Sunday, March 24, 2013

‘यायावर’को यात्रा




मुग्लिङदेखि नौबिसेबीचको कुनै स्थानमा रहेको प्रहरी कार्यालयको इन्स्पेक्टर प्रताप उपन्यास यायावरको पहिलो पात्र हो । पहिलो पात्रको पहिलो वाक्य नै अपशब्दसहित उपन्यास अगाडि बढ्छ । राजमार्गमा बेफिक्री गुडिरहेका अनेक प्रकारका गाडीहरू तिनको हर्न र इन्जिनको कर्कश आवाजले प्रताडित भइरहने प्रतापले राति कार्यालय परिसर छेउछाउ भयानक आवाज सुन्छ र बस खसेको ठहर गर्छ । अनि ऊ उद्धारका लागि आफ्ना मातहतका जवानहरू लिएर पिचमा टायर घस्रिएको संकेत हेर्दै त्रिशूली नदीतिर लाग्छ । अँध्यारोमा छामछुम गर्दै निकै दुःख गरेर वीभत्सरूपले बस पल्टिएको ठाउँसम्म पुग्ने क्रममा उसले एउटा झोला भेटाउँछ र यसो खोलेर हेर्छ । त्यसमा नोटका बिटा दखेर ऊ त्यस झोलालाई राम्ररी काँधमा भिर्छ र जवानहरूलाई राम्ररी खट्ने आदेश गरेर स्वयं ऊ भने निवासतिर उकालो लाग्छ । उसले निकै सजग र सतर्क भएर उक्त झोला खोल्छ । त्यसमा वैकुण्ठ नामको नागरिकतातीन लाख रूपैयाँका अतिरिक्त एउटा पेन ड्राइभ पनि फेला पर्छ । कम्प्युटरमा खासै ज्ञान नभएको प्रताप स.इ राजारामको सहयोगले पेन ड्राइभ खोल्छ । जम्मा जम्मी दुईवटा फोल्डर भएको  पेन ड्राइभमा एउटामा बच्चुकैलाशका गीतहरूको सङ्कलन हुन्छ भने अर्कोमा गोप्य लेखिएको हुन्छ । यही गोप्य लेखिएको फायल फन्टको समस्याका कारण आफैँ खोल्न नसकेकोले प्रतापले फायल खोल्न स.इ. राजारामको सहयोग लिन पुगेको हुन्छ । अब प्रताप त्यही गोप्य फायल गोप्य तरिकाले पढ्न थाल्छ र सुरू हुन्छ उपन्यास यायावरको मूल यात्रा ।

यायावर । बृहत् नेपाली शब्दकोशअनुसार यायावर भन्नाले जीवनमा विभिन्न ठाउँमा घुमिरहनेफिरन्ता व्यक्तिसन्यास आश्रमको योगीमहन्त भन्ने अर्थ जनाउँछ । यसर्थ म यायावर भन्नेबित्तिकै जानीनजानी राहुल सांकृत्यायन र योगी नरहरिनाथलाई सम्झिन पुग्छु । संस्कृतको यस तत्सम शब्दभित्र रहेको महिमा र गुणले मलाई पनि कता कता हृदयको अन्तस्करणमा छोइरहेको महशुस हुन्छ ।

ब्रजेशको यायावर खासमा दुर्घटनास्थलमा भेट्टाएको पेन ड्राइभमा रहेको वैकुण्ठ(को आत्मकथा) नै हो । अनि त्यही वैकुण्ठले बाल्यकालदेखि खासगरी किशोरावस्थादेखि भोगेको जीवनयात्राको आरोहअवरोह नै यस उपन्यासको स्थापत्य हो । ब्रजेशको यस यायावर उपन्यासको मन्दिरमा प्रेमकी प्रतिमूर्ति जुनेलीबनेकी छे भने त्यसको मर्माहत भक्त स्वयं वैकुण्ठ ।जीवनको दौडाहामा निरन्तर सक्रिय रहे पनि कहिल्यै नायक बन्न नसकेको वैकुण्ठको जीवन कहानीमा कालो रामभयङ्कर खलपात्रका रूपमा खडा भएको छ । यस्तो खलपात्र जो हिन्दी चलचित्र सोलेको गब्बर सिंहबाट अनन्तरूपले प्रभावित छ । यही खलपात्र कालो रामकै कारणले वैकुण्ठ आफ्नो जीवनको संवेदनशील क्षणहरूमा सदैव विचलित भइरहन्छ । खासमा भन्ने हो भने कालो रामले वैकुण्ठको जीवन नै तहसनहस बनाइदिएको छ ।

