थारैमात्र रहे भैँसी पाल्नुको हुन्छ अर्थ के ?
सुकेको रूखमा पानी हाल्नुको हुन्छ अर्थ के ?
उम्रिदैन भने बीज बारीमा किन छर्नु र ?
गरिमाहीन मान्छेमा लगानी किन गर्नु र ?
।।१।।
निकालिन्न भने केही खानीको हुन्छ अर्थ के ?
खोलैखोला बगी जाने पानीको हुन्छ अर्थ के ?
सुन हैन भनी जाने आगोमा किन गाल्नु र ?
खोटो सिक्का टिपी व्यर्थै खल्तीमा किन हाल्नु र ?
।।२।।
बसिँदैन भने ठूलो घरको हुन्छ अर्थ के ?
बोकिँदैन भने भारी बलको हुन्छ अर्थ के ?
लुगा राखेर बाक्सामा नाङ्गो भै हिँड्न मिल्छ र ?
जनको स्वप्नकोे वृक्ष चटक्कै गिँड्न मिल्छ र ?
।।३।।
चम्किँदैनन् भने राति ताराको हुन्छ अर्थ के ?
फल नपाइने सारा नाराको हुन्छ अर्थ के ?
आमाको पटुकाको त्यो नासो के मास्न मिल्छ र ?
देश नै शोकमा देख्छु कसरी हाँस्न मिल्छ र ?
।।४।
Arising Voice for Humanity. Morality. Nature Conservation. Meditation. Veganism. Literature. Love, Compassion.....& many more....
Sunday, January 20, 2019
Wednesday, April 11, 2018
प्रश्न

जोगाउनु पर्छ जीवनमा थुप्रै कुराहरू
तर सिध्याउनु हुन्न केही प्रश्नहरू ।
उठाऊ जीवनमाथि प्रश्न
उठाऊ सिद्धान्तमाथि प्रश्न
उठाऊ अहिलेसम्म हिँडेको बाटोमाथि प्रश्न
जीवन र दर्शनमाथि
मुक्ति र बन्धनमाथि
सत्तामाथि
उठाऊ प्रश्नै–प्रश्न ।
अहिलेसम्म दिइएका उत्तरमाथि
अहिलेसम्म नदिइएका जवाफमाथि
उठाऊ प्रश्न ।
राजनीतिमाथि
समाजमाथि
बग्दै गरेको पानीको काव्यिक तरङ्गमाथि
बल्दै गरेको आगोको उत्तप्ततामाथि
हूरी र बतासको उग्रतामाथि
हिउँको शुभ्रतामाथि
फूलको कोमलतामाथि
उठाऊ प्रश्नै-प्रश्न ।
जहाँ जहाँ
जति जति उठ्छ प्रश्न
उति उति खुल्छन् उत्तरका पारावारहरू
नसिध्याऊ प्रश्नहरू
जोगाइराख
कम्तीमा एउटा प्रश्न ।।
-नरेन्द्र पराशर
Wednesday, December 20, 2017
साइकलप्रति
धेरै भीड बढ्यो सबै सहरमा, बाटा भए साँघुरा
मान्छेको पनि साँघुरो मन भयो, पाखण्डले उर्वरा
ठूला मोटर, भट्भटे, ट्रक कुदे, आँखै नहेरी कन
प्यारो सुन्दर शिष्ट साइकल यो, गर्दैछ है क्रन्दन ।।
।।१।।
यो तूफान विकासयुक्त युग हो, इन्जीनको यन्त्रको
नाफाको द्रुत शान, मान, मदको, आकण्ठ पाखण्डको
बाटामा क्षयरोगग्रस्त गरिवी–जस्तै भएको भनी
प्यारो सुन्दर शिष्ट साइकल यो, रूँदै बसेको छ नि ।।
।।२।।
ए लूरे किन आउँछस् नजिकमा, मर्लास् उता जा पर
जा जा जा पर जा यता वर नआ, भन्छन् सबै मोटर
ठूला वाहनका बडा गजबका, दादागिरी छन् अति
प्यारो सुन्दर शिष्ट साइकल यो, भोग्दैछ है दुर्गति ।।
।।३।।
धूलो त्यो नउडाउने न त धुवाँ, हल्ला नगर्ने कतै
जाती जो छ अचम्म सेवक भई, आनन्द छर्ने सधैँ
के फिर्ला दिन फेरि साइकलको, यो काठमाण्डौँभरि ?
प्यारो सुन्दर, शिष्ट साइकल यो, गुड्ला त बाटो भरी ?
।।४।।
Wednesday, November 22, 2017
झोला पुरानो भयो !
