नेपाल प्रज्ञा मञ्चको सोह्रौँ पूर्ण बैठक असाधारण रूपमा गम्भीर थियो । कार्य समितिका १५ सदस्यमध्ये आठ सदस्य उपस्थित उक्त बैठकको अध्यक्षता गरिरहेका थिए युधिष्ठिर आत्रेय । सचिवले विगत छ महिनामा गरिएका कार्यक्रम र त्यसमा सहभागी साहित्यकार र सर्वसाधारणको तथ्याङ्क प्रस्तुत गरे । कोषाध्यक्षले आय‐व्ययबारे बताइन् । अन्त्यमा बैठकले आगामी कार्यक्रम तय गर्न तीन प्रस्ताव प्रस्तुत गर्दै आत्रेयले प्रस्तावको अन्तिम बुँदा पढे, “राष्ट्रिय कविता प्रतियोगिता आयोजना गर्ने सम्बन्धमा ।”
“हामीले हरेक वर्ष कविता प्रतियोगिता गर्दै आएका छौँ । तर यसपटक केही व्यापक र फरक ढङ्गले गरौँ ।” आत्रेयले थपे ।
उपस्थित सदस्यहरूले सहमति जनाए । सदस्य काव्यगम्भीर शर्मा र नन्दिनी चञ्चलाले करीव उस्तै प्रकारको सुझाव पेश गरेः
“यसप्रकारका कविता प्रतियोगिता सञ्चालन गर्दैगर्दा सधैँ विवाद आइरहेको छ । निर्णय पारदर्शी हुँदैन, नातावाद, कृपावाद चल्छ भन्ने आरोप आइहाल्छ । हामीेले पटक पटक दोष सहनु परेको छ ।” नन्दिनीले निधारमा झरेको केश पछाडि सार्दै मन्द मुस्काएर भनिन् “कविको नाम हेरेर होइन, कविता हेरेर निर्णय हुने व्यवस्था गर्नसके ठीकै हुन्छ । अन्यथा यस्तो कार्यक्रम नै नगरौँ ।”
लामो छलफलपछि अन्ततः प्राज्ञिक जगत्को ध्यानाकर्षण गर्नेगरी एउटा व्यवस्थित र भव्य कार्यक्रम सञ्चालन गर्ने निर्णय भयो, जसको परिणाम केही महिनापछि नेपाली साहित्यिक इतिहासमा एउटा असहज प्रश्न बन्नेछ भन्ने कुरा बैठकमा उपस्थित कसैलाई थाहा थिएन ।
“स्वतन्त्र अभिव्यक्तिः मौलिक सिर्जना ।” मूल नारा राखेर “राष्ट्रिय कविता प्रतियोगिता‐२०८३” शीर्षकमा राष्ट्रव्यापी कविता प्रतियोगिताको लागि मञ्चले कविता दुई सय शब्दसम्मको हुनुपर्ने, कुनै पनि माध्यमबाट पूर्व प्रकाशित नभएको, मौलिक, तोकिएको मितिसम्म प्राप्त र रीत पुगेको कवितामात्र स्वीकार गरिने आदि इत्यादि आवश्यक नियमको व्यहोरासहित सूचना जारी ग¥यो ।
सूचना प्रकाशित भएपछि राजधानीदेखि गाउँसम्मका कविहरू उत्साहित भए । सामाजिक सञ्जाल तात्यो किनभने पुरस्कार राशि आकर्षक थियो ः प्रथम हुनेलाई दुई लाख, द्वितीयलाई एक लाख पचासहजार र तृतीयलाई एक लाख धनराशि तोकिएको थियो ।
अन्तिम मितिसम्म मञ्चको इमेलमा असी वटा कविता आइपुगे ।
तीमध्ये तेईस वटा कविता महिला कविहरूका थिए । अर्को संयोग पनि रोचक थियो असी वटै कविता गद्य कविता थिए । यो प्रतियोगिता सम्पन्न गर्न कविता सङ्कलन गर्ने, तिनको कोडिङ गर्ने र निर्णायक मण्डलसमक्ष पेश गर्ने जिम्मा मञ्चका सदस्य काव्यगम्भीर शर्मामा थियो । उनले ईमेलमा प्राप्त सबै कविताहरू प्रिन्ट गरी अलग अलग फाइल बनाएर समितिका सदस्यहरूबीच ठट्यौली गर्दै भने “यो आफैँमा एउटा युगको बलियो दस्तावेज हो । छन्द लगभग हराएछ ।”
