Arising Voice for Humanity. Morality. Nature Conservation. Meditation. Veganism. Literature. Love, Compassion.....& many more....
Thursday, November 14, 2019
अनि पो कविता
बगैँचामा सधै फूल फुल्ने गर्छन् वसन्तमा ।
सत्य हो तर थोरैले मात्र दिन्छन् सु–वासना ।।
कविता पनि धेरैले लेख्ने गर्छन् हतारमा ।
थोरैका कविताबाट मात्र आउँछ वासना ।।
छोई छामी उचालेर तौलेर छान्नु पर्दछ ।
छानेको शब्दले ठीक ठाउँमा हान्नु पर्दछ ।।
हानेको ठाउँमा चट्ट अर्थले लाग्नु पर्दछ ।
लागेको अर्थले छैठौँ इन्द्रिय जाग्नु पर्दछ ।।
गुण गुरुत्वले दिव्य रम्यता फुल्नु पर्दछ ।
फुलेको रम्यताभित्र भव्यता खुल्नु पर्दछ ।।
खुलेको भव्यताभित्र नव्यता घुल्नु पर्दछ ।
घुलेको नव्यताभित्र कविता डुल्नु पर्दछ ।।
भावको फूलबारीमा सारी रङ्गीन अर्थको ।
आऊन् सौन्दर्यकी राधा लिई धारा विचारको ।।
अनि पो दिव्य आभाले कविता जग्मगाउँछे ।
पारिजात भई तिम्री कविता मग्मगाउँछे ।।
-नरेन्द्र पराशर
रतुवामाई ४
मोरंग
शिशुभाव चोखो
जीवन्त चोखोपन खेलमा छ, जीवन्त चोखोपन झेलमा छ
समग्र सम्पूर्ण स्वरूप चोखो, जीवन्त चोखोपन मेलमा छ ।
सौन्दर्य चोखोपन अङ्ग अङ्ग, विशुद्ध चोखोपनले विहङ्ग–
झैँ उड्छ, झल्किन्छ अनेक रङ्ग, छ भाव चोखो शिशुसाथ दङ्ग ।।
।।१।।
धर्ती र आकाश र वायु चोखो, होला नहोला जल अग्नि चोखो
हिमाल चोखो अनि फूल चोखो, होला नहोला परब्रह्म चोखो ।
दिव्यांशु चोखो र सुधांशु चोखो, होला नहोला परमेश चोखो
चोखो सधैँ बाल स्वभाव चोखो, जो शीतथोपासरि हुन्छ चोखो ।।
।।२।।
आचार चोखो र विचार चोखो, पवित्रताको व्यवहार चोखो
बोलाइ चोखो र हिँडाइ चोखो, हँसाइको दिव्य बहार चोखो ।
हेराइ चोखो र सुताइ चोखो, आनन्दको उत्सुक भाव चोखो
छ शान्ति चोखो र अशान्ति चोखो, अज्ञानता नै पनि पूर्ण चोखो ।।
।।३।।
विरोध चोखो रिस राग चोखो, सौन्दर्यको भाव प्रभाव चोखो
हल्ला छ चोखो अनि मौन चोखो, मुस्कानको कोमल भाव चोखो ।
चोखो यही सात्विक सत्व चोखो भएर नै पूज्य बनिन्छ चोखो
यी बाल–बालासँग भाव चोखो, चोखो भई बढ्दछ भाव चोखो ।।
।।४।।
–नरेन्द्र पराशर
रतुवामाई –४ मोरङ
छन्द ः उपजाति
Thursday, November 7, 2019
'अग्निचक्र मासिक'सँग विशेष कुराकानी
१. छोटकरीमा आफ्नो परिचय कसरी दिनुहुन्छ ?
मेरो वास्तविक नाम नरेन्द्रप्रसाद गुरागाई हो । मेरो पिताको नाम नरपति गुरागाई र माताको नाम हेमकला गुरागाई (भट्टराई) हो । मेरो जन्म २०२७ साल असोज १५ गते मोरङ जिल्ला झुर्किया गा.वि.स.(हाल रतुवामाई न.पां –४) सिँगाडी भन्ने गाउँमा भएको हो । मैले प्राथमिक शिक्षा सोही गाउँमा सकेपछि निम्नमाध्यमिक र माध्यमिक शिक्षा सौँठा माध्यमिक विद्यालय सिजुवा मोरङबाट पूरा गरेँ । म मातापिताको छैठौँ सन्तान र माहिलो छोरो हुँ । मैले वन विज्ञानमा स्नातकसम्मको अध्ययन पूरा गरेको छु र हाल वन अधिकृतको रूपमा रसुवा जिल्लामा कार्यरत छु ।
२. वन विज्ञानको विद्यार्थी कसरी साहित्यमा आकर्षित हुनुभयो ?
