नेपालको एकीकरणपश्चात् नै नेपाली भाषा र साहित्यको उन्नयन हुँदै आएको हो । यसरी हेर्दा नेपाली लेख्य साहित्यको इतिहास करीव साढे दुईसय वर्ष पुरानो मान्न सकिन्छ । नेपाली साहित्यको विकासक्रमको तुलनात्मकरूपले यस छोटो अवधिमा धेरै कवि, लेखकहरूले आफ्नो महत्वपूर्ण श्रम खर्चिएका छन् । यस प्रसङ्गमा नेपाली महिलाहरूको योगदानको बारेमा भने खासै चर्चा, चासो र बहस भएको पाइँदैन । खासगरी नेपाली साहित्यको अध्यययन–अनुसन्धानमा पुरुषहरूको वर्चस्व रहनु र तिनको नजरमा महिलाको योगदानमाथि सचेतरूपले ध्यान पुग्न नसक्नु वा नचाहनुको कारणले नेपाली महिला साहित्यकारहरूको बारेमा एकमुष्ठ अध्ययन सामग्री मुस्किलले पाइने गरेका छन् ।
कम साक्षरता प्रतिशत, भौगोलिक विकटता, अनेकन सामाजिक–सांस्कृतिक अन्धविश्वास, रोग, भोक, गरिबीले सताइएको बहुभाषिक र बहुजातीय स्वरूपमा संरचित हाम्रोजस्तो अति विपन्न देशमा नेपाली भाषा–साहित्यको जे जति श्रीवृद्धि भएको छ यो पनि आफैँमा पर्याप्त सन्तोषको विषय हो । तर यसमा महिला साहित्यकारहरूको भूमिका र नेपाली साहित्यमा महिला लेखकहरूको प्रवेश र बिस्तार के कसरी र कहिलेदेखि भयो भन्ने जिज्ञासा भने सामान्यतया अनुत्तरित नै छ ।
.jpg)
नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘नेपाली साहित्यिक इतिहासमा नारी स्रष्टाको योगदान’ विषयको अनुसन्धान परियोजनामा तयार पारिएको र ‘गुञ्जन’ले प्रकाशित गरेको र शब्दार्थ प्रकाशनले वितरण गरेको ‘नेपाली महिला साहित्यकार’ नामक पुस्तक बजारमा आएको छ । नेपाली साहित्यको प्राथमिक कालदेखि वर्तमानसम्ममा नारी हस्ताक्षरको आगमन, विस्तार र हस्तक्षेपीकरणमा के कस्ता आरोह–अवरोहहरू देखापरे भन्ने विषयमा यस कृतिले विहङ्गम दृष्टि लगाएको छ । नेपाली साहित्य र साहित्यकार भन्ने बित्तिकै बडा–बडा पुरुष साहित्यकारहरूको सोचमग्न चित्र हाम्रासामू आइहाल्ने मनोवैज्ञानिक प्रभाव छ । तर नेपाली भाषा र साहित्यमा प्राथमिक कालदेखि नै नारी हस्ताक्षरको उपस्थिति रहेको कुरा लीला लुइटेलले खुलस्त पारिदिएकी छिन् । उनका अनुसार प्राथमिक कालमा प्राणमञ्जरीदेवी, ललितत्रिपुरसुन्दरी, बवगुनी गुरूङ, हीरा गाइनेनीलगयतका चारजना महिलाहरूले आफ्ना भावनाहरू लिखितरूपमा अभिलेख गरेका थिए । त्यसै गरी माध्यमिक कालमा पनि भक्तिकुमारी राणा, चन्द्रसुब्बा गुरूङ, योगमायालगायत अन्य महिला साहित्यकारहरूको उपस्थिति रहेको कुरासहित आधुनिक काल अर्थात् वि.सं.१९९१ देखि हालसम्मका महिला साहित्यकारहरूको विधागत परिचयात्मक टिप्पणी रहेको यस पुस्तकमा स्वच्छन्दतावादी धारा(१९९१–२०१६), प्रयोगवादी धारा(२०१७–२०३५) र समसामयिकधारा (२०३६ देखि हालसम्म)का महिला साहित्यकारहरूको इतिवृतान्त पस्किने काम भएको छ । यस प्रकारको खोजी कार्य वास्तवमै निकै कठिन हुँदाहुँदै पनि लीला लुइटेलले गरेको प्रयासले नेपाली महिला साहित्यकारको इतिहासलाई मात्र होइन नेपाली साहित्यलाई नै पर्याप्त गुन लगाएको छ ।
यस पुस्तकमा कविता, उपन्यास, कथा, निबन्ध, नाटक, नियात्राजस्ता विधाहरू र समालोचनामा कलम चलाउने नारी साहित्यकारहरूको जन्म, योगदान, पेशागत संलग्नता, शिक्षाजस्ता सूचनाहरूसहित सातसय त्रिसट्ठी जना महिला साहित्यकारहरूको जीवनको विविधपक्षमा खुलासा पार्ने प्रयत्न गरिएको छ ।
लीला लुइटेलले यो शोधकार्य गर्दा आइपरेका समस्याहरू जसरी राखेकी छन् त्यो आफैँमा एउटा मर्मस्पर्शी अनुभवको रूपमा आएको छ । नेपाली महिला साहित्यकारहरूबीचमा रहेका अनेकन् लघुताभास वा अहङ्कारवादी सोच र प्रवृत्तिहरूको समेत खुलासा हुँदा सबैलाई तत् विषयमा जान्न बुझ्न पाइने कुराले कृतिलाई रोचक र सङ्ग्रहणीय बनाएको छ । पाँचसय पचास पृष्ठको निकै ठूलो आयतनको यो पुस्तक नेपाली भाषा–साहित्यमा रुचि राख्ने विशेष गरी अनुसन्धनकर्ता, विद्यार्थी, साहित्यिक पत्रकारलगाायत सबै प्रकारका बाङ्मय अनुरागीहरूका लागि लाभकारी हुनसक्ने देखिन्छ ।
लीला लुइटेलले यो शोधकार्य गर्दा आइपरेका समस्याहरू जसरी राखेकी छन् त्यो आफैँमा एउटा मर्मस्पर्शी अनुभवको रूपमा आएको छ । नेपाली महिला साहित्यकारहरूबीचमा रहेका अनेकन् लघुताभास वा अहङ्कारवादी सोच र प्रवृत्तिहरूको समेत खुलासा हुँदा सबैलाई तत् विषयमा जान्न बुझ्न पाइने कुराले कृतिलाई रोचक र सङ्ग्रहणीय बनाएको छ । पाँचसय पचास पृष्ठको निकै ठूलो आयतनको यो पुस्तक नेपाली भाषा–साहित्यमा रुचि राख्ने विशेष गरी अनुसन्धनकर्ता, विद्यार्थी, साहित्यिक पत्रकारलगाायत सबै प्रकारका बाङ्मय अनुरागीहरूका लागि लाभकारी हुनसक्ने देखिन्छ ।
:नरेन्द्र पराशर
No comments:
Post a Comment