तिमी गुराँसकी फूल, सौन्दर्यको छ के कमी  ?
तिमी माधुर्यकी मात, तिमी स्वप्निल छ्यौ अनि  !
।।१।।
विमल प्रेमको खोला भोला मुहारमा छ नि 
ईश नै झुक्छ है हेर्दै तिम्रो अगाडिमा अनि  !
।।२।।
आफैँलाई कहाँ हुन्छ थाहा कस्तो छु है भनी 
तिमी छाया परेकी छ्यौ पानीमा जूनको अनि  ! 
।।३।।
हाँस्ता उसै तिमी प्यारी नहाँस्ता पनि के कमी  ?
जहाँ बस्छ्यौ जसो गर्छ्यौ उसै सुन्दर छ्यौ अनि  ! 
 ।।४।।
नदीमा फूलको थुँगा बहे झैँ भावना छ नि
तिनै भाव उठी उड्ने मीठो बादल हौ तिमी  !
।।५।।
एक्लो हुँदैन है प्रेम एकान्तमा रहे पनि 
आनन्द लाग्छ है धेरै तिमी छेउ भए अनि  !
।।६।।
:नरेन्द्र पराशर
श्रिङ्गारसुधा कवितासङ्ग्रहबाट 
छन्द: अनुस्टुप्

 
No comments:
Post a Comment