मेरो पिताजीले थुप्रै कविता लेख्नुभएको छ र माताजीले पनि । उहाँहरूले साँझ–बिहान महाकवि देवकाटा, लेखनाथ पौडेल तथा जगन्नाथ गुरागाईका कविता गुनगुनाएको सुन्दासुन्दै म पनि कवितातिर आकर्षित भएको थिएँ । सौँठा माध्यमिक विद्यालयका नेपाली शिक्षक स्व. धरणीधर ढुङ्गानाको छन्दकविता वाचनशैलीले पनि मलाई कविताप्रति थप अभिरुचि जगायो । साथै रेडियो नेपालका वासुदेव मुनालले सञ्चालन गर्ने बालकार्यक्रम र दाहाल यज्ञनिधिको कविता वाचनले पनि म प्रभावित भएको थिएँ ।
वन विज्ञान त मैले पछि रोजेको विषय हो । तर वन विभागको जागीरको सिलसिलामा मैले देशका विभिन्न भागमा हिँडडुल गर्ने मौका पाएँ जसबाट मलाई लेखनकार्यमा थप प्रेरणा भने अवश्य प्राप्त भयो ।
३. कविता, काव्य, उपन्यास, नाटक, समीक्षाजस्ता धेरै विधामा कलम चलाएको तपाईको लेखनले सबैतिर आफ्नो विशेष प्रभाव बनाएको भन्ने सुनिन्छ । तपाई आफूचाहिँ कुन विधामा रचना गर्दा विशेष रमाउनु हुन्छ ? किन ?
तपाईले भनेजस्तै मैले थोरै–थोरै भए पनि प्रायः सबै विधामा कलम चलाएको छु । विशेष प्रभाव बनाएको भन्ने कुरा त अतिशयोक्तिपूर्ण हुनजाला । तर पढ्न थालेपछि पढिरहूँ जस्ता रचना हुनुपर्छ भन्ने मेरो मान्यता हो । म बढी प्रकृतिनिकट भएर अभिव्यक्ति दिन रुचाउँछु । शायद त्यही कारणले पनि होला म कविता विधामा पोखिँदा बढी रमाउँछु । कवितामा थोरै शब्दहरूको प्रयोगले बढी कुरा दिन सकिन्छ । तर अन्य विधामा थोरै कुरा भन्न पनि बढी शब्दहरू प्रयोग गर्नुपर्ने हुन्छ ।
४. तपाई एक कुशल छन्द साधक भएको नाताले नेपाली छन्द कविता हाल के कस्तो अवस्थामा रहेको देख्नुहुन्छ ?
छन्दमा कुशलता हासिल गर्नु निकै कठिन काम हो । मैले धेरैजसो कविता छन्दमा रचना गरेको छु । छन्दमा सुन्दर र मार्मिक कविता रचना गर्न पर्याप्त साधना र अभ्यासको आवश्यकता पर्छ । साथै प्रतिभा पनि प्रमुख तत्त्व हुँदै हो ।
जहाँसम्म नेपाली छन्द कविताको वर्तमान अवस्थाको कुरा छ, यसबारेमा यकीन जवाफ दिन बृहत् अध्ययन र अनुसन्धानको आवश्यकता हुन्छ ।
नेपाली साहित्यको प्राथमिककालदेखि नै कविताको शुरूआत पनि छन्द कविताबाटै भएको पाइन्छ । नेपाली भाषा–साहित्यलाई जनमानसमा स्थपित गर्न अतुलनीय भूमिका खेल्ने भानुभक्तीय रामायणले नेपाली समाजमा छन्दलाई पनि स्थापित गरिदियो । छन्दको आफ्नै मिठास र महत्ता छ । छन्द कविता कण्ठस्थ गरी पुनः पुनः वाचन गर्न सजिलो हुन्छ । यसमा जिब्रोमा झुण्डिनसक्ने सुक्ति–उक्तिहरूलाई कलात्मकरूपले समावेश गर्न सकिन्छ ।
उपर्युक्त कारणले गर्दा आजसम्म पनि छन्दमा कविता लेख्ने क्रम रोकिएको छैन । तीस र चालीसको दशकमा छन्दकविता केही सुस्ताएको पाइन्छ भने पचासको दशकदेखि यो पुनः जीवन्त भएर आएको देखिन्छ ।
भानुभक्त आचार्यदेखि लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, माधव घिमिरेलगायत पुराना पुस्ताका कविहरूले छन्दकवितालाई नयाँ उचाइदिएका हुन् भने वर्तमानमा डा. रामप्रसाद ज्ञवाली, भुवनहरि सिग्देल, रमेश खकुरेल, डा. देबी नेपाल, डा. रमेशचन्द्र अधिकारी, चन्द्रप्रसाद न्यौपाने, बुनू लामिछाने, प्रभा भट्टराई, शर्मिला गिरी, नारायण निराशी, डा. नवराज लम्साल, प्रह्लाद पोख्रेल, बलराम दाहाल,नारायण पोख्रेल, डा.लेखप्रसाद निरौला, डा. ओमवीरसिंह बस्न्यातजस्ता अन्य धेरै कविहरू छन्दमै साधनारत देखिन्छन् ।
