धेरै भीड बढ्यो सबै सहरमा, बाटा भए साँघुरा
मान्छेको पनि साँघुरो मन भयो, पाखण्डले उर्वरा
ठूला मोटर, भट्भटे, ट्रक कुदे, आँखै नहेरी कन
प्यारो सुन्दर शिष्ट साइकल यो, गर्दैछ है क्रन्दन ।।
।।१।।
यो तूफान विकासयुक्त युग हो, इन्जीनको यन्त्रको
नाफाको द्रुत शान, मान, मदको, आकण्ठ पाखण्डको
बाटामा क्षयरोगग्रस्त गरिवी–जस्तै भएको भनी
प्यारो सुन्दर शिष्ट साइकल यो, रूँदै बसेको छ नि ।।
।।२।।
ए लूरे किन आउँछस् नजिकमा, मर्लास् उता जा पर
जा जा जा पर जा यता वर नआ, भन्छन् सबै मोटर
ठूला वाहनका बडा गजबका, दादागिरी छन् अति
प्यारो सुन्दर शिष्ट साइकल यो, भोग्दैछ है दुर्गति ।।
।।३।।
धूलो त्यो नउडाउने न त धुवाँ, हल्ला नगर्ने कतै
जाती जो छ अचम्म सेवक भई, आनन्द छर्ने सधैँ
के फिर्ला दिन फेरि साइकलको, यो काठमाण्डौँभरि ?
प्यारो सुन्दर, शिष्ट साइकल यो, गुड्ला त बाटो भरी ?
।।४।।