Monday, December 30, 2013

कवि, पागल र प्रेमिका


काफलको बोटजस्तै
सर्लक्क र झ्याम्म परेको
टाढैबाट मन-मुटु चोर्ने
सोझो र उज्ज्यालो
तिमीलाई असीम प्रेम गर्ने
आहा त्यो हृदय !
आफ्नो अनुपम् प्रेमीलाई
आभा,
छोडिदेऊ/त्यागिदेऊ/धोका देऊ हृदयलाई
आज
देशलाई एउटा कवि चाहिएको छ !

हृदय टुक्रिओस्
छिया-छिया होस्
विदीर्ण होस्
अनि आँशुले कविता लेखोस्
र बाँडोस् प्रसन्नाता व्यथितहरुलाई
आभा,
छोडिदेऊ/त्यागिदेऊ/धोका देऊ हृदयलाई
आज
देशलाई एउटा कवि चाहिएको छ !


:नरेन्द्र पराशर

Tuesday, December 3, 2013

एउटा लठेप्रो समय


ग्रीष्मको मध्यान्हमा

धूलो उडाउदै हिँड्नु

हिँउदको मध्यरातमा

डाँको छोडेर रुनु

आफ्नै विश्वासको नौनीमा           

चिप्लिएर लड्नु

झिना-मसिना

काला कर्तुतहरु

छ्याप्छ्याप्ती छन्

तिम्रै छेउछाउमा !

 

भींड खोज्दै हिँड्ने गोडाहरु

ब्वाँसो खोज्दै हिँड्ने भेडाहरु

वा संसदको चुनाब

वा भावरको सुक्खा

अथवा शिरैमाथि खस्दै गरेको ढुङ्गो

ओइलाएको लाहुरे फूल

त्यसमा रमाएको

निकृष्ट चेतना

हारेको साँढे  

आत्महत्यामा प्रेरित कुरुपताका सौंन्दर्यहरु

कापुरुषताका नपुंसकताभित्र (न) चलमलाउने वीर्य

कुनै आँडे कविताजस्तै

(न)हेर

बजार मृतप्राय: छ

तर पनि बजार सक्रियताको नाममा जिउ मढार्छ

एउटा लठेप्रो समय !