विश्वमै अन्य भाषाहरूमा ठूला काव्यकृति लुप्त हुँदै जाँदा पनि नेपाली भाषामा महाकाव्यहरू प्रकाशित भइरहनु र ती महाकाव्यहरूमा छन्दको वर्चस्व रहनु खुशीको कुरा हो ।
छन्द कविताका एकल वा संयुक्त वाचन कार्यक्रमहरूमा जोडदाररूपले प्रस्तुत हुनसक्ने सुदेश सत्याल र मनोज भण्डारीजस्ता नयाँ पुस्ताको उपस्थितिले छन्द कविताको भविष्य सुन्दर नै देखिन्छ ।
सार्वजनिकरूपमा कतै र कहिल्यै नाम नसुनिएका व्यक्तिहरूले पनि सामाजिक सञ्जाल फेसबुक र टुइटरमा छन्द कविताहरू लेखेको देखिनुले छन्दको प्रभाव कायम रहेको देखिन्छ । तर गुणस्तरीय छन्दकविता तयार पार्नु आफैँमा निकै ठूलो चुनौती भने हुँदै हो ।
समग्रमा भन्नुपर्दा वर्तमान अवस्थामा छन्दोबद्ध फुटकर रचनाहरू, खण्डकाव्यहरू, महाकाव्यहरू प्रकाशित भइरहेका छन् । लेख्दैजाँदा नै त्यसले आफ्नो गुणस्तर पनि सुधार गर्दै जाने भएकाले छन्द कवितामा भएको र हुनसक्नने प्रगति सन्तोषप्रद मान्न सकिन्छ ।
५. छन्द कविताका सबल र दुर्बल पक्षहरू के के हुन् ?
छन्द कविताको सबल पक्ष भनेको यसको गेयात्मकता नै हो । यसलाई लय हालेर वाचन गर्न सकिन्छ । त्यो लयबाट उत्पन्न हुने झङ्कारले हृदयको गहिराइलाई स्पर्श गर्नसक्छ । छन्द कवितालाई थोरै प्रयत्नमै पनि कण्ठस्थ पारेर जुनसुकै अवस्थामा तत्कालै सुनाउन सकिन्छ । छन्दमा अनेक प्रकारका अलङ्कारहरू समावेश गर्न सकिन्छ जसले अभिव्यक्तिलाई थप आकर्षक र रसमय बनाउँछन् ।
छन्दको अर्को सबलता भनेको यसमा अमूर्तताले स्थान पाउँदैन । जे भन्न खोजेको हो त्यो प्रस्ट हुन्छ । त्यसले दिने सन्देश प्रस्ट हुन्छ । छन्द फर्सीको जराजस्तो अबोधगम्य हुनसक्दैन ।
छन्द भनेको अक्षर र शब्दहरूको सूत्रात्मक प्रयोग भएकोले यो नेपाली भाषाकै सम्पत्ति हो । जुनसुकै भाषामा छन्द प्रयोगमा आएको हुँदैन । छन्दोबद्ध कविता तयार गरिने भाषा आफैँमा सबल भाषा पनि हो अर्थात् भाषाको जीवन्तताको मानक भनेको छन्द पनि हो ।
छन्दको दुर्बल पक्ष भनेको के हो भने खास गरी यसमा अक्षर गन्नै पर्ने, नियम मान्नै पर्ने, ह्रस्व र दीर्घका तारतम्य मिलाउनै पर्ने हुन्छ । नेपाली मातृभाषीबाहेकका अन्य जातजाति वा भाषाका मान्छेहरू(जसको जनसङ्ख्या ठूलो छ)लाई सामान्य अवस्थामै पनि नेपाली राम्ररी बोल्न र लेख्न अप्ठेरो पर्ने अवस्था छ । त्यसमाथि पनि उच्च नियमका परिधिमा रहेर गरिने छन्द संरचनाबारेमा जानकारी लिन र त्यसमा साधना गर्न अवश्य पनि सजिलो छैन । छन्दमा प्रयुक्त गति, यति, लय आदिलाई सजिलै पक्डिन गैरनेपाली मातृभाषीहरूलाई कठिन हुन्छ ।
जसले गर्दा छन्द भनेको ब्राह्मण समुदायको प्यावाजस्तो बन्न पुगेको देखिन्छ । ब्राह्मण समुदायबाहेक अन्यत्र यसको विस्तार हुन नसक्नु वा त्यसो गर्न नसक्नु छन्दमा रहेको तगण मगणको दुरूहता नै हो ।
७.नेपाली भाषामा महाकाव्यहरू प्रकाशित भइरहेका छन् । अझ जोड दिएर भन्नुपर्दा महाकाव्य लेखनमा सहलेखनसमेत हुनथालेको देखिन्छ । के महाकाव्य विधामा यो आवश्यक छ ?
