्थात् औद्योगिक प्रशोधनबाट प्रशस्त आर्थिक लाभ लिन सकिने अवस्थालाई हामीले बिर्सनु हुँदैन । शहरी क्षेत्रभन्दा टाढा दूरदराजमा जीवनयापन गर्ने आदिबासी, जनजाति तथा गरीव विपन्नवर्गका जनसमुदायको सामाजिक, सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक मूल्यमान्यताका हिसाबले समेत जैविक विविधताको महत्वलाई स्वीकार गरिनुपर्दछ । तुलसी, वरपीपल, बेल, दुबो, कुश, टटेलो, चिउरीजस्ता बोटबिरूवाहरू विभिन्न धार्मिक तथा जातीय संस्कृतिसँगै अनादिकालदेखि जोडिएर आएका छन् । यसर्थ जीवनको बहुआयामिक आवश्यकता पूरागर्न हाम्रो सामाज कुनै न कुनै रूपले जैविक विविधतामा आश्रित छ ।

धर्तीमाता सबैकी साझा बासस्थान हुन् र जैविक विविधता प्रकृतिको अनुपम् वरदान हो । तर मानवजनित क्रियाकलापले जैविक विविधता दिनप्रतिदिन ¥हास हुँदै गएको छ वा धेरै प्रजातिहरू सङ्कटापन्न अवस्थामा पुगिसकेका छन् । बढ्दो जनसङ्ख्या तथा अन्य अनेकौँ कारणले वनको विनाश हुनु(खासगरी टिम्बर, दाउरा, जडिबुटीका लागि वनमा अत्यधिक दबाब, वनपैदावारको चोरी निकासी, लगातार दोहोरिई रहने वन डढेलो, बाढीपहिरो, अति चरिचरन, भौतिक पूर्वाधार निर्माण र पुनर्बासमा वनको प्रयोग, वनमा मिचाहा प्रजातिको प्रवेश र अतिक्रमण), तीब्रगतिमा भूउपयोग परिवर्तन हुनु, सिमसार क्षेत्रहरू पुरिने वा सुक्ने खतरामा पुग्नु, संरक्षित वन्यजन्तुहरूको चोरीशिकारी बढ्नु, वन्यजजन्तुहरूको बासस्थान विखण्डित हुनु, कृषिक्षेत्रमा रासायनिक मल, विषादि तथा हाइब्रिड बिउबीजनको अत्यधिक प्रयोग हुनु, आयातीत प्रजाति, जिनिटिक अधोगमन र प्रदूषण, बढ्दो शहरीकरण तथा मानिसहरूमा बढ्दै गएको उपभोक्तावादी विलासी जीवनशैली र प्रकृतिप्रतिको संवेदनहीनता जैविक विविधता नाश हुने प्रमुख कारणहरू हुन् । यसका अतिरिक्त मानवीय क्रियाकलापबाट बढ्दै गएको विश्वव्यापी तापमान बृद्धि र त्यसबाट जलवायुमा आउँने दु्रततर परिवर्तनको कारणले पनि निकट भविष्यमै जैविक विविधतामा अकल्पनीय ¥हास आउँनसक्ने सम्भावनालाई नकार्न सकिन्न ।