नन्दिनी चञ्चला हाँसिन् र भनिन् “छन्द हराएको हो कि कविहरू छन्दबाट भागेका हुन्, त्यो चाहिँ पछि थाहा होला ।”
प्रतियोगिताको स्वच्छता कायम राख्न निर्णायक मण्डलका सदस्यहरूले कुन रचना कसको हो भन्ने थाहा पाउन सक्दैनथे । मञ्चले निर्णय गरेको थियो ः निर्णायकहरूले कविको नाम थाहा पाउने छैनन् । प्रत्येक कवितालाई एउटा गुप्त सङ्केतकोड दिइएको थियो । कविता नम्बर ००१, कविता नम्बर ००२ । कविता नम्बर ००३...यसरी नै ००८० सम्म ।
तीन सदस्यीय निर्णयक मण्डलमा थिए मन्दाकिनी रजनी, डा. रसकमल प्रसन्न र भद्र प्रकाश । मन्दाकिनी रजनी प्रतिष्ठित कवि हुनुका साथै त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयकी प्राध्यापक थिइन् । त्यस्तै डा. रसकमल प्रसन्न वरिष्ठ समालोचक र काव्यमर्मज्ञको रूपमा प्रख्यात व्यक्तित्व थिए भने भद्रप्रकाश नेपाली भाषा साहित्यमा लामो समयसम्म सेवा गरेका प्रतिष्ठित लेखक थिए र गृह मन्त्रालयमा लामो समय सेवा गरेका थिए ।
होटेल माउन्टेन भ्यु नगरकोटमा तीन दिनसम्म बस्नेखाने व्यवस्थासहित उनीहरूलाई प्रतियोगितामा सहभागी कविहरूको नाम, ठेगाना, उमेर, लिङ्ग, परिचय केही पनि नदिई कविताको फाइल जिम्मा लगाइयो । होटल माउन्टेन भ्युमा यी तीन निर्णयकहरूले सबै कविताहरूलाई कसरी मूल्याङ्कन गर्ने भन्ने विषयमा लामो छलफल गरे ।
–––
बृहत् छलफलपछि अन्ततः उनीहरूले मूल्याङ्कनका आठ आधार बनाएः
विषयवस्तु र भावबोध, मौलिकता र सिर्जनात्मकता, भाषा र शब्दचयन, बिम्ब, प्रतीक र कल्पना, काव्यशिल्प र संरचना, लय र ध्वनिमाधुर्य, भावात्मक प्रभाव, समग्र काव्यात्मक प्रभाव । यी आधारमा प्रत्येक कवितालाई १०० पूर्णाङ्कमा मूल्याङ्कन गरियो । दोस्रो दिन बेलुका पहिलो चरण सकिँदा एउटा कुरा स्पष्ट भयो । असीमध्ये १० कविता अरूभन्दा धेरै स्तरीय थिए । दश कविता छानिसकेपछि विदुषी निर्णायक मन्दाकिनी रजनीले भनिन्,
“यी दश कवितामा काव्यको प्राण छ ।”
“ठीक भन्नुभयो । यी दश कविताभित्र नेपाली कवितारचनाको बाटो बदल्न सक्ने शक्ति छ ।” डा. रसकमल प्रसन्नले मुस्कुराएर भने ।
“यी कविताहरू समकालीन नेपाली काव्यसंसारको लागि नयाँ क्षितिज खोल्ने कुञ्जी हुन् । जति पढ्यो उति रहस्यमय लाग्छन् ।”
भद्र प्रकाशले मुस्कुराउँदै भने,
“त्यही नै यो प्रतियोगिताको चमत्कार साबित हुनेछ ।”
यसरी दश कविता अन्तिम चरणमा पुगे ।