हो । केही समय यता धेरैजना कविहरू मिलेर एक महाकाव्य रचना गर्न थालेको देखिन्छ । यस प्रकारको प्रयोगबाट पहिलोपटक जियालो महाकाव्य प्रकाशित भएको छ । २०७३ सालको अन्त्यतिर प्रकाशित यो महाकाव्य कवि तथा कोशकार वसन्तकुमार शम्र्मा नेपाल, लक्ष्मीकुमार कोइराला, उपमा आचार्य, बुनू लामिछाने, खगेन्द्र खोल्साघरेलगायत एघारजना कविहरूको संयुक्त प्रयासमा रचना भएको छ । जियालोलाई सफल पार्नु हुने महाकाव्यकार बुनू लामिछानेजीलाई पनि हार्दिक धन्यवाद दिन्छु । यहाँ महाकाव्य सहलेखनको पहिलो सफल प्रयोगको नेतृत्व वसन्तकुमार शम्र्मा नेपालले गर्नु भएको छ । २०७४ को मध्यतिर सहलेखनको अर्को महाकाव्य आरोहण आएको छ । भुवनहरि सिग्देल, डां रामप्रसाद ज्ञवालीसहित तेह्रजना कविहरूको सहकार्यमा यो महाकाव्य तयार भएको देखिन्छ ।
यसरी नेपाली महाकाव्यमा संयुक्त लेखनको शुरूआत हुनु सुन्दर र महत्त्वपूर्ण कुरा हो । यसले साहित्यकारहरूबीच हुने सम्बन्धलाई मजबूत बनाउँछ भने कुनै चीज वस्तुलाई बुझ्ने बुझाउने कुराको हकमा समान धारणा र समझदारी विकास गर्नमा सहयोग पुग्छ । साथै काव्यलेखन एक व्यक्तिको निजी प्रयास हुँदाहुँदै पनि सहकार्यसमेत सम्भव रहेको प्रमाण यस प्रकारको प्रयोगले दिएको छ ।
तर यस प्रकारका कृतिहरू बजारमा आउँदा तिनलाई आफैँले ऐतिहासिक वा अद्वितीयजस्ता विशेषण दिएर हल्ला गर्न खोज्नु भने उत्तम कुरा होइन । कृतिको महत्ता पाठक, समालोचक, अनुसन्धाताहरूले महसुस गर्ने कुरा हो ।
तसर्थ महाकाव्य विधामा विभिन्न पृष्ठभूमिका कविहरू एक ठाउँमा आएर ठूलो रचना तयार गर्नु वा हुनु राम्रो कुरा हो । यस्तै प्रकारका थप कृतिहरू पुनः पुनः आऊन् । यो खुशीको कुरा हो ।
८. छन्दकविहरूले गद्यकविता र कविहरूलाई सामान्यतया कसरी हेर्ने गरेको पाउँनुहुन्छ ? त्यस्तै गद्यकविहरूले छन्दकवि र कविताहरूलाई कसरी हेर्ने गर्छन् ?
