सुसेल्दै मस्त हल्लिँदै
उड्छु आनन्द
आनन्द
धूलोजस्तै बतासिँदै !
।।१।।
जम्दै जम्दिनँ
है पानी
जस्तो जम्दछ पोखरी
झर्छु बग्छु
बरालिन्छु
जस्तो झर्छे सुनिर्झरी !
।।२।।
रोज्दै हिँड्दिनँ
है प्यास
तृष्णा माग्दिनँ क्रन्दन
बाँड्छु आनन्द
आनन्द
छन्द स्वच्छन्द नन्दन !
।।३।।
घरभित्र सियो
झारी
खोज्दै हिँड्दिनँ बाहिर
हीराको भित्र
खानी छ
सिक्का टिप्दिनँ बाहिर !
।।४।।
भित्र आनन्दको
खोला
ध्यान-डुङ्गा खियाउँछु
प्रज्ञाको
झ्याल खोलेर
प्रेमलाई चियाउँछु !
।।५।।
खोज्दै हिँड्दिनँ
है मुक्ति
रोज्दै हिँड्दिनँ बन्धन
म मेरै मार्गमा
मस्त
नित्य-उन्मुक्त जीवन !
:नरेन्द्र पराशर
No comments:
Post a Comment