बेलुका निर्णायक मण्डलका सदस्यहरूले हलुका मदिरा पानको रमझममा यी कविहरू को को होलान् वा हुनसक्छन् भनेर अड्कल गरे । यी अड्कलमा आएका नामहरू यसप्रकार थिए ः कवि तृषा भट्टचन, कवि कोमलांग विक्रम, कवि अनुपा राई, कवि विरोचन, कवि चट्यांग, कवि दोरंगा स्वामी, कवि विराट आकाश, कवि राज्याभिषेक, कवि मेधावी मेघ, कवि धीरजजी आदि इत्यादि । तर कुन कविता कसको होला भनेर यकीन गर्न नसके पनि ती कवितामा रहेका वैचित्र्यमाथि उनीहरुले कुराकानी गरिरहे ।
आफूहरूले अनुमान लगाएका कविहरूकै रचना भए पनि वा नभए पनि, जसको कविता भए पनि सुन्दर र मर्मस्पर्शी कवितामाथि छलफल गर्न पाउदा उनीहरू आनन्दित थिए । उसमा पनि आयोजकले सुविधापूर्ण ठाउँमा पर्याप्त खर्च व्यहोरेर काम गर्ने वातावरण तयार गरदिएको थियो ।
आयोजकका अनुसार स्तरीय तीन कविता छान्नु थियो । अन्तिम तीन कविता छान्न निर्णायक मण्डल तेस्रो दिन बिहानदेखि नै सक्रिय भयो । दोस्रो चरणमा चार नयाँ आधार तय गरिएः वैचारिक भावको गहिराइ, भाषिक कलात्मकता, बिम्बको नवीनता र समग्र काव्यात्मक प्रभाव । तीन निर्णायक गहिराइबाट फेरि मूल्याङ्कन गरे । आफूले दिएको अङ्कको आधार प्रस्तुत गरे र सहभागितामूलक ढङ्गबाट पुनः मूल्याङ्कन गरे । घण्टौँ छलफल भयो ।
बीच बीचमा विवाद पनि भयो । तर पनि विदुषी मन्दाकिनीले विषयलाई नियन् त्रण गर्दै समन्वय गरेर वातावरणलाई सहज बनाइन् । एकपटक त कतिसम्म भयो भने एउटा कविताको एउटा पङ्क्तिमाथि आधा घण्टासम्म बहस भयो ।
अन्ततः तीन कविता अगाडि आए ।
प्र्रथम “शून्यको गर्भमा ब्रह्माण्डको गर्जन”
द्वितीयः “पानीले भिजेको आकाश”
तृतीयः “अन्तिम रूखको पहिलो फूल”
निर्णायक मण्डलले आफ्नो मूल्याङ्कनको सम्पूर्ण प्रक्रियासहित निर्णयको फायल आयोजकलाई बुझाए ।
२०८३ माघ ३ गते विजेताको नाम घोषणा भयो ।
प्रथम ः अमृतांशु अधिकारी “शून्यको गर्भमा ब्रह्माण्डको गर्जन”
द्वितीय ः अंशुमाला रागिनी “पानीले भिजेको आकाश”
तृतीय ः मनोज ताम्लांग “अन्तिम रूखको पहिलो फूल”
नयाँ कविहरूको उदय भएको कुरा एकाएक सामाजिक सञ्जालमा फैलियो । धेरै मान्छेहरूले धेरै प्रकारले यो नतीजाप्रति टिप्पणी गरे । ती टिप्पणी र प्रतिक्रियाहरू हेर्दा सकारात्मकता तथा नकारात्मकताको त्यहाँ कुनै सीमा थिएन ।
माघ ७ गते छनोट भएका कविताहरूको वाचन र पुरस्कार वितरण कार्यक्रम निर्धारित समयभन्दा आधाघन्टा ढीलो सुरु भयो । मञ्चका अध्यक्ष युधिष्ठिर आत्रेयले सभाको सभापतित्व ग्रहण गरे । सरकारी प्रज्ञाप्रतिष्ठानका प्रतिनिधिहरू, विभिन्न साहित्यिक संघ संस्थाहरूका प्रतिनिधिहरू, काव्यप्रेमी, साहित्यानुरागीहरूले भरिएको सभाकक्षमा प्रतियोगितामा तेस्रो स्थान प्राप्त गर्न सफल कविता “अन्तिम रूखको पहिलो फूल” वाचन गर्न कवि मनोज ताम्लांग मञ्चमा पुगे । यथायोग्य सम्बोधनपछि उनले भने ः यो कविता मान्छेहरूविरुद्ध लेखिएको कविता हो । त्यसैले दर्शकतिर फर्किएर म यो कविता सुनाउन सक्दिनँ ।
