जब त्यस्ता अनुभूतिहरूलाई कलात्मक, लयात्मक, भावात्मक तथा वैचारिक पृष्ठभूमिमा मनोवेगात्मक र उद्वेलनपूर्ण भाषामार्फत अभिव्यक्त गरिन्छ, तब त्यसले कविताको रूप ग्रहण गर्छ। यस अर्थमा कविता अनुभूति, कल्पना, भाषा र तिनलाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने कलात्मक क्षमताको समवेत अभिव्यक्ति हो।
यही काव्यचेतनाले पाठकको मनमा भावना, दृश्य, विचार र कहिलेकाहीँ आश्चर्यजनक अनुभूतिसमेत पैदा गर्छ। कविताको यही सरलतम आलोकमा यहाँ कवि अस्मिता विष्टको कवितासङ्ग्रहमाथि परिचयात्मक टिप्पणी प्रस्तुत गरिएको छ।
धरान बहुमुखी क्याम्पसमा अङ्ग्रेजी साहित्यकी उपप्राध्यापक डा. अस्मिता विष्टको ‘ब्ल्याकहोलमा गीतहरू’ शीर्षक आफैँमा आङ्ग्लसाहित्यको प्रभावबिन्दुबाट प्रेरित देखिन्छ।
खगोलविद्, भौतिकशास्त्री र दार्शनिकहरूका लागि एउटा अद्भुत रहस्य हो– ब्ल्याकहोल अर्थात् कृष्णविवर। सीमारहित अकल्पनीय ब्रह्माण्डमा रहेका विशालकाय ताराहरूको मृत्युपश्चात् उत्पन्न हुने स्थान र समयविहीन अवस्थालाई ब्ल्याकहोल भनिन्छ। कतिसम्म भने, यसले प्रकाशतरङ्गलाई समेत सोसेर पचाइदिन्छ, जहाँबाट दीर्घकालमा पुनः नयाँ खगोलीय पिण्डहरूको प्रादुर्भाव हुन्छ।
सामान्यतया यस्तो कल्पनातीत कृष्णविवरमा गीतहरूको अस्तित्व सम्भव छ ? त्यस्तो स्थानरहित स्थानमा के प्रेम, प्रणय, भावना, वेदना वा प्रतिरोधको कुनै उपस्थिति सम्भव छ ? भौतिक विज्ञानको नजरमा यी कुराहरू असम्भव छन्, तर काव्यप्रज्ञाको अन्तरिक्षमा यी कुराहरू सदैव सम्भव हुन्छन्; जसलाई दुनियाँसामु उजागर गर्न कवि अस्मिताले यस ‘ब्ल्याकहोलमा गीतहरू’ मार्फत प्रयत्न गरेकी छन्।
४६ वटा गद्यकविता सङ्ग्रहित ‘ब्ल्याकहोलमा गीतहरू’ को मूल स्वर प्रेम हो। कुनै पनि कवि प्रेमको भावनात्मक संवेगलाई नकारेर संवेदनाहीन मरुभूमिमा अभिव्यक्त हुन सक्दैन। किनभने, प्रेम मानिसको व्यक्तिगत जीवनदेखि परिवार, समाज, प्रकृति, सिर्जना र आध्यात्मिक अनुभूतिसम्म फैलिएको व्यापक मानवीय आन्तरिक स्वभाव र शक्ति हो।
‘तिम्रो आगमन’ शीर्षकबाट वसन्तको पुष्पमय हरियालीसँगै आउने होली पर्व तथा होलीसँगै रङ्गिने र पुलकित हुने हृदय प्रेमको अभ्यर्थनामा प्रसन्न हुने प्रसङ्गबाट कवि अस्मिताको कविता प्रारम्भ हुन्छ। यस कवितामा कोमलता, उमङ्ग र कौतुकले भरिएका कलकलाउँदा शब्दहरूले उमेरका सबै सीमाहरू भत्काउँदै प्रेमको पुरश्चर्या गर्छन्। प्रकृतिको आराधना गर्छन् र जीवनको आशावादी सत्यलाई स्वीकार गर्छन्। यसउप्रान्त डा. अस्मिताका कविताहरू प्रेमको विविध कलेवर र अनेक रङहरूसहित अगाडि बढ्छन्, जहाँ प्रकृति र हृदयको कहीँ संयोग हुन्छ त कहीँ वियोग।