वैकुण्ठ विवाहित हो । किशोरवयको उद्भवसँगै आविर्भाव भएका बैँसका काउकुतीमय चाहनाको स्मरण भएदेखि नै उसले चमेलीलाई मनमात्र पाराएन चमेलीसँगै विवाह गर्ने सुन्दर मौका पनि पायो । तर उसले चमेलीलाई भोग्न किन पाएन यही प्रश्नको वरिपरि उपन्यासको सिङ्गो कथानक घुमिरहन्छ । बिहे गरेको छैन, तर कुमार पनि होइन भन्ने कुरा त हामी माझ नौलो छैन । तर वैकुण्ठ त विवाहित हो र कुमार पनि । यही नौलोपन नै यायावरको रहस्य हो ।
 
यही विवाहित जीवन र कौमार्यबीचको यौनकुण्ठाद्वारा अवचेतन मनबाट सक्रिय वैकुण्ठ मनका अनेक धामहरूमा घुमिरहन बाध्य हुन्छ । यही परिभ्रमणकै क्रममा अनेक रुचि र स्वभावका पात्र(भैरे, मेनुका, नारद)हरूसँग उसको जम्काभेट हुन्छ । यी पात्रहरूले उसको जीवनमा विशिष्ट अर्थ पनि राख्छन् ।
 
यस उपन्यासमा उपकथाका रूपमा क्षणभरका लागि देखिएका पात्रहरूमध्ये गाउँको स्कूलमा भूगोल पढाउन आइपुगेका नारायण सरको बोल्ने शैली सम्झन लायक छ ।

जे सुकै परोस् भन्ने उद्धेश्यले निकै हिम्मत जुटाएर वा आफू कमजोर छैन भन्ने देखाउन वैकुण्ठ अफिसकै साथी नारदको पछि लागेर बेश्याहरूको अखडामा पनि पटकपटक पुग्छ । तर पनि ऊ जस्तो पवित्र शरीर लिएर पुगेको हुन्छ उही पवित्रतासहित डेरामा आइपुग्छ र आफ्नै मनको आन्तरिक द्वन्द्वमा फसिरहन्छ । ऊ खासमा भौतिक शरीरको वासनापूर्ण यौनिक चाहना र हृदयको पवित्र प्रेमबीचको अन्तरद्वन्द्वमा रूमलिइरहेको हुन्छ ।

यस उपन्यासले तीशको दशकदेखि यताको काठमाण्डौँ र धादिङको सामाजिक, पारिवारिक, आर्थिक, राजनैतिक, भौतिक वातावरणलाई विविधरूपले सम्बोधन गरेको छ । समग्रमा भन्ने हो भने अस्तित्ववादी दृष्टिकोणले प्रेरित तथा चरित्र र घटनालाई उत्तिकै महत्व दिएर तयार भएको यस उपन्यासको संरचना छिटोछरितो अनि सङ्गठित देखिन्छ । सरल भाषा, भाषामा प्रयुक्त दार्शनिकता र सुक्तिमयताले उपन्यासलाई पठनीय बनाएको छ । साथै यौन र प्रेमको गहन मनोविज्ञानले उद्विग्न मूलपात्र वैकुण्ठको मनोद्वन्द्व र धादिङ अनि काठमाण्डौँको परिवेशले पाठकमा अहर्निश कौतुहल जगाइरहन्छ ।

 :नरेन्द्र पराशर

No comments:

Post a Comment