उनले पोडियममा राखिएको माइक उठाए र भित्तातिर फर्किएर आफ्नो कविता नाट्य अभिनयसहित सुनाए ।
भित्तापट्टि फर्किएर कवि मनोजले कविता वाचन गरे । सबै छक्क परे । सबै स्तब्ध भए । कविता सुन्दर थियो । जब कविता वाचनको आवाज सभाकक्षमा गुञ्जियो सबै चकित भए । कविताको भाव, विचार, लय, शैली, शब्द सबै सबै स्तरीय थिए । तर कविता वाचनपश्चात् सभाकक्षमा हो हल्ला भयो । नहोस् पनि किन ? जब कि आजसम्म कुनै पनि कविले दर्शकतिर पिठ्युँ फर्काएर कविता सुनाउने दुस्साहस गरेकै थिएन । दर्शक, श्रोताको अपमान भएको, यस्तै बेढङ्गी तरिकाले कसरी सभ्यता जोगाउँछ ? यो के पारा हो ? भन्दै हो हल्ला भयो । आयोजकले स्थिति सम्हाले । केहीबेरको असहजतापछि कार्यक्रम फेरि अगाडि बढ्यो ।
प्रतियोगितामा द्वितीय हुने कवि अंशुमाला रागिनीको “पानीले भिजेको आकाश” भन्नेबित्तिकै सभाकक्षमा उत्तेजना फैलियो । हो हल्ला भयो । ताली र सिट्टी एकसाथ बजे । अंशुमाला रागिनी एउटा विज्ञापन एजेन्सीमा काम गर्ने मोडेल नायिका थिइन् । उनका धेरै समर्थकहरू त्यहाँ उपस्थित थिए । उनको रूपसौन्दर्य र बोल्ड शैलीले सबैलाई आकर्षित गथ्र्यो नै । उनले “पानीले भिजेको आकाश” कविता वाचन गरिन् । सबै दर्शक श्रोताहरू चमत्कृत भए । कविताका शब्द शब्दले उनीहरूको हृदयमा स्पर्श गरेर गयो । सबैले ताली बजाए । सिट्ठी बजाए । रमाए ।
अन्त्यमा कवि अमृतांशु अधिकारीले आफ्नो प्रथम स्थान प्राप्त गर्न सफल “शून्यको गर्भमा ब्रह्माण्डको गर्जन” कविता सुनाए । सबै अतिथि, श्रोता, दर्शक विस्मित भए । कविता रचनाको संसार बदलिएको महसुस गरे । पुरस्कार वितरणपश्चात् प्रमुख अतिथि, विशिष्ट अतिथिले कार्यक्रमको महत्त्व र त्यहाँ श्रवण गरिएका कविताहरूको प्रशंसा गरेर मन्तव्य राखे । नेपाल प्राज्ञिक मञ्चको सक्रियता र लगानीको मुक्तकण्ठले प्रशंसा गरे । अन्त्यमा सभापतिको आसनबाट बोल्दै मञ्चका अध्यक्ष युधिष्ठिर आत्रेयले सभा विसर्जन गर्दै भने “आज मलाई हृदयको अन्तस्थलबाट महसुस भयो कि आजबाट नेपाली कविताले नयाँ सम्भावनाको कलात्मक ढोका खोलेको छ ।”
त्यो वाक्य त्यस दिन सामान्य सुनियो । तर केही महिनापछि त्यही वाक्य एउटा गम्भीर व्यङ्ग्यजस्तो बन्न पुगेको थियो ।