प्यारो चट्ट नयाँ सुरम्य छरितो, झोला अनौठो थियो
छाम्दा हात लिँदा सदैव रसिलो, आनन्द बर्साउँथ्यो ।
त्यो बेला कति चम्किलोपन थियो, हेर्दै उज्यालो थियो
यो बेला तर जीर्ण देख्छु बिचरो, झोला पुरानो भयो ।।
।।१।।
बोक्यो रोग र भोक–शोक सपना, बोक्यो सधैँ जीवन
बोक्यो हर्ष र आश–त्रास यसले, संघर्षको दर्शन ।
त्यो बेला बलियो नयाँ पनि थियो, भारी सबै बोक्दथ्यो
यो बेला तर दीन–हीन छ कठै १ झोला पुरानो भयो ।।
।।२।।
धोए स्वच्छ हुने थियो समय त्यो, हुन्थ्यो सफा टल्किने
बोक्दा अन्तर–आँतमा कुसुमको आनन्द झल्का दिने ।
लाग्थ्यो है अब च्यातिँदैन कहिल्यै, उध्रेर ऐले गयो
आशा गर्छ सहानुभूति यसले, झोला पुरानो भयो ।।
।।३।।
बोक्यो है सहजै अनेक ननिका बोक्नै नमिल्ने कुरा
धायो धूसर पङ्क–पांशु नभनी मैदान औ टाकुरा ।
लाग्थ्यो है चुहिँदैन हेर कहिल्यै, ऐले चुहुन्ते भयो
आफ्नै जीवन हो कि हो कि जसरी, झोला पुरानो भयो ।।
।।४।।
नयाँ बस्तीको पुरानो छाप्रो
केही थान मानव आकृति लुकाएर
ब्रह्मबोधी सन्त झैँ सदा शान्त हुन्थ्यो
नयाँबस्तीको पुरानो छाप्रो ।
उषाकालीन भानु–रश्मिले
बाँसका भाटाहरू चहकिला हुन्थे
खरको छानो उज्यालो हुन्थ्यो
पुराना काठका मूढाहरू मुस्कुराउँथे
कुखुराको खोरबाट कुखुरी काँ को जीवन्त ध्वनि टाढा टाढासम्म फैलिन्थ्यो
अनि चीसो बतासको स्पर्शमा पुलकित बन्थ्यो
नयाँबस्तीको पुरानो छाप्रो ।
केवल पानीको एउटा गाग्रो सीधा हुन्थ्यो
बाँकी कमसल धातुका
दुईचारवटा मैला, थोत्रा र रित्ता भाँडाकुँडाहरू
शवासनमा लडेका ढलेका हुन्थे ।
तर पनि
प्रकृतिको अलौकिक आनन्द पिएर
सुखद् भविष्यको कल्पनामा
सदा मुस्कुराइरहेको हुन्थ्यो
नयाँबस्तीको पुरानो छाप्रो ।
छोरालाई कालापानी पठाएर
बुहारीलाई बिग्रिएको पुरानो सिलाइ मेसिन मर्मत गरिदिएर
नाति नातिनालाई बोर्डिग स्कुल पठाउँने
वर्षौँदेखि अड्किएको जग्गाको लालपूर्जा निकाल्ने
र
ढुक्कले गिटी कुट्ने
केवल पाँच थान स्थिर सपना सजाएर
आशावादी बन्थ्यो
नयाँबस्तीको पुरानो छाप्रो ।
छोरो कालापानी गयो
तर फर्किएन
बुहारीको सिलाइ मेसिन फेरि बिग्रियो र पुनः बनेन
नातिनातिना बोर्डिंगबाट निकालिए
लालपूर्जाको लागि कागजात पुगेन
‘यस्तै त हो.....के पुग्दैन पुग्दैन...’
जीवनबोधको करुण दर्शनसँगै
मनमनै धेरैपटक तरङ्गित भयो
तर पनि अँध्यारो भएन
नयाँबस्तीको पुरानो छाप्रो ।
मन्द हावा उही
कलकल गर्ने पानी उही
उदय र अस्त हुने घाम र जून उही
असीमित आकाश र धर्ती उही
रङ्गीन फूल र पातहरू उही
सबै सबै कुरा उही उही ।
बिस्तारै न्यानो घाम छेलियो
शीतल जून छेलियो
खुल्ला आकाश छेलियो
सिरसिर चल्ने बतास छेलियो ।
हेर्दाहेर्दै
जराजीर्ण, स्तब्ध र निरुपाय त्यस छाप्रामा
नयाँ बस्तीको ढल र बर्खाको भल पस्यो
कानुन पस्यो
डोजर पस्यो ।
पानीले छानाको खर कुहियो
डाँडाभाटा मक्किए
कानुनको धक्काले दलीन खस्यो ।
छानो खस्यो
छानोसँगै सपना खस्यो ।
अहिले
कतै पनि देखिन्न—
नयाँबस्तीमा पुरानो छाप्रो ।
Monday, March 13, 2017
किन सम्झिदैनौ ?
वर्षा हुँदा म त यता कति सम्झिराख्छु
हो रातको प्रणवतासँग सम्झिराख्छु
पर्दैन रात कि त्यता किन सम्झिदैनौ ?
बर्सिन्न मेघ कि त्यता किन सम्झिदैनौ ?
बर्सिन्न मेघ कि त्यता किन सम्झिदैनौ ?
