Thursday, August 8, 2013

सौन्दर्य के हो ?



वसन्तको कोकिलको गलामा
वा चन्द्रमाको मधुरो कलामा
झल्किन्छ आनन्द अचम्म खास
सौन्दर्य के हो ?’ ‘मनको मिठास !
।।१।।

छन् शीतथोपा रङले पवित्र
मुस्कान देखिन्छ गुलावभित्र
अमूर्तमा मूर्त छ मेघ खास
सौन्दर्य के हो ?’ ‘मनको मिठास !
।।२।।

जो फूल हुन् वा वनवन्यघारी
कल्लोल भर्ने सरिता सफारी
जो फैलिने मादक छन् सुवास
सौन्दर्य के हो ?’ ‘मनको मिठास !
।।३।।

विद्रोह हुन् वा कि त क्रान्ति ज्वाला
जल्दै गरेका नव दीपप्याला
जेमा सधैँ यो मुटु बस्छ खास
सौन्दर्य के हो ?’ ‘मनको मिठास !

:नरेन्द्र पराशर
छन्द ः उपजाति
(उपेन्द्रवज्रा र इन्द्रवज्रा)

No comments:

Post a Comment