रमेश असन्तोषी अर्थात् साहित्यिक खोज पत्रकार । रमेश असन्तोषीको हृदय कहिल्यै सन्तुष्ट हुँदैनथ्यो । उनीभित्र एउटा अनौठो हठ, जिज्ञासा र आवेग भरिएको हुन्थ्यो । उनी जुनसुकै कार्यक्रम, सभा, गोष्ठी र छलफलमा उपस्थित भई कैयन् कमजोरी फेला पारेर पत्रिकामा छताछुल्ल पार्न सक्थे । फेसबुकमा आक्रामक ढङ्गले समसामयिक साहित्यिक सांस्कृतिक विषयमा कटु आलोचना गर्थे । कुन कुन साहित्यकारहरू कहाँ कहाँ भेला‐जम्मा भएर कसको बारेमा के के बोल्छन्, के के पिउँछन्, कुन कविको कोसँग उठबस छ, कसको गुप्त प्रेमिका को हो ? को कुन पुरस्कार हात पार्न दाउपेच मिलाउँदैछ, कुन प्रकाशक कसरी हनी ट्¥यापमा प¥यो, पुरस्कार एजेन्टले कसरी दाम खायो... जस्ता अनेक भित्री कुराहरू रमेश असन्तोषीलाई थाहा हुन्थ्यो । जोकोही कवि साहित्यकारको खत‐बातबारे उनलाई जानकारी हुन्थ्यो । तर त्यसको स्रोत उनी कहिल्यै खोल्दैनथे । साथै आरोपित साहित्यकारहरूले पनि कुनै सफाइ पेश गर्दैनथे ।
युुवावस्थामा पटक पटक कविता प्रतियोगितामा भाग लिएर पनि कहिल्यै उच्च तीनमा पर्न नसकेको कुण्ठाको भावनात्मक आक्रोसले उनलाई विद्रोही बनाइदिएको हो भन्ने बजार हल्ला थियो ।
त्यो भव्य कार्यक्रममा रमेश असन्तोषी पनि पुगेका थिए । पुरस्कार वितरणपछि रमेशले साहित्यिक कार्यक्रम सञ्चालकसँग ती तीन कविता मागेर मोबाइलबाट फोटो खिचेर लगे ।
उनले ती कविताहरूलाई पटक पटक पढे । उनी ती कवितामा दोष खोजिरहेका थिए । तर पनि उनी दोष निकाल्न सकिरहेका थिएनन् । कविता वास्तवमै सुन्दर र सन्तुलित थिए । अर्को दिन उनको मनमा आयो ः यसरी पूर्ण कविता कसरी रचना हुनसक्छ ? उनी भोलिपल्ट नेपाल प्रज्ञा मञ्चको कार्यालय पुगेर बाँकी दश कविता पनि लिएर आए । अर्को हप्ता गएर बाँकी कविता पनि फोटो कपी गरेर ल्याएर अध्ययन गर्न थाले । उनले पुरस्कार पाएका नपाएका सबै कविता पढे । पटक पटक पढे । पहिलो दशमा नपरेका केही कविता त त उनलाई प्रथम कविताभन्दा राम्रा लागे ।
“यी कवितामा कहीँ न कहीँ समस्या छ ।” कोशी प्रदेशबाट काठमाण्डौँ आएको एक कवि साथीसँग बसेर मदिरा पिउँदै गर्दा रमेश असन्तोषीको मनमा यो कुरा एकाएक उत्पन्न भयो ।
“कुनै कवितामा समस्या छ भने त्यसको समाधान गर्ने काम पत्रकारको त होइन । तर पनि नखोजी केही भेटिन्न ।” उसको कवि साथीले उसलाई उक्साउँदै भन्यो । “खोज् रमेश खोज् । यो विषयमा केही नौलो कुरा फेला परेछ भने त्यो तेरो लागि गजबको मसला हुन्छ । मार्केट लिन्छ ।”
सामाजिक सञ्जालमा उक्त कविता प्रतियोगिताको रापताप सेलाउँदै गर्दा रमेश असन्तोषी सेलाएका थिएनन् । उनले सबै कविताको भाषालाई पुनः पुनः नियालेर हेरे । बाहिरबाट सरसर्ती हेर्दा सबै कुरा ठीक थियो । त्यसैले उनको जिज्ञासा अझ बढ्यो । “यदि भाषा, शब्द, भाव, शैली, विचारसहित सम्पूर्ण निर्णय प्रक्रियासमेत ठीक छ भने यी कवितामा मलाई किन चित्त बुझिरहेको छैन ? किन कहीँ न कहीँ अस्वाभाविकता महसुस हुन्छ ?”
