Wednesday, November 22, 2017

झोला पुरानो भयो !





प्यारो चट्ट नयाँ सुरम्य छरितो, झोला अनौठो थियो

छाम्दा हात लिँदा सदैव रसिलो, आनन्द बर्साउँथ्यो ।
त्यो बेला कति चम्किलोपन थियो, हेर्दै उज्यालो थियो
यो बेला तर जीर्ण देख्छु बिचरो, झोला पुरानो भयो ।।
।।१।।

बोक्यो रोग र भोक–शोक सपना, बोक्यो सधैँ जीवन

बोक्यो हर्ष र आश–त्रास यसले, संघर्षको दर्शन ।
त्यो बेला बलियो नयाँ पनि थियो, भारी सबै बोक्दथ्यो
यो बेला तर दीन–हीन छ कठै १ झोला पुरानो भयो ।।
।।२।।

धोए स्वच्छ हुने थियो समय त्यो, हुन्थ्यो सफा टल्किने

बोक्दा अन्तर–आँतमा कुसुमको आनन्द झल्का दिने ।
लाग्थ्यो है अब च्यातिँदैन कहिल्यै, उध्रेर ऐले गयो
आशा गर्छ सहानुभूति यसले, झोला पुरानो भयो ।।
।।३।।

बोक्यो है सहजै अनेक ननिका बोक्नै नमिल्ने कुरा

धायो धूसर पङ्क–पांशु नभनी मैदान औ टाकुरा ।
लाग्थ्यो है चुहिँदैन हेर कहिल्यै, ऐले चुहुन्ते भयो
आफ्नै जीवन हो कि हो कि जसरी, झोला पुरानो भयो ।।
।।४।।


No comments:

Post a Comment