Tuesday, May 20, 2014

सिल्भियाप्रति


१. ओ सिल्भिया,
दावालन  विभीषिका
तिम्रो कविताको विद्रोह 
ब्रह्माण्डको कानमा गुञ्जिइरहन्छ
तिम्रो आत्महत्याको 
सङ्गीत । 

२. ओ सिल्भिया,
दुःस्व्प्नको पारावारमा 
सुक्खापन, उकुसमुकुस र मृत्यु 
सुकेको रुख र मृत चरा देखेर 
मुस्कुराउने
तिम्रो कविताको आगो 
संवेदनाको जङ्गलमा दन्किइरहन्छ
तिम्रो अग्रगमनको 
दारुण पदचाप । 

३. ओ सिल्भिया, 
तिमी जून फुटाएर
तारा बनाउँछ्यौ 
र ताराहरुको धूलो शरीरमा छर्किएर
सर्वाङ्ग सत्य–नग्नताको बिस्कुन सुकाउँछ्यौ 
अनि छाउँछ हृदयभरी 
तिम्रो काव्य–शातील्यको 
मृत्युमय शान्ति ।

४. ओ सिल्भिया,
फूल च्यातिहिँड्ने
  विरुप पागलपनको 
अकल्पनीय कविता
त्यस कविताको प्रसाद, ओज, आभा र गरिमा 
आज पर्यन्त चिहानघरबाट 
चिच्याइरहन्छ 
तिम्रो आत्महत्याको सङ्गीत ।।

ःनरेन्द्र पराशर

Monday, May 5, 2014

सुनाखरी: प्रेम, जीजीविषा र सौन्दर्य




प्रेम चट्टानमा दिव्य कल्पनाकी सुनाखरी
झुन्डिन्छे सत्य-सौन्दर्य आविर्भाव हुने गरी
।।।।

सपना प्रेम आनन्द जो बाँड्छे विपना सरी
चिम्ली आँखा सधैँ हेर्छु मुटुकी यो सुनाखरी
।।२।।

भीरमा न त आत्तिन्छे शून्य-एकान्तमा परी
मधु-माधुर्य मात्तिन्छे प्रेमसिक्त सुनाखरी
।।३।।

यही जीजीविषा प्यारी यही आत्मीय मञ्जरी
मूर्दामा भर्दछे प्राण यही प्यारी सुनाखरी 
।।४।।


: नरेन्द्र पराशर
छन्द : अनुस्टुप्