यो त नितान्त वैयक्तिक कुरा हो । कुनै छन्द कविले गद्य कवितालाई कसरी हेर्छ भन्ने कुरालाई सीधा सीधा भन्न अप्ठेरो हुन्छ । तर कतिपय छन्दकविहरूले गद्य कविहरूका रचनाई ‘इन्टर कविता’ अर्थात् कम्प्युटरको इन्टर बटन थिचेर निबन्धलाई कविता बनाएको भनेर खिसिट्युरी गर्ने गरेको सुन्नमा आउँछ भने कतिपय छन्दकविहरूले गद्य कविताहरूलाई पनि उत्तिकै मूल्य दिएको पाइन्छ । केही छन्द कविहरू छन्द कौशलको एकमात्र प्राधिकार आफू नै रहेको जस्तो गरी अहङ्कारपूर्ण रूपमा प्रस्तुत हुने गरेको भन्ने पनि सुनिन्छ ।
छन्दबाहेक कवितै हुनसक्दैन भन्ने जमात सानो छ । तर पनि यस प्रकारको विचार भने छ ।
त्यस्तै गद्य कविहरूले छन्द कविताहरू मन पराएको पनि मैले पाएको छु । छन्द जान्न पाए हुन्थ्यो भन्ने जिज्ञासा रहेको पनि पाएको छु । गद्यमा रचना गर्ने कतिपय कविहरूले भने छन्दलाई सङ्कुचित परम्परावादी साँघुरो विचार बोक्नेहहरूको लेघ्रो तान्ने खेती भन्ने गरेको पनि सुनेको छु ।
जे होस्, पद्य कविता र गद्य कविता दुबै नेपाली साहित्यकै सम्पत्ति हुन् । दुबैका आ आफ्नै प्रकारका सीमा र महिमा छन् । अतः यसमा एकले अर्कोलाई हिलो छ्यापाछ्याप गर्नुपर्ने कुनै कारण छैन ।
९.कवितालाई उपन्यासले सर्लक्कै निल्यो भन्ने चर्चा हुन्छ । यथार्थ के हो ?
झट्ट हेर्दा यस्तो लाग्नसक्छ । किनभने जताततै बजारका पुस्तक पसलहरूमा उपन्यासहरू नै अगाडि झुन्ड्याएको देखिन्छ । उपन्यासको बिक्री बढेको पनि होला । तर कविता विधाको मूल्य फरक छ । भाषाको उच्चतम र कलात्मक अभिव्यक्ति हुनुको कारणले कविताको गरिमा कहिल्यै पनि समाप्त हुनसक्दैन । मानिस सदैव काव्यात्मक अभिव्यक्ति दिन रुचि राख्छ भन्ने कुरा फेसबुक र टुइटरमा लेखिने–देखिने अभिभव्यक्तिहरूबाट प्रस्ट हुन्छ । अतः कविताको आफ्नो आन्तरिक गति, लय र प्राण हुन्छ । यसलाई उपन्यासले निल्यो भन्ने कुरा सत्य होइन ।
१०. नेपाली साहित्यकारहरूका वर्तमानका समस्याहरू के के हुन् ?
नेपाली साहित्यकारहरूका अनेकौँ समस्याहरू होलान् । छन् । पूर्णकालीन भएर रचना गर्न नपाउँनु वा नसक्नु । घर परिवार, आफ्नो व्यवशाय वा नोकरीबाट समय निकालेर रचना गर्नु पर्ने बाध्यता होलान् । रचना कर्मलाई दत्तचित्त भएर समय दिन नसक्ने अवस्था रचनाकारको आर्थिक पक्षसँग सम्न्धित हुन्छ । सामान्य जीविकोपार्जनसम्म गर्ने आम्दानी भएको लेखक–साहित्यकारले सम्पूर्ण समय लेखनमा दिएर बस्न सक्ने कुरा पनि भएन । नेपाली भाषाको पुस्तक बेचेरै पूर्णकालीन लेखक हुनसक्ने अवस्था सिर्जना भइसक्यो भन्ने अवस्था पनि देखिन्न ।
अर्को कुरा, लेखकहरूले फरक कुरा, फरक शैलीमा, फरक उचाइबाट लेख्नेभन्दा पनि परम्परागत धारलाई नै निरन्तरता दिएको देखिन्छ । कविता वा उपन्यास अथवा निबन्ध विधाको पनि हालत उस्तै छ । समयले हरेकपटक नयाँ कुराको माग गर्छ । नयाँ ढङ्ग र स्वाद माग गर्छ । तर त्यस दिशामा खासै काम भएको नदेखिनु अर्को समस्या हो ।
