Sunday, April 20, 2014

चरी, आकाश, प्रेम र स्वतन्त्रता


चरी चित्त चोर्दै यतै छेउ आई
चरी प्रेमको गीतमा चिर्बिराई
चरी रङ्ग-आनन्दले दङ्ग आई
चरी प्रेमको किम्बु खाँदै रमाई
।।
चरीको सबै पङ्खमा लाख रङ्ग
चरीमा सधैँ देख्न पाऊँ उमङ्ग
चरीबाट नै प्रेम-चातुर्य जानूँ
चरी गान सुन्दा झर्को नमानूँ
।।
चरीको पखेटाभरी व्योम पाऊँ
चरी-चक्षुमा दृष्टि राख्दा रमाऊँ
चरी प्रेमको दिव्यताले स्वतन्त्र
चरीभित्र नै उड्न पाऊँ पवित्र
।।
चरी यो उडोस् है उचालेर पङ्ख
चरी पिन्जरामा नहोस् हेर बन्द
चरीको पूजा गरी डुल्न पाऊँ
चरी गानले ध्यानमा खुल्न पाऊँ
।।
चरी फुर्फुराई मनैसम्म आई
चरी चित्तमा माधुरी चिर्बिराई
चरीले उज्यालो छरी मित्रलाई
चरी यो उज्यालो छरी भित्र आई
।।

नरेन्द्र पराशर
छन्द : भुजङ्गप्रयात

No comments:

Post a Comment