।।१।।
ताराहरू चहकिँदा म त सम्झिराख्छु
हो फूल फुल्दछ यता म त सम्झिराख्छु
फुल्दैन फूल कि त्यता किन सम्झिदैनौ ?
देखिन्न जून कि त्यता किन सम्झिदैनौ ?
देखिन्न जून कि त्यता किन सम्झिदैनौ
।।२।।
चीसो छुँदा पवनले म त सम्झिराख्छु
पन्छी उडे गगनमा म त सम्झिराख्छु
हुन्नन् चरा कि त त्यता किन सम्झिदैनौ ?
हुन्नन् कि रूख लहरा किन सम्झिदैनौ ?
हुन्नन् कि रूख लहरा किन सम्झिदैनौ
।।३।।
धड्किन्छ है मुटु यता म त सम्झिराख्छु
पग्लेर आँशुसँगमा म त सम्झिराख्छु
झर्दैन आँशु कि त्यता किन सम्झिदैनौ ?
धड्किन्न के मुटु त्यता किन सम्झिदैनौ ?
धड्किन्न के मुटु त्यता किन सम्झिदैनौ
।।४।।
Saturday, May 9, 2015
भूूकम्प गएको छ
मन्दिरका गजुरमा बस्ने परेवाहरू
एकाएक स्तब्ध भएका छन्
समान धड्किने सानो शिशुको मुटु
एकाएक असमान भएको छ
हो, एउटा भयङ्कर भूूकम्प गएको छ ।
दुुःख–कष्टमा पनि चाउरिएका गाला र
थोते दाँत देखाएर
निष्पाप मुस्काउन सक्ने
हजुर बा र हजुर आमालाई
र्निममतापूूर्वक
भारी दलीनले थिचेर गएको छ
हो, एउटा भयङ्कर भूूकम्प गएको छ ।
यही धर्तीबाट पाएको
रातो कमेरे माटोले लिपेको
पाखाभरी सौन्दर्य छर्ने
सुन्दर घर
माटोमै मिलेको छ
भत्किएको घरसँगै
जीवनका कलात्मक स्वप्नहरू पुरिएका छन्
प्रेमका गजुरहरू
चकनाचुर भएका छन्
लाश र भग्नावशेषहरू थुपारेर
वीभत्स दृश्य बिस्कुन लगाएर
हो, एउटा भयङ्कर भूूकम्प गएको छ ।
काख रित्तो पारेर
सिउँदो खाली गरेर
साना साना दुुधे बालकहरू टुहुरो बनाएर
भीर–पाखा, गाउँ–शहर जगैबाट हल्लाएर
आतङ्कको बज्र आएको छ
हो, एउटा भयङ्कर भूूकम्प गएको छ ।
पराई र आफन्तहरू चिनाएर
सबैलाई एउटै त्रिपालमुनि छिराएर
बाँडीचुँडी खाने
मिलीजुली बस्ने
एउटा पुरानो परम्परालाई
सम्झाइदिएर
नयाँ नेपाल बनाउँन
एउटा ढोका खोलिदिएको छ
हो, एउटा भयङ्कर भूूकम्प गएको छ ।
:नरेन्द्र पराशर
एकाएक स्तब्ध भएका छन्
समान धड्किने सानो शिशुको मुटुएकाएक असमान भएको छ
हो, एउटा भयङ्कर भूूकम्प गएको छ ।
दुुःख–कष्टमा पनि चाउरिएका गाला र
थोते दाँत देखाएर
निष्पाप मुस्काउन सक्ने
हजुर बा र हजुर आमालाई
र्निममतापूूर्वक
भारी दलीनले थिचेर गएको छ
हो, एउटा भयङ्कर भूूकम्प गएको छ ।
यही धर्तीबाट पाएको
रातो कमेरे माटोले लिपेको
पाखाभरी सौन्दर्य छर्ने
सुन्दर घर
माटोमै मिलेको छ
भत्किएको घरसँगै
जीवनका कलात्मक स्वप्नहरू पुरिएका छन्
प्रेमका गजुरहरू
चकनाचुर भएका छन्
लाश र भग्नावशेषहरू थुपारेर
वीभत्स दृश्य बिस्कुन लगाएर
हो, एउटा भयङ्कर भूूकम्प गएको छ ।
काख रित्तो पारेर
सिउँदो खाली गरेर
साना साना दुुधे बालकहरू टुहुरो बनाएर
भीर–पाखा, गाउँ–शहर जगैबाट हल्लाएर
आतङ्कको बज्र आएको छ
हो, एउटा भयङ्कर भूूकम्प गएको छ ।
पराई र आफन्तहरू चिनाएर
सबैलाई एउटै त्रिपालमुनि छिराएर
बाँडीचुँडी खाने
मिलीजुली बस्ने
एउटा पुरानो परम्परालाई
सम्झाइदिएर
नयाँ नेपाल बनाउँन
एउटा ढोका खोलिदिएको छ
हो, एउटा भयङ्कर भूूकम्प गएको छ ।
:नरेन्द्र पराशर
Subscribe to:
Posts (Atom)