यसरी जैविक विविधता ¥हास हुने क्रमसँगै प्राकृतिक सन्तुलनको जालो खल्बलिन जाँदा सिङ्गो मानव सभ्यतासमेतमा त्यसको प्रत्यक्ष असर पर्ने निश्चितप्रायः छ । फलस्वरूप अतिवृष्टिको कारणले बाढीपहिरो र अनावृष्टिको कारणले सुक्खा भई खाद्यान्न उत्पादनमा नकारात्मक असर पर्ने र डरलाग्दो खाद्यसङ्कट उत्पन्न हुनसक्ने, भौतिक संरचनाहरू जस्तैः नदीहरूमा आधारित विद्यत्गृहहरू ध्वस्त भई ऊर्जा विपत्ति आइपर्नसक्ने, आर्थिक सङ्कटले अर्थतन्त्र तहसनहस हुनसक्ने, विभिन्न सरुवा रोगहरूको महामारी फैलिनसक्ने जस्ता अनेकौँ कुप्रभाव भोग्नुपर्ने समस्याहरू आइपर्न सक्छन् । तसर्थ जैविक विविधता संरक्षणको महत्वलाई जनस्तरमा स्थापित गराउँनु अपरिहार्य छ ।
जैविक विविधता राष्ट्रिय गौरवको विषयसमेत भएको हुनाले यसको संरक्षण र संवद्र्धनमा सम्बन्धित सबैले गम्भीरतापूर्वक ध्यानदिनु पर्दछ । खासगरी वन, कृषि, वातावरण, पर्यटन, विज्ञान प्रविधि तथा अर्थ मन्त्रालयको आपसी समन्वयमा सम्बन्धित विज्ञहरूसमेतको रायसुझाबबाट जैविक विविधताको महत्वलाई जनस्तरमा स्थापित गर्दै जाने र जनसहभागिताबाटै जैविक विविधता संरक्षण सम्भव छ भन्ने मान्यतालाई आत्मसात गरी पर्यावरणीय सन्तुलन कायम गर्न तथा यसबाट अधिकतम लाभ लिनसकिन्छ भन्ने योजनाबद्ध कार्यक्रम अगाडि सारिनुपर्दछ । वन विभागले सामुदायिक वनहरूमा स्थानीय र परम्परागत ज्ञान तथा जैविक विविधताको अभिलेखीकरण गर्न जनसहभागितामूलक कार्यक्रम समावेश गर्नु तथा कृषि मन्त्रालयअन्तर्गत जीन बैंकको स्थापना हुनुले यस दिशामा सकारात्मक सुरुआतको आशा गर्न सकिन्छ । तर सानातिना झारा टार्ने प्रकृतिका कार्यबाट एकआध कर्मचारीहरूले धेरथोर आर्थिक लाभ त लेलान् तर ती कार्यहरूबाट जनस्तरमा जैविक विविधता संरक्षण गर्नु भनेको पनि हात्ती आयो, हात्ती आयो ः फुस्सा ! नै रहेछ भन्ने गलत सन्देश जानदिनु हुँदैन । किनभने जनसमुदायले एकपटक बनाएको धारणा लामो समयसम्म कायम रहने खालको हुनेगर्दछ । अतः सामुदायिक वा अन्य वन उपभोक्ता समूह अथवा प्रकृतिसँग नजिक रहेर जीवन निर्बाह गरिरहेका मानिसहरूबीचमा जैविक विविधता संरक्षणका कार्यक्रमहरू प्रस्तुत गरिँदा ती लाभकारी, आवश्यक र जीवनदायी छन् भन्ने कुरा प्रमाणित हुनेखालका हुनुपर्दछ । यहाँनेर बिर्सनै नहुने अर्को कुरा के हो भने विभिन्न विदेशी दातृनिकायका अल्पकालीन र हचुवा प्रकृतिका आर्थिक सहयोगहरूले समेत जैविक विविधता संरक्षणमा टेवा पुग्नुको साटो स्थानीय जनतालाई परनिर्भर र मगन्ते बानाइराख्ने गलत भावनाको विकास गराउँने गर्दछन् । यस विषयमा समेत सम्बन्धित सबैले समयमै आवश्यक गम्भीरता देखाउँनु पर्दछ ।

संसारले जैविक विविधताको संरक्षण र सदुपयोगमा गम्भीर चासो लिइरहेको अवस्थामा यसको महत्व र मर्मलाई सर्वसाधाराण जनतासम्म पु¥याउँन वातावरण संरक्षणमा कार्यरत सम्पूर्ण विज्ञ तथा संरक्षणवादीहरू, जनप्रतिनिधिहरू, सबै तह र तप्कामा कार्यरत सचेत नागरिकहरूले आआफ्नो स्थानबाट वनस्पति, जीवजन्तु, चरापन्छी तथा कीटपतङ्गहरूको संरक्षणको लागि तिनको बासस्थानको ग्यारेन्टी गर्न आवश्यक भूमिका निर्बाह गर्ने कार्यमा सक्रियता देखाएर जैविक विविधता संरक्षणलाई टेवा पु¥याउँनु आजको आवश्यकता हो । नवीकरणीय प्राकृतिक स्रोतको रूपमा रहेको वानस्पतिक जैविक विविधताले नै सहजरूपले अधिकतम औद्योगिक कच्चापदार्थ उपलब्ध गराउँन सक्छ र त्यसको प्रशोधन तथा निर्यातले राष्ट्रिय अर्थतन्त्रमा पर्याप्त टेवा पु¥याउन सक्ने देखिन्छ । तसर्थ दीनहीन नेपाली अर्थतन्त्र र गरीव जनताको उन्नतिका लागि जैविक विविधताको बुद्धिमत्तापूर्ण संरक्षण र उपयोग आवश्यक छ ।

:नरेन्द्र पराशर
नयाँ पत्रिका २०६८।४।७