Tuesday, May 20, 2014

सिल्भियाप्रति


१. ओ सिल्भिया,
दावालन  विभीषिका
तिम्रो कविताको विद्रोह 
ब्रह्माण्डको कानमा गुञ्जिइरहन्छ
तिम्रो आत्महत्याको 
सङ्गीत । 

२. ओ सिल्भिया,
दुःस्व्प्नको पारावारमा 
सुक्खापन, उकुसमुकुस र मृत्यु 
सुकेको रुख र मृत चरा देखेर 
मुस्कुराउने
तिम्रो कविताको आगो 
संवेदनाको जङ्गलमा दन्किइरहन्छ
तिम्रो अग्रगमनको 
दारुण पदचाप । 

३. ओ सिल्भिया, 
तिमी जून फुटाएर
तारा बनाउँछ्यौ 
र ताराहरुको धूलो शरीरमा छर्किएर
सर्वाङ्ग सत्य–नग्नताको बिस्कुन सुकाउँछ्यौ 
अनि छाउँछ हृदयभरी 
तिम्रो काव्य–शातील्यको 
मृत्युमय शान्ति ।

४. ओ सिल्भिया,
फूल च्यातिहिँड्ने
  विरुप पागलपनको 
अकल्पनीय कविता
त्यस कविताको प्रसाद, ओज, आभा र गरिमा 
आज पर्यन्त चिहानघरबाट 
चिच्याइरहन्छ 
तिम्रो आत्महत्याको सङ्गीत ।।

ःनरेन्द्र पराशर

No comments:

Post a Comment