Thursday, March 28, 2013

मातृभूमि रिझाइद्यौ

 

 
नानीबाबु तिमी प्यारा ईशकै वरदान हौ
दिई ध्यान पढे राम्रो राष्ट्रकै स्वाभिमान हौ ! ।।१।।

सानालाई गरी माया गर मान बडाकन
गुरुलाई गरी श्रद्धा गुणग्राही सधैँ बन  ! ।।२।।

राम्रो आफूसँगै हुन्छ नराम्रो पनि साथ नै
गुण राम्रो सपारेर नराम्रोपन त्याग है ! ।।३।।

गढ्नुपर्दछ है भित्र श्रम तथा विचारमा
तैरिएका हुँदै हुन्नन् मुगामोती समुद्रमा ! ।।४।।

दृश्य पुस्तक हो खुल्ला ऋतु नै पढ्नुपर्दछ
बुझ्न उचाइको मर्म हिमालै चढ्नुपर्दछ !।।५।।

नानीबाबु तिमीभित्र लुकेको छ गुलाव नै
फक्र, फूल, उडी बास्ना ढाकिदेऊ अकाश नै ! ।।६।।

चारैतर्फ गरी खोज, रोज उत्साह सत्यको
ताजा तेज निकालेर राख इज्जत देशको ! ।।७।।

घामको पहिलो झुल्काजस्तै लाली फिँजाइद्यौ
ज्ञानविज्ञान, विद्याले मातृभूमि रिझाइद्यौ ! ।।८।।


:नरेन्द्र पराशर
 

Sunday, March 24, 2013

‘यायावर’को यात्रा




मुग्लिङदेखि नौबिसेबीचको कुनै स्थानमा रहेको प्रहरी कार्यालयको इन्स्पेक्टर प्रताप उपन्यास यायावरको पहिलो पात्र हो । पहिलो पात्रको पहिलो वाक्य नै अपशब्दसहित उपन्यास अगाडि बढ्छ । राजमार्गमा बेफिक्री गुडिरहेका अनेक प्रकारका गाडीहरू तिनको हर्न र इन्जिनको कर्कश आवाजले प्रताडित भइरहने प्रतापले राति कार्यालय परिसर छेउछाउ भयानक आवाज सुन्छ र बस खसेको ठहर गर्छ । अनि ऊ उद्धारका लागि आफ्ना मातहतका जवानहरू लिएर पिचमा टायर घस्रिएको संकेत हेर्दै त्रिशूली नदीतिर लाग्छ । अँध्यारोमा छामछुम गर्दै निकै दुःख गरेर वीभत्सरूपले बस पल्टिएको ठाउँसम्म पुग्ने क्रममा उसले एउटा झोला भेटाउँछ र यसो खोलेर हेर्छ । त्यसमा नोटका बिटा दखेर ऊ त्यस झोलालाई राम्ररी काँधमा भिर्छ र जवानहरूलाई राम्ररी खट्ने आदेश गरेर स्वयं ऊ भने निवासतिर उकालो लाग्छ । उसले निकै सजग र सतर्क भएर उक्त झोला खोल्छ । त्यसमा वैकुण्ठ नामको नागरिकतातीन लाख रूपैयाँका अतिरिक्त एउटा पेन ड्राइभ पनि फेला पर्छ । कम्प्युटरमा खासै ज्ञान नभएको प्रताप स.इ राजारामको सहयोगले पेन ड्राइभ खोल्छ । जम्मा जम्मी दुईवटा फोल्डर भएको  पेन ड्राइभमा एउटामा बच्चुकैलाशका गीतहरूको सङ्कलन हुन्छ भने अर्कोमा गोप्य लेखिएको हुन्छ । यही गोप्य लेखिएको फायल फन्टको समस्याका कारण आफैँ खोल्न नसकेकोले प्रतापले फायल खोल्न स.इ. राजारामको सहयोग लिन पुगेको हुन्छ । अब प्रताप त्यही गोप्य फायल गोप्य तरिकाले पढ्न थाल्छ र सुरू हुन्छ उपन्यास यायावरको मूल यात्रा ।