लेखनपूर्व गरिने अध्ययन, अनुसन्धान र लेखनपश्चात् गरिने सम्पादनमा पर्याप्त ध्यान पुगेको नदेखिनु अर्को समस्या हो । जे लेखे पनि भैहालछ नि भन्ने कुरा ठीक होइन ।
प्रकाशनको पनि समस्या समाप्त भयो भन्ने अवस्था छैन ।
लेखक र प्रकाशकबीच पनि समस्या देखिन्छन् । प्रकाशक र बजारबीच पनि समस्या छन् ।
नेपाली भाषाकै दायरा एकदमै ठूलो पनि छैन । तसर्थ हामीकहाँ समस्याहरू धेरै भए पनि अवसरहरू पनि उत्तिकै रहेका छन् ।
गुट, उपगुट तथा अनेकखालका कोटरीवादद्वारा साहित्यकारहरू गाँजिएका पनि छन् । आफ्नो गुट वा समूहको सदस्यबाहेकलाई महत्त्व नदिने, हावामा उडाउने, कटु लाञ्छना लगाउने गरेको पनि सुनिन्छ । यो पनि सङ्कीर्णतावादी सोचले उत्पन्न गरेको समस्या हो । फराकिलो हृदयले कुनै पनि विषय वस्तुलाई हेर्ने–बुझ्ने कुरामा सहकार्य गर्नसक्ने अवस्था भएन भने त्यसले सत्यको अन्वेषणलाई छायामा पार्नसक्छ ।
आज वैचारिकरूपले पनि कवि लेखकहरू के लेख्ने भन्ने कुराको समस्यामा परेको आभास हुन्छ । राजनैतिक संक्रमणकाल रहेकोले कवि–लेखकहरू कतातिर कति ढल्किएर के रचना गर्ने भन्ने वैचारिक समस्यामा पनि छन् । एकातिर प्रगतिवादी, प्रगतिशील र अर्कातिर गैरमाक्र्सवादी धारबाट कलम चलाउने स्रष्टाहरू पनि अन्योलमै रहेको देखिन्छ । समयसापेक्ष वैचारिक रूपान्तरण आजको आवशयकता हो । लेखक–कविहरू जड भएर रहनु हुँदैन । जडता अर्को समस्या हो ।
११.नेपाली साहित्य हाल के कस्तो अवस्थामा छ ?
यो त पर्याप्त अनुसन्धान नगरी ठ्याक्क भनिहाल्न सकिने कुरा होइन । तर पनि नेपाली भाषामा पुस्तक लेखिने क्षेत्र, विधाहरूको विस्तार भएको छ । साक्षरताको वृद्धिसँगै पठनसंस्कृति पनि बढेको अनुमान गर्न सकिन्छ । यातायात साधनहरूको सुगमताले मानिसहरूसँगै पुस्तकहरू पनि टाढा–टाढासम्म फैलिनसक्ने अवस्था छ । अनलाइनमै पुस्तकहरू किन्न सकिन्छ । यसरी हेर्दा नेपाली भाषामा साहित्यलेखनको इतिहास खासै लामो नभए पनि आज जे जति पुस्तकहरू जुनरूपमा बजारमा देख्न पाइन्छ यसले नेपाली साहित्य प्रगतिसहित अगाडि जान्छ भन्ने कुरालाई सुनिश्चित गर्छ । नेपाली भाषाका कृतिहरूलाई अन्य विदेशी भाषाहरूमा अनुवाद गरी नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय रङ्गमञ्चसम्म पु¥याउन सकिने अवस्था देखा परेको छ ।
नेपाली समाजका बहु आयामिक विषयहरूमाथि लेख्न र लेखिन बाँकी नै छ । धेरै भन्दा धेरै विषयहरूमा लेखिनु पर्छ । धेरै क्षेत्रमा लेखिएपछि नै आपसी प्रतिस्पर्धा र गुणात्मकतासमेत थपिँदै जान्छ । नेपाली साहित्यमा गर्नु पर्ने काम धेरै छन् । स्थिति निराशाजनक छैन । तर गर्नु पर्ने काम भने निकै बाँकी छ जस्तो लाग्छ ।
१२. महिला साहित्यकारहरूर पुरुष साहित्यकारहरूका बीच लेखकीय भिन्नता पनि छन् कि ?