रमेशले फेसबुकमार्फत् प्रथम स्थान हासिल गर्ने कवि अमृतांशु अधिकारीसम्म आफ्नो पहुँच बनाए । दोस्ती कायम गरे । उनले अमृतांशुलाई भौतिकरूपले नै पटक पटक भेट गरे । उनले अरु कविहरूसँग पनि आप्mनो पहुँच बनाए । उनी कविहरूको भावनात्मक कमजोरीको फाइदा उठाउँदै केही नयाँ कुरा पत्ता लगाउन जोडबल गरिरहेका थिए ।
रमेशसँग एउटा पुरानो पत्रकारमा हुने सहज धैर्य थियो । उनी लामो समयसम्म पर्खिएर सत्य उजागर गर्न चाहन्थे । फलतः आफ्नो हठमा निरन्तर लागिरहे ।
प्रथम हुने कवि अमृतांशुले मात्र होइन, दोस्रो हुने कवि अंशुमाला रागिनी र तृतीय हुने कवि मनोज ताम्लांगसमेतले कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग गरी कविता रचना गरेको कुरा कविहरूकै मुखबाट व्यक्त गरेको प्रमाण सङ्कलन गरेका थिए रमेशले । तर रमेशलाई सबैभन्दा ठूलो झट्का त्यसपछि लाग्यो ।
उनले बाँकी सात कविलाई पनि खोजे । दसमध्ये दशै जनाले कुनै न कुनै रूपमा एआईको प्रयोग गरेका थिए ।
कसैले विचार दिएको थियो । कसैले प्रारम्भिक मस्यौदा । कसैले पुनर्लेखन । कसैले पूरा कविता नै एआईलाई रचना गर्न लगाएका थिए । असी वटा कवितामध्ये एउटा कविता फरक थियो । जो दशवटा कवितामा समेटिएको थिएन ।
“पहाडमा निदाएको खोला ।”
कवयित्री थिइन् नीलम क्षेत्री । उनको उक्त कविता सरल तर अर्थपूर्ण थियो । त्यसमा प्रयुक्त भाषा अत्यन्त स्वाभाविक थियो । त्यसबाहेक सबै कविताहरू एआईबाट रचना गरिएका थिए । यी सबै घटना र प्रश्नहरू समेटिएको लामो अनुसन्धानात्मक आलेख सप्रमाण ‘साहित्यानुसन्धान’ पत्रिकामा प्रकाशित भयो । त्यसै बेलादेखि साहित्यिक क्षेत्रमा नयाँ भूकम्प गयो ।
“उक्त प्रतियोगितामा तीन विजेता कविले कविता रचना गर्न एआई प्रयोग गरे । मूल्याङ्कन गर्दा निर्णायकले एआई निर्मित कवितालाई मानवकृत कविताभन्दा उत्कृष्ट ठह¥याउँछ भने हामी ‘कवि’, ‘कविता’ र ‘सिर्जना’लाई अब कसरी परिभाषित गर्ने ? मेसिनले कविता लेख्छ भने पुरस्कार कसलाई प्रदान गर्ने ? मेसिनलाई कि मान्छेलाई ?”
अनेक सवाल उठाएर रमेश असन्तोषीले नयाँ बहस छेडिदिएका थिए ।
सामाजिक सञ्जालमा तातो बहस सुरु भयो ।
कसैले भन्यो ः “एआई प्रयोग गर्नु चोरी होइन ।”
अर्कोले लेख्यो ः “तर एआईले लेखेको कविता आफ्नै नाममा प्रकाशित गर्नु साहित्यिक बेइमानी हो ।”
तेस्रोले भन्यो ः “यदि पाठकलाई कविता राम्रो लाग्यो भने लेखक को हो भन्ने किन आवश्यक छ ?”
चौथोले बोल्योे ः “चित्रकारले पनि चित्र नबनाउनू, खेत जोत्न जानू । सङ्गीतकारले पनि धुन नबनाउनू, रुख रोप्न जानू । गायकले गीत नगाउनू, तरकारीबारी गोडेर बस्नू ? अब रचनाकारको के काम ?”
अर्कोले भन्यो ः “ए आई आएपछि कविहरू पनि सम्पादक भएछन् । जमाना बदलियो....तर मान्छेको मन....बदलिएन । ”
ठीक यही दिनबाट साहित्य कला सिर्जनामा कृत्रिम बुद्धिमत्ताको प्रयोगसम्बन्धी विवादहरू चर्को आवाजसहित उठिरहे । पक्ष र विपक्षमा प्रश्नहरू उठिरहे ।
तर ती प्रश्नहरूको ठीक उत्तर भने कसैलाई पनि थाहा थिएन । मानौँ उत्तर खोज्ने यात्रा भर्खर सुरु भएको होस् ।
अस्तु ।
(साहित्यपोस्ट डट कममा मिति २०८३।भदौ २ गते प्रकाशित )
No comments:
Post a Comment