प्रेम र प्रणयको केन्द्रीय अनुभूतिभित्र अस्मिताका प्रेम कविताहरूमा प्रतीक्षित पात्रको आकर्षणसँगै दीर्घप्रतीक्षा, मिलन र विरह पनि उद्बोधित र स्पन्दित हुन्छन्। यी प्रेम कविताहरूमा प्राप्तिसँगै गुमाउने भय र व्यक्तिगत अनुभूतिसँगै व्यापक मानवीय संवेदना पनि प्रकट हुन्छन्। प्रिय पात्रको कहिलेकाहीँ ठोस उपस्थिति देखिन्छ त कहिलेकाहीँ तरल र धमिलो आकृति देखिन पुग्छ।
कहिलेकाहीँ स्मृति, कहिलेकाहीँ विस्मृति, कतै निराशा, कतै अत्याशा, कतै रिस त कतै घुर्की प्रकट हुन्छन्। यही प्रेमभाव कतिपय ठाउँमा प्रकृति र कतिपय बेलामा जीवनकै पर्याय बनेको पाइन्छ। यस अर्थमा अस्मिताको प्रेमानुभूति निजी भएर पनि सार्वभौमिक बन्न पुग्छ। किनभने, प्रेमले नै एक हृदयलाई अर्को हृदयसँग जोड्ने सम्बन्ध–सेतुको काम गर्छ।
कविता अन्तरहृदयमा झङ्कृत हुने जीवनको वैयक्तिक अभिव्यक्ति हुँदाहुँदै पनि सामाजिक दायित्वबाट कवि पलायन हुन सक्दैन। बाह्य संसारमा सञ्चरण हुने राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र धार्मिक क्रियाकलापद्वारा एक संवेदनशील कवि प्रभावित हुनु स्वाभाविक कुरा हो। जीवनका प्रत्यक्ष र परोक्ष भोगाइहरूद्वारा समाज, देश र विश्वमा देखा पर्ने विविध आयामहरूबाट मानिस प्रभावित हुन्छ।
यिनै अनेकानेक प्रभावले सामाजिक विसङ्गति र अस्तित्वगत प्रश्नहरू कविको संवेदनशील चेतनाबाट गुञ्जिएपछि तिनले आफ्नो आवाजलाई कविताको रूपमा उत्तर दिन्छन्। यस अर्थमा ‘ब्ल्याकहोलमा गीतहरू’ सामाजिक दायित्व र अन्तरचेतनाको सत्योद्घाटनबाट विमुख छैन। समाजमा बेग्रल्ती छरिएर रहेका सुषुप्त र प्रकट द्वन्द्वबाट निस्किएका कविताहरू पनि यसमा सङ्ग्रहित छन्। जीवनको आशा र अवसादभित्र अन्तर्निहित अर्थ, सौन्दर्य र सम्भावनाको खोजी गर्ने प्रयत्न यस कवितासङ्ग्रहमा देखिन्छ।
यस सङ्ग्रहमा सामाजिक यथार्थप्रतिको दृष्टि व्यापक रूपमा फैलिएको छ। कवि आफूवरिपरिको समाजमा देखिने असमानता, विसङ्गति, विडम्बना, हिंसा, मूल्यविघटन र मानवीय संवेदनाको क्षयबाट निरपेक्ष छैनन्। ‘नियतिको धारमा रेटिएका तिमी’ एउटा यस्तो प्रतिनिधि कविता हो, जसले नारी हृदयको गहिराइबाट पढेको पुरुषको दुर्भाग्यलाई छरपस्ट पारिदिएको छ।
एवमेव यस कवितासङ्ग्रहमा आम मानिसका पीडा, यन्त्रणा, आक्रोश, करुणा र प्रेम काव्यात्मक अर्थमा अभिव्यक्त छन्।
‘बदमास झरी’ कवितामा प्रकृतिको आकस्मिक प्रहारले उत्पन्न विद्रुपताले थप छियाछिया भएको गरिबीको पीडादायी चित्राङ्कन छ। मानवकृत दोषले प्रभावित जलवायु, सिङ्गो धर्तीको भविष्य र मानव सभ्यतामाथि थपिएको सङ्कटबारे सशक्त आवाज दिनुले कविको विश्वव्यापी एजेन्डामाथिको बोधलाई उजागर गर्छ। यसले भुइँमान्छेको आवाजलाई बिलाउन दिँदैन र थप स्पष्ट परिचयसहित पहिचान दिन्छ। पर्यावरणीय संरक्षणलेखनका आकाश, पृथ्वी, नदी, वनस्पति, फूल, पक्षी, वर्षा वा ऋतुहरूसहित पञ्चमहाभूत यस कवितासङ्ग्रहमा सहज र सशक्त ढङ्गबाट उपस्थित भएका छन्।
नारीलाई परम्परागत सांस्कृतिक र धार्मिक दृष्टिकोणको साँघुरो पर्खालले घेरेर हेर्ने प्रवृत्तिलाई कविले यस कृतिमा धज्जी उडाएकी छन्। नारी चेतना र प्रतिरोधका कविताहरू यस सङ्ग्रहका थप आकर्षण हुन्। ‘कुरूप सभ्यता’, ‘हरेक युगमा जन्मिसक्छ कुपात्र’, ‘कलियुगको कृष्ण’, ‘हिंस्रक छायाँ’, ‘विनिर्मित पहिचान’, ‘मेटामर्फोसिस’ आदि नारीवादी दृष्टिबाट लेखिएका प्रतिरोधी कविताहरू हुन्, जसले कठोर पितृसत्तामाथि निर्ममतापूर्वक प्रश्न उठाउँदै प्रतिरोध गर्छन्।
बाल्यावस्था, घर, मातापिता, दाजुभाइ, दिदीबहिनी, आँगनका फूलपात, बोटबिरुवा, चरापन्छी र साथीभाइहरूप्रति अवचेतन मनमा स्वाभाविक रूपले पूर्वस्मृतिहरू लुकेका हुन्छन्। एउटा कविमा ती कुराहरू अझ गहिरो गरी बसेका हुन्छन्। डा. अस्मिताका कविताहरूमा पनि पारिवारिक सम्बन्ध, प्रेम र अनुरागका कोमल पक्षहरू जाज्वल्यमान छन्। ‘बिदाइ आमा र जीवन गीत’ जस्ता कविताहरूले पारिवारिक पक्षको मानवीय संवेदनालाई कलात्मक आकार दिएका छन्।
प्रविधिजनित सङ्कट र त्रासदीलाई संवेदनशील कविले बिर्सिन सक्दैन। नवउदारवादी भोगवादले सिर्जना गरेको महत्त्वाकाङ्क्षाबाट उत्पन्न नकारात्मक प्रभावलाई ‘आधुनिक पिँजडा’ ले पारदर्शी ढङ्गबाट उजागर गरिदिएको छ।
डा. अस्मिताका कविताहरूमा प्रयुक्त शब्द, बिम्ब, प्रतीक र प्रस्तुतिको विषयगत विशिष्टताले जीवन, प्रेम, समाज, प्रकृति, दर्शन आदि विषयलाई बृहत्तर आकार दिएका छन्। भाव, विचार र संवेदनाको मौलिकताले समग्र काव्यदृष्टिबाट यस सङ्ग्रहलाई फरक काव्यस्वरमा पठनीय र मननीय बनाएको छ। फरक शैलीले यस सङ्ग्रहमा काव्य अस्मिता जीवन्त देखिन आउँछ।
समग्रमा, समसामयिक परिवेशमा एउटा मानिसले भोगेको वा भोग्न सक्ने जीवनका सबै पक्षहरूलाई समाहित गरेर तयार भएको यो ‘ब्ल्याकहोलमा गीतहरू’ शीर्षकको कवितासङ्ग्रह प्रेमप्रतिको समर्पणमा केन्द्रित छ।
यसमा प्रेमलाई दिव्य आनन्द, पारमार्थिक सुखको स्रोत, जीवनको आत्यन्तिक अर्थ, मुक्ति, सङ्घर्ष र पीडाको कारणका रूपमा अभिव्यक्ति दिइएको छ। केही टाइपिङका त्रुटिहरू, केही उपमागत असङ्गति, केही बलजफ्ती ल्याइएका आगन्तुक शब्दहरू र केही अनावश्यक तन्काइजस्ता कमजोरीका बाबजुद समग्रमा यस कवितासङ्ग्रहले बह्वर्थी बिम्ब र प्रतीकको प्रयोगबाट पाठकलाई कल्पनाशील बनाएर डुल्न सक्ने फराकिलो आकाश प्रदान गरेको छ।
(मिति २०८३।०५।२० गते शनिबार रातोपाटी डटकममा प्रकाशित
https://www.ratopati.com/story/590010/the-sweet-voice-of-love-songs-in-the-black-hole)
No comments:
Post a Comment