हेर्नोस्, नारी स्रष्टाहरूका समस्या कति होलान् ? घर, लोग्ने, बच्चा, सामाजिक मनोवैज्ञानिक दबाबहरू, अनेकौँ बाधा–व्यवधान र असजिलो अवस्थालाई चुनौती दिँदै उहाँहरूले लेख्नुपर्ने हुन्छ । पुरुषहरूलाई धेरै सजिलो छ । तर महिलाको अवस्था फरक छ । तर पनि महिला लेखकहरूले कष्टसाध्य अवस्थाका बीचबाट पनि रचनाहरू दिइरहनु भएको छ । यसमा खुशीको कुरा त झन् के भने कतिपय नारी स्रस्टाहरूले त निकै राम्रा रचनाहरू गर्नुभएको छ । चाहे उपन्यासमा होस् वा कवितामा, नारी स्रष्टाहरू झन् बढी सशक्त भएर आइरहेको देखिन्छ । स्वाभाविकरूपले महिलाहरूको लेखनमा आफूले भोगेका वा अनुभूति गरेका पीडा र यन्त्रणाका कुराहरू शूक्ष्मरूपमा आइरहेका छन् । चेतनास्तरमा भएको बदलाव र आत्मनिर्भर बन्दै गएका नारीहरूले लेखनमा पुरुषसरह आफ्नो उपस्थिति देखाउन थालेका छन् । यस अर्थमा पुरुष र नारी स्रष्टाहरूबीच हुने लेखकीय भिन्नता दिनानुदिन कम हुँदै आएको मान्नुपर्छ ।
कवितामा कलम चलाइरहेका सीमा आभास, उषा शेरचन, मोमिला, शकुन्तला जोशी, बुनू लामिछाने, सरिता तिवारी, विमला तुम्खेवा, प्रभा भट्टराई, प्रतिमा पाठकजस्ता नारी हस्ताक्षरहरूलाई हामीले पढिआएका छौँ । त्यस्तै कथातर्फ निरूपा प्रसून, ज्योति जंगलहरूलाई पनि पढ्न पाइएको छ । उपन्यासमा त नारीहरूको उपस्थिति आक्रामकरूपले अगाडि आएको देखिन्छ । गीता केशरी, शारदा शर्माहरू अझै पनि सक्रिय देखिनुहुन्छ भने मनीषा गौचन, नीलम कार्की निहारिका, उमा सुवेदी, प्रगति राई, सरस्वती प्रतीक्षा, विनीता बरालजस्ता नयाँ पुस्ताका उपन्यासकारहरू सशक्तरूपले देखापर्नुभएको छ ।
महिलाहरूको भावनात्मक प्रस्तुतिमा आ–आफ्नै प्रकारको वैशिष्ठ्य महसुस हुन्छ । अब महिलाहरूको बारेमा पुरुषले लेखिदिनु पर्ने दिन रहेनन् ।
१३.नेपाली लेखक साहित्यकारहरूलाई दिइने पुरस्कारहरू कहिलेकाहीँ विवादमा पर्ने गरेको देखिन्छ । यसमा तपाईको धारणा के छ ?
संसारभरिकै प्रायः ठूला पुरस्कारहरू विवादरहित छैनन् । नेपालमा पनि यस प्रकारका विवादहरू कहिलेकाहीँ कोठा–चोटा हुँदै बजारसम्मै आइपुग्छन् । पुरस्कारका लागि लेखकहरूले गर्ने चाकडी, चाप्लुसीका कुराहरू एकातिर छन् भने अर्कातिर मिलोमतोका कुराहरू पनि यदाकदा सुनिन्छन् । पुरस्कार लिन वा प्राप्त गर्न निवेदन दिनुपर्ने कुरा पनि विवादरहित छैन । पुरस्कार गुठीको पवित्रताका कुराहरूमाथि पनि यदाकदा प्रश्नहरू उठ्ने गरेका छन् ।
तर पनि पुरस्कार दिने संस्थाहरू स्थापना हुनु खुशीको कुरा हो । पुरस्कारको राशि बढ्दै बढाउँदै जानु पनि राम्रो कुरो । यसले स्रष्टाहरूलाई राम्रै गर्छ ।
१४.अनि पुरस्कृत हुने पात्र प्रतिभाहरूले पुरस्कार थाप्दा सोच्नु पर्ने केही कुराहरू हुन्छन् कि ?
स्वाभाविकरूपले कुनै पनि लेखकले आफूले प्राप्त गरेको वा प्राप्त गर्न लागेको पुरस्कार ग्रहण गर्ने नगर्ने कुरामा सावधानी अपनाउनु राम्रो कुरा हो । कस्तो गुठीबाट पुरस्कार दिन लागेको हो ? कस्तो पात्रको हातबाट प्रदान गर्न लागेको हो ? यी यस्ता कुरामा विचार गर्दा भविष्यमा हुनसक्ने पश्चात्तापबाट मुक्त हुन सकिन्छ । यसमा लेखकहरूको आफ्नो विचार प्रस्ट हुनुपर्छ । यो कुरा स्रष्टाको स्वाभिमान, अडानमा भर पर्ने कुरा हो ।
१५. अन्त्यमा, नेपाली साहित्यको उन्नयनका लागि के के गर्नुपर्छ जस्तो लाग्छ ? केही सुझावहरू दिनुहुन्छ कि ?
सबैभन्दा पहिले त विविध विधामा अनेक रचनाहरू आउनु पर्छ । रचनाहरू आकर्षक र प्रभावकारी बनाउँन स्वयं लेखकहरू सजग हुनुपर्छ । पर्याप्त अध्ययन र अनुसन्धानपछि मात्र लेख्न बस्दा उत्तम हुन्छ ।
साहित्यिक संघसंस्थाहरूले समसामयिक वैचारिक दार्शनिक विषयहरूमा नियमित छलपल र बहसहरू चलाउनु पर्छ । फरक मतलाई सम्मान गर्न मानसिकरूपले तयार हुनुपर्छ । नयाँ शिल्प र शैलीलाई समयसापेक्ष विचारले निर्देशित गर्नसक्नुपर्छ ।
प्रज्ञाप्रतिष्ठानहरू सत्ताधारीहरूका आसेपासे र धुपौरेहरूको जागीर खाने अड्डामात्र बन्दा भाषा–साहित्यको उन्नयन हुनसक्दैन । र राज्यले भाषा–साहित्यलाई अनुत्पादक क्षेत्र ठान्ने सोचमा परिवर्तन गनुपर्छ ।
अन्त्यमा, धन्यवाद अग्निचक्र मासिक तथा सम्पादक लक्ष्मीनारायण भट्टराईजीलाई ।
(२०७४ चैत्रमा प्रकाशित ।)
Saturday, November 2, 2019
जीविकाको “अक्षर प्रेम”
सङ्गीतसाहित्यकलाविहीनM
साक्षात् पशुM श्रृङ्गविषाणहीनM ।
सङ्गीत, साहित्य र कला नभएकाहरू पुच्छरबिनाका
पशु हुन् । यसरी यस श्लोकमा सङ्गीत, साहित्य, कलालाई उच्च सम्मान दिइएको छ । वास्तवमा कला–साहित्यले नै मानिसको हृदयको अज्ञात प्यासलाई तृप्त
पार्दछ । आनन्द प्रदान गर्दछ । आनन्द नै जीवनको गन्तव्य हो । यही आनन्दको खोजले नै
मानिसलाई कला–साहित्यको सन्निकट पु¥याउँछ । हाम्रा पुरातन ऋषिमुनिहरूले अनादिकालदेखि आनन्दप्राप्तिको खोजलाई साहित्य
रचनामार्फत सम्बोधन गरेका छन् । त्यसकै निरन्तरतास्वरूप आजसम्म पनि कला –साहित्यको सिर्जना भइ नै रहेको छ
।
नेपाली भाषामा कविता, कथा, उपन्यास, निबन्ध, नियात्रा, गजलजस्ता विधामा रचनाहरू भएका छन् । प्राथमिककालीन, माध्यमिककालीन हुँदै आधुनिक नेपाली
साहित्य क्रमशः उत्तर आधुनिकतातिर समेत लम्किँदो छ ।
आज नेपाली साहित्य जे जस्तो
रूपमा अगाडि बढेको छ त्यसबाट आशा गर्ने थुप्रै ठाउँहरू छन् । साथै नेपाली भाषामा जे
जति साहित्य सिर्जना भएका छन्, त्यसका लागि स्वदेशमा र अन्यत्र बसोबास गर्ने नेपाली भाषीहरूको पनि उत्तिकै योगदान
रहेको छ ।
नेपालबाहिर रहेर पनि नेपाली
भाषा साहित्यको सेवा गर्नेहरूप्रति हामी सबैले इतिहासदेखि नै पर्याप्त सम्मान प्रदान
गर्दै आएका छौँ । यस क्रममा हामी सिक्किमका साहित्यकारहरूलाई विशेष सम्झना गर्दछौँ
। आसाम, दार्जिलिंग, सिक्किम, बर्मामा रहेर नेपाली भाषामा साहित्य
सