Thursday, March 28, 2013

मातृभूमि रिझाइद्यौ

 

 
नानीबाबु तिमी प्यारा ईशकै वरदान हौ
दिई ध्यान पढे राम्रो राष्ट्रकै स्वाभिमान हौ ! ।।१।।

सानालाई गरी माया गर मान बडाकन
गुरुलाई गरी श्रद्धा गुणग्राही सधैँ बन  ! ।।२।।

राम्रो आफूसँगै हुन्छ नराम्रो पनि साथ नै
गुण राम्रो सपारेर नराम्रोपन त्याग है ! ।।३।।

गढ्नुपर्दछ है भित्र श्रम तथा विचारमा
तैरिएका हुँदै हुन्नन् मुगामोती समुद्रमा ! ।।४।।

दृश्य पुस्तक हो खुल्ला ऋतु नै पढ्नुपर्दछ
बुझ्न उचाइको मर्म हिमालै चढ्नुपर्दछ !।।५।।

नानीबाबु तिमीभित्र लुकेको छ गुलाव नै
फक्र, फूल, उडी बास्ना ढाकिदेऊ अकाश नै ! ।।६।।

चारैतर्फ गरी खोज, रोज उत्साह सत्यको
ताजा तेज निकालेर राख इज्जत देशको ! ।।७।।

घामको पहिलो झुल्काजस्तै लाली फिँजाइद्यौ
ज्ञानविज्ञान, विद्याले मातृभूमि रिझाइद्यौ ! ।।८।।


:नरेन्द्र पराशर
 

No comments:

Post a Comment