Thursday, July 23, 2026

पानीको फोको

घामको सूक्ष्म किरणमा
झिलिमिली जीवनको संरचना बोकेर
हावा र पानीको जुधाइको कोमल स्पर्शमा
जन्मिन्छ पानीको सतहमा
अद्भुत आनन्द;
हराउँछ फेरि समयको अदृश्य गर्भमा
पानीको फोको।।

अपरिमेय कथा बोकेको क्षणभङ्गुर जीवन
क्षणमै देखाउँछ अस्तित्वको गहिरो दर्शन,
आकाशलाई अँगाल्ने अभिलाषा
धरतीमै बिलाउने नियतिको यथार्थ;
आफूलाई अड्याउन खोज्दाखोज्दै फुट्छ
पानीको फोको।।

विनम्र रहँदा झल्कन्छ ब्रह्मकमलको स्वरूप
जलतरङ्गको गतिसँगै बग्दै जाने अस्तित्वसँगै
गन्तव्यहीन यात्रामै रम्छ,
नाशलाई सन्निकट देखेर पनि निर्भय
लय–विलयको|
उत्पाद–क्षयको
एउटा सदाबहार स्रोत
पानीको फोको।।

(२०८३ असार १८ मा साहित्यपोस्टमा प्रकाशित ।)

मुस्कान महिमा


हाँसेर बाँच्नलाई चाहिन्न धेर केही
चाहिन्छ एक प्यारो आनन्द चित्त स्नेही
जम्मा गरेर सारा आकाश जूनतारा
पोल्टो भरेर राख्दा चम्किन्न है शितारा
।।१।।

मुस्कान नै उज्यालो हो फूलको वसन्त
जो निष्प्रयास फुल्ने आनन्द हो अनन्त
छोडेर हीनताका रोजौँ नवीन भाका
मुस्कानले सजेका बोकेर ओठ आँखा
।।२।।

चाहन्छ उड्न पक्षी आकाशमा, तथापि
छोपेर पिन्जरामा बन्दी नहोस् कदापि
च्याप्दा नचाहिँदा ती कुर्सी र मान धेर
मर्नेछ दिव्य आत्मा ध्वाँसो धुलो जमेर
।।३।।

ओडार साँघुरो त्यो छोडेर निस्किजाऊ
सन्ध्या–उषा खुलेको आकाश हेर्न आऊ
संसार जित्नलाई यो जिन्दगी नहार
सानन्द बाँच्नलाई मुस्कान यो नमार
।।४।।

छन्द ः दिक्पाल

२०८२ असार १९ मा साहित्यपोस्टमा प्रकाशित ।

https://archive.sahityapost.com/kabyapost/kabya-poetry/173579/?

नित्य उन्मुक्त जीवन


म मेरै मार्गमा हिँड्छु सुसेल्दै मस्त हल्लिँदै
उड्छु आनन्द आनन्द धूलोजस्तै बतासिँदै !
।।१।।

जमेको पोखरीजस्तो लेउ बोकेर बाँच्दिनँ
झरना झर्छु फैलिन्छु स्थिर जीवन बाँच्दिनँ !
।।२।।

रोज्दै हिँड्दिनँ है प्यास तृष्णा माग्दिनँ क्रन्दन
बाँड्छु आनन्द आनन्द छन्द स्वच्छन्द नन्दन !
।।३।।

घरभित्र सियो झारी खोज्दै हिँड्दिनँ बाहिर
हिराको भित्र खानी छ सिक्का टिप्दिनँ बाहिर !
।।४।।

भित्र आनन्दको खोला ध्यान–डुङ्गा खियाउँछु
प्रज्ञाको झ्याल खोलेर प्रेमलाई चियाउँछु !
।।५।।

खोज्दै हिँड्दिनँ है मुक्ति रोज्दै हिँड्दिनँ बन्धन
म मेरै मार्गमा मस्त नित्य–उन्मुक्त जीवन !
।।६।।

छन्दः अनुष्टुप् 

२०८२ श्रावण ८ मा साहित्यपोस्टमा प्रकाशित ।

https://archive.sahityapost.com/kabyapost/kabya-poetry/174894/?

 

भीडभन्दा पर




भीड आफैँ अँध्यारो हो दृष्टिविहीन हो स्वयम् ।
भीडमा मान आनन्द खोज्ने नै दीन हो स्वयम् ।।
।।१।।

यश, मान, सुरक्षाको दिन्छ विभ्रम भीडले ।
ब्युँझिँदा बेर भैसक्छ हान्दा थप्पड सत्यले ।।
।।२।।

पुग्छन् मान्छेहरू आफ्नो तौल नाप्न तराजुमा ।
शुद्ध तौल त नापिन्छ साँचो एकान्त ठाउँमा ।।
।।३।।

शान्ति एकान्तमा बस्छिन् एक्लै आनन्द बस्दछ ।
भीडमा पस्छ जो मान्छे  भ्रममा खस्छ अन्ततः ।।
।।४।।


(साहित्यपोस्ट डट कममा प्रकाशित २०८३ असार २४) 

(https://sahityapost.com/post/kabita-bhidbhanda-para)