यायावर । बृहत् नेपाली शब्दकोशअनुसार यायावर भन्नाले जीवनमा विभिन्न ठाउँमा घुमिरहनेफिरन्ता व्यक्तिसन्यास आश्रमको योगीमहन्त भन्ने अर्थ जनाउँछ । यसर्थ म यायावर भन्नेबित्तिकै जानीनजानी राहुल सांकृत्यायन र योगी नरहरिनाथलाई सम्झिन पुग्छु । संस्कृतको यस तत्सम शब्दभित्र रहेको महिमा र गुणले मलाई पनि कता कता हृदयको अन्तस्करणमा छोइरहेको महशुस हुन्छ ।

ब्रजेशको यायावर खासमा दुर्घटनास्थलमा भेट्टाएको पेन ड्राइभमा रहेको वैकुण्ठ(को आत्मकथा) नै हो । अनि त्यही वैकुण्ठले बाल्यकालदेखि खासगरी किशोरावस्थादेखि भोगेको जीवनयात्राको आरोहअवरोह नै यस उपन्यासको स्थापत्य हो । ब्रजेशको यस यायावर उपन्यासको मन्दिरमा प्रेमकी प्रतिमूर्ति जुनेलीबनेकी छे भने त्यसको मर्माहत भक्त स्वयं वैकुण्ठ ।जीवनको दौडाहामा निरन्तर सक्रिय रहे पनि कहिल्यै नायक बन्न नसकेको वैकुण्ठको जीवन कहानीमा कालो रामभयङ्कर खलपात्रका रूपमा खडा भएको छ । यस्तो खलपात्र जो हिन्दी चलचित्र सोलेको गब्बर सिंहबाट अनन्तरूपले प्रभावित छ । यही खलपात्र कालो रामकै कारणले वैकुण्ठ आफ्नो जीवनको संवेदनशील क्षणहरूमा सदैव विचलित भइरहन्छ । खासमा भन्ने हो भने कालो रामले वैकुण्ठको जीवन नै तहसनहस बनाइदिएको छ ।

वैकुण्ठ विवाहित हो । किशोरवयको उद्भवसँगै आविर्भाव भएका बैँसका काउकुतीमय चाहनाको स्मरण भएदेखि नै उसले चमेलीलाई मनमात्र पाराएन चमेलीसँगै विवाह गर्ने सुन्दर मौका पनि पायो । तर उसले चमेलीलाई भोग्न किन पाएन यही प्रश्नको वरिपरि उपन्यासको सिङ्गो कथानक घुमिरहन्छ । बिहे गरेको छैन, तर कुमार पनि होइन भन्ने कुरा त हामी माझ नौलो छैन । तर वैकुण्ठ त विवाहित हो र कुमार पनि । यही नौलोपन नै यायावरको रहस्य हो ।
 
यही विवाहित जीवन र कौमार्यबीचको यौनकुण्ठाद्वारा अवचेतन मनबाट सक्रिय वैकुण्ठ मनका अनेक धामहरूमा घुमिरहन बाध्य हुन्छ । यही परिभ्रमणकै क्रममा अनेक रुचि र स्वभावका पात्र(भैरे, मेनुका, नारद)हरूसँग उसको जम्काभेट हुन्छ । यी पात्रहरूले उसको जीवनमा विशिष्ट अर्थ पनि राख्छन् ।
 
यस उपन्यासमा उपकथाका रूपमा क्षणभरका लागि देखिएका पात्रहरूमध्ये गाउँको स्कूलमा भूगोल पढाउन आइपुगेका नारायण सरको बोल्ने शैली सम्झन लायक छ ।

जे सुकै परोस् भन्ने उद्धेश्यले निकै हिम्मत जुटाएर वा आफू कमजोर छैन भन्ने देखाउन वैकुण्ठ अफिसकै साथी नारदको पछि लागेर बेश्याहरूको अखडामा पनि पटकपटक पुग्छ । तर पनि ऊ जस्तो पवित्र शरीर लिएर पुगेको हुन्छ उही पवित्रतासहित डेरामा आइपुग्छ र आफ्नै मनको आन्तरिक द्वन्द्वमा फसिरहन्छ । ऊ खासमा भौतिक शरीरको वासनापूर्ण यौनिक चाहना र हृदयको पवित्र प्रेमबीचको अन्तरद्वन्द्वमा रूमलिइरहेको हुन्छ ।

यस उपन्यासले तीशको दशकदेखि यताको काठमाण्डौँ र धादिङको सामाजिक, पारिवारिक, आर्थिक, राजनैतिक, भौतिक वातावरणलाई विविधरूपले सम्बोधन गरेको छ । समग्रमा भन्ने हो भने अस्तित्ववादी दृष्टिकोणले प्रेरित तथा चरित्र र घटनालाई उत्तिकै महत्व दिएर तयार भएको यस उपन्यासको संरचना छिटोछरितो अनि सङ्गठित देखिन्छ । सरल भाषा, भाषामा प्रयुक्त दार्शनिकता र सुक्तिमयताले उपन्यासलाई पठनीय बनाएको छ । साथै यौन र प्रेमको गहन मनोविज्ञानले उद्विग्न मूलपात्र वैकुण्ठको मनोद्वन्द्व र धादिङ अनि काठमाण्डौँको परिवेशले पाठकमा अहर्निश कौतुहल जगाइरहन्छ ।

 :नरेन्द्र पराशर

Wednesday, March 20, 2013

आमा बेच्न सकिन्छ र ?

देशको अस्मिता आज जुवाको खालमा गयो
पुर्खाको पसिना-आँशु ठट्टाजस्तो हुँदै गयो
विदेशी कूट-पासोमा सुटुक्कै फस्नु हुन्छ र ?
भयो जाडो भनी कोही आगोमा पस्नु हुन्छ र ?
।।१।।
'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी'
मन्त्रले देश गुन्जिन्थ्यो आज स्वर गयो बसी
स्वाधीनता गुमे देश जोगाउन सकिन्छ र ?
पैसा खाँचो पर्‍यो भन्दै आमा बेच्न सकिन्छ र ?
 ।।२।।

नरेन्द्र पराशर
(छन्द : अनुष्टुप्)

Monday, March 18, 2013

हेटौडामा एक रात, कविहरुका साथ

काठमाण्डौँ खाल्डोको झर्कोलाग्दो दैनिक नियमितताबाट अलग रहन सबैलाई मन लागिरहेकै हुन्छ । उही अफिस, उनै मान्छे, त्यही धूलो र धुवाँको चौतर्फी घेराबन्दीबाट प्रताडित भइरहेको बेला अलिकति टाढा जान मन लालायित हुनु स्वाभाविक पनि हो । उसै पनि काठमाण्डौ उपत्यकामा आनन्द प्रवाहित गर्ने समय प्राप्त गर्न कठिन नै हुन्छ । मानिस शायद केही नौलो र नयाँपनमा हराउन वा रमाउन चाहने स्वभाव लिएर आएको हुने भएर नै होला केही दिन यस उपत्यकामा बसेपछि मलाई पनि बाहिर कतै जाऊँ जाऊँ लागिरहन्छ । तर उपत्यका बाहिर कतै जाने चाहना हुनु र हिँडिहाल्ने मौका पाउनु दुई फरक कुरा हुन् । सदैव घुमघाम गर्ने मौका कहाँ पाइन्छ र ।

फागुन दुई गते साँझ अपरिचित नम्बरबाट फोन आयो । उठाएँ । पुरु रिसालको रहेछ । एक पुराना र पाका लेखक–पत्रकारकोे फोन आउँदा म छक्क पनि परेँ । क्षणभरको भलाकुसारीपछि उहाँले निम्ता दिनु भयो –रेडियो थाहा सञ्चार, हेटौडाको बार्षिक महोत्सवमा भाग लिन हेटौडा जानु पर्ने । भोलिपल्ट मैले आफ्नो समय अनुकूल पार्दै उहाँलाई आफू सहभागी हुने पक्का गरेँ । पाँच गते शनिबार बिहान साढे सात बजे खाजानास्ता गरेर हिँड्नु पर्ने भन्दै उहाँले कमलादीको डब्लुसी रेस्टुराँमा बेलैमा आइपुग्न अनुरोध गर्नुभयो ।

पाँच गते बिहान म सम्बन्धित रेस्टुराँमा पुगेँ । कोही थिएन । एक जना काम गर्दै गरेका भाइसँग कुरा बुझ्दा ठिकै ठाउँमा पुगेको पत्तो लाग्यो । केहीबेरपछि अग्ला र हेर्दै पनि भद्र देखिने राजेन्द्र शलभ आइपुगे । व्यक्तिगत चिनाजानी नभए पनि उनलाई मैले टेलिभिजनका पर्दाहरुमा देखिरहेकोले चिनिहालेँ र आफ्नो परिचय दिएँ । उहाँ साविककै भद्रतासहित मेरो सामुन्ने कुर्सीमा बस्नु भयो र हामी यताउतीका सामान्य कुरामा अलमलिदैँ गर्दा महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने आफ्नो ढाका टोपीको पुरानै पहिचानसहित मुस्कुराउदै देखापरे । लगत्तै एकजना गोरा, पातला र होचा–होचा व्यक्ति पनि कोठामा शिष्टतापूर्वक छिरे । ती त गजलकार ललीजंग रावल पो रहेछन् । शायद उनको पछि पछि कवि श्रीओम श्रेष्ठ रोदन र विश्वविमोहन श्रेष्ठ पनि देखा परे । यस अघि दुई नारी आकृति चञ्चल पुतली झैँ देखा परेका थिए । तीमध्ये एकजना कवि गीता कार्की मेरा लागि अपरिचित थिइनन् भने अर्की नारी कवि सन्ध्या पहाडी रहिछन् । शायद यही क्रममा डा. बेन्जु शर्मा पनि आइगुगिन् । अनि सदैव उस्तै शान्त मुखाकृतिमा धैर्य देखिने जयदेव आचार्य पनि आइपुगे ।

सञ्चारकर्मी श्रीधर न्यौपाने चाहिँ सिङ्गो भ्रमणको संयोजन गर्ने पुरु रिसाललाई छोड्नमात्र आएका रहेछन् । आकाशभरी बादलले ढाकेको र चीसो बढेको फागुनको पहिलो हप्ताको त्यस बिहानीमा तातोतातो खाजा र कफी सकेर हामी हिँड्यौँ । बल्खुबाट एबीसी टेलिभिजनका क्यामरा पर्सन ध्रुव अधिकारीलाई चढाएपछि हाम्रो यात्रा लाग्यो त्रि.वि.वि.को गेट हुँदै दक्षिणतिर । उता चीसो टौदहमा हाँसहरु हेलिदै थिए भने यता माइक्रो बसभित्र रहेका सबै कवि लेखकहरुका अनुहारमा स्वतन्त्रताको अपूर्व आभा झल्किन थालिसकेको थियो । एकोहोरो र पट्यारलाग्दो दैनिकीमा हुने यस प्रकारको क्रमभङ्गताले अवश्य पनि फरक ऊर्जा थप्दो रहेछ । वास्तवमा सबैका बोली–भाषा निकै उमङ्गमय बन्दै गएका थिए । चोभार, फर्पिङ, दक्षिणकाली हुँदै अगाडि बड्दै गर्दा जीवनमाथिको अनौपचारिक शोध शुरु भयो । ध्यान र योगका प्रसङ्गहरु अगाडि आउनु राम्रो कुरा थियो । किनभने विविध राजनीतिक पृष्ठभूमिका मानिसहरुलाई जोड्न ध्यान र योगकै कुराकानी बढी उपयुक्त हुने गर्छ । यस प्रसङ्गमा ओशो रजनीश, रविशङ्कर, विपश्यना, पाइलट बाबा, रामदेवसम्मका कुरा चले । तर नेपाली बाबा र सन्तहरुका कुरा भने उठ्दै उठेनन् । जीवन र जगत्लाई बुझ्ने कुरामा खासगरी आध्यात्मिक बोध र त्यस प्रकारको दृष्टिकोणलाई गहिराईबाट समात्ने कलाको हिसाबले कवि श्रीओम श्रेष्ठ रोदनका विचार र अनुभवहरु मनन योग्य थिए । ललीजंग रावल र विश्वविमोहन श्रेष्ठ आफ्नै धुनमा खासखुस गरिरहेका देखिन्थे । वरिपपरिका सुन्दर र शान्त डाडाकाँडाहरु देखेर होला गीता कार्की कुनै कवि आश्रमको कल्पना गर्दै थिईन् भने श्रीओम रोदनले जग्गा मिलाइदिने कुरा गर्दै थिए । म पनि नारायाण गोपालका गीत गुन्गुनाउदै हुन्थेँ । अनि गीता कार्की र सन्ध्या पहाडीको साथले मेरो स्वरमा थप गाम्भीर्य थपिन पुग्थ्यो । मेरो छेउमा कवि चन्द्रप्रसाद दङ्ग पर्दै हाँस्दै हुन्थे ।

कुलेखानीतिर चिया खाइसकेर यात्रा पुनः सुरु गर्दा एक झोला सुन्तला पनि झिकिए । कुनै कागतीजस्ता त कुनै जुनारजस्ता र कुनै कुनै मात्र सुन्तलाजस्ता भए पनि सबैले अनेक टिप्पणी गर्दै खाइयो । केहीबेरपछि हेटौडाबाट रेडियो थाहा सञ्चारका ‘शब्द–सिर्जना’ कार्यक्रमका प्रस्तोता राम अविकासको फोन आयो । हाम्रो टोलीलाई खाना खानका लागि अन्नपूर्ण होटेलमा व्यवस्था रहेछ । देउरालीबाट भीमफेदीतिर ओरालो झर्दै गर्दा सन्ध्या पहाडीलाई वान्ता हुनथाल्यो । राजेन्द्र शलभको पनि अवस्था सारै राम्रो त थिएन तर उनले वान्ता भने गरिहालेनन् । घुमाउरो बाटोको छेउछाउ राता थुङ्गाहरुले ढकमक्क भएका गुराँशका बोटहरु र राता थुङ्गाहरु बेच्न बसेका स–साना केटाकेटीहरु देख्दा मलाई युग पाठकको ‘गुराँश बेच्ने केटी’ शीर्षकको कविता याद आइरह्यो ।

एक बजे हामी हेटौडा पुग्दा हलुका वर्षा भइरहेको थियो । राता झण्डा र ब्यानरहरुले हेटौडा नगरीका असोकका हरिया रुखहरु पनि राताम्मे देखिएका थिए । ने.क.पा. एमाओवादीको महाधिवेशनको रौनकको झल्को महशुस गर्दै हामी रेडियो थाहा सञ्चारको स्टेशनतिर लाग्यौँ । रेडियो स्टेशन परिसरमा कवि गोष्ठी चलिरहेको थियो । माइकमा चितवनका कवि धनराज गिरी ‘भ्यालेन्टायन डे’ मा मस्त थिए र दर्शक स्रोताहरु उनको कविता र विशिष्ट वाचन शैलीमा झुमिरहेका थिए । काठमाण्डौँबाट हेटौडा पुगेका वाङ्मयकर्मीहरु अतिथिका रुपमा मञ्चमा डाकिए । डा. बेन्जु शर्मा प्रमुख अतिथिको रुपमा आसन ग्रहण गर्दै थिईन् । मलाई भने थाहा सन्देश दैनिकका सम्पादक गिरिजा अधिकारीले तानेर बाहिर लगिहाले । वर्षा भइरहेको थियो र कविता झनै दर्किरहेको थियो । थाहा एफ्. एम. ले प्रत्यक्ष प्रशारण गरिरहेको सो नारायणी अञ्चलस्तरीय कवि गोष्ठीमा चितवनका कवि भूपिन, एल् बी. क्षेत्री थिए भने रौतहटका मुक्तककार हरिकृष्ण काफ्ले, रमेश समर्थन, सञ्जय साह उपस्थित थिए । पर्साका कवि डा. विश्वम्भर शर्मा, बाराबाट राम पराजुली, राम खनाल त्यस्तै मकवानपुरका तुल्सी थापा, आर. आर. चौलागाई, आर. सी. रिजाल, आनन्दराम पौडेल, निमेष निखिल, हयग्रीव आचार्य, अरुण सुमार्गी, अंकिता सुमार्गी, मोहन अधिकारी, देवराज खरेल, दीपक गौतम, सुवास खनाल, अर्जुन क्षितिज, एस. के निधन, भानुभक्त विष्ट, छवि अनित्य, धर्मराज स्याङ्तान, पुरुषोत्तम आचार्य, यश लामा, प्रतिमा पाठक, अप्सरा तिमल्सिना, रामशरण पुडाशैनी, पद्मराज लामिछाने आदिका कविता सुन्दा सिङ्गो देशको राजनैतिक, सामाजिक, सांस्कृतिक, मानवीय तथा प्राकृतिक अवस्थाको प्रतिविम्ब झल्किदै थियो ।

काठमाण्डौँबाट अतिथि बनेर पुगेका जयदेव भट्टराईबाहेक सबै कविहरुको रचना वाचनपश्चात् कार्यक्रम समाप्त भएपछि बेलुका झण्डै सात बजे हामी अरुण सुमार्गीको पारिवारिक आतीथ्य ग्रहण गर्न अनिता सुमार्गीको फराकिलो घर पुगेका थियौँ । एकजना पाको उमेरकी महिलाको भद्र आकृतिले मलाई आकर्षण गरिरहेको थियो । उनी विश्वकान्ति कलावती सुमार्गी रहिछन् । उनको अनुहारमै ममताको गङ्गा बहेको अनुमान गर्न सकिन्थ्यो । निकै पुरानो राजनैतिक पृष्ठभूमि भएकी कलावती देवीका पिताजी गायक हुनुहुँदो रहेछ । उपत्यकाको ‘रेडियो सगरमाथा’को रात्रीकालीन कार्यक्रम 'संगीत–आकाश'मा बजिरहने निकै पुरानो गीत ‘आइज निदरी आइज, आइज निदरी आइज’ का गायक, रचनाकार कलानाथ अधिकारी विश्वकान्ति कलावतीका पिता र सुमार्गी ब्रदर्सका बाजे भएको कुराले मलाई भिन्न अनुभूति भइरहेको थियो । अनि पो म अरुण सुमार्गीले कविता रचना र वाचन गर्नु साथै कविहरु भेला पार्नुको रहस्य बुझ्दै थिएँ । चीसो साँझमा राजन सुवेदी र अनिताको आग्रह यति कोमल थियो कि बा¥ह वर्षदेखि अल्कोहल नछोएका चितवनका एल्.बी. क्षेत्रीको मन पनि भावुक भएछ क्यारे उनी पनि पग्लिए । काठमाण्डौबाट गएका चार जनाबाहेक प्राय सबैले एक एक ‘बिर्को’ विदेशी मदिराको आस्वाद लिए र रमाए । सुमार्गी परिवारका छोराछोरी, बालबच्चासहित गीत, कविता, चुट्किलाले भरिएको सांस्कृतिक कार्यक्रम राति एघार बजेसम्म चलिरह्यो । श्रीओम श्रेष्ठ रोदनले सुमार्गी परिवारको हार्दिकता र सुसंस्कृत व्यवहारको प्रशंसा गरे । उद्योगी अरुण सुमार्गीको कार्यक्रम सञ्चालन रमाइलो र आकर्षकमात्र थिएन अपितु पर्याप्त वाक्चातुर्यले भरिएको थियो । उनी श्रीमती अंकिताको खुलेर प्रशंसा गर्दै थिए ।

भोलिपल्ट बिहानीको नास्तापश्चात् हामीलाई सुमार्गी परिवारले भुटनदेवी मन्दिरको दर्शन गरायो र आफ्नो कर्राको कोल्डस्टोरको भ्रमण पनि । त्यहाँ अरुणले त्यस स्टोरले पु¥याउँदै आएको सेवाबारे बताए । त्यसपछि हामी कुष्माण्ड सरोबर पुग्यौँ, जहाँ सुमार्गी परिवारले हेटौडामा नै मुस्ताङ्गको मुक्तिनाथ ओरालेको झझल्को पाइन्थ्यो । हेटौडाको धार्मिक पर्यटकीय सम्भावनालाई उजागर गर्न उक्त कुष्माण्ड सरोबर क्षेत्रमा हरेक वर्ष यज्ञ लगाउने कार्यक्रम सञ्चालन हुने कुरा उनी बताउँदै थिए । त्यहाँ उनले व्यक्त गरेका विचारहरु पर्यटकीय व्यापारको दृष्टिकोणबाट महत्वपूर्ण भएको हामी सबै सहभागीहरुले महशुस गरिरह्यौँ । अनि अरुणले हामीलाई हेटौडा एकेडेमी पु¥याए, यो उच्च मा.वि.मा विद्यार्थीहरुलाई नैतिक सांस्कृतिकरुपले पनि सम्पन्न बनाउने, विदेशी विद्यार्थीहरुलाई पनि टार्गेट गरेर अगाडि बढ्ने उनको योजना सुन्दा मलाई आनन्द लागिरह्यो । लगत्तै सुमार्गी परिवारको लगानीमा निर्माण हुँदै गरेको राप्ती किनारैकिनार बाइपास बाटो हुँदै तिरतिरे धारा छेउबाट हामी उनको क्रसर उद्योगसम्म पुग्यौँ । ढुङ्गागिट्टी क्रसर उद्योगले राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावको बारेमा अरुण बोल्दै थिए भने मैले त्यस उद्योगले वातावरणमा पार्ने प्रभावको जिज्ञासामा उनले नकारात्मक वातावरणीय प्रभावलाई न्युनिकरण गर्न आफूले पर्याप्त ध्यान दिएको बताए । ‘उद्योगले पार्ने नकारात्मक प्रभावको कुरा गर्दैगर्दा यसले पारेको सकारात्मक प्रभावको पनि हिसाब हुनुपर्छ’ उनले थपेको कुरा मलाई मनप¥यो । किनभने हाम्रा कतिपय जलविद्युत् आयोजनाहरु यही कारण कार्यान्वयन हुनबाट पन्छाइए र हाल हामी अँध्यारोमा बस्न बाध्य भएका छौँ ।

खाना खाने बेला भएको थियो र हामीले खाना खाइसक्दा नसक्दै ने.क.पा. एमाओवादीका केन्द्रीय सल्लाहकार रामनारायण विडारीसहित प्रकट भए अजय सुमार्गी । उनले केहीबेर आफ्ना विचार राख्दै गर्दा सहभागी अतिथि काव्यकर्मीहरु निकै प्रभावत भए । अजय सुमार्गीको भलाद्मीपन, सादा विचार र आध्यात्मिकताले भरिएको थियो । उनको विचार राष्ट्र, राष्ट्रियता, आपसी सद्भाव, आफ्नो धर्म–संस्कृतिप्रति निर्बाह गर्नुपर्ने कर्तव्य र जिम्मेवारीपूर्ण भावले भरिपूर्ण थियो । अनि हामी आ–आफ्ना गाडीमा चढ्दै गर्दा बिदा गर्न सिङ्गो सुमार्गी परिवार हात हल्लाउदै थियो । दिउँसोको तीन बजे हामीले हेटौडा छोड्दै गर्दा हलुका वर्षा हुँदै थियो र हाम्रो हृदयमा फरक अनुभूति आविर्भाव भइरहेको थियो । यो साहित्यिक भ्रमणको तारतम्य र संयोजन गर्ने पुरु रिसालको अनुहारमा पर्याप्त सन्तोष झल्किएको मैले महशुस गरेँ भने बाँकी सहभागीहरु सुमार्गी परिवारको हार्दिकता र सरलपनको तारीफ गर्दै केही नयाँ कुरा सिक्न पाएको कुरा बताउँदै काठमाण्डौतिर उकालो लाग्दै थिए । म भने माइक्रो बसको पछिल्लो सिटमा नारायाण गोपालको गीत गुन्गुनाउँदै आएँ ः मैले पुण्य मन पराएँ या पाप मन पराएँ....।

(राजधानी दैनिक,१२ फागुन२०६९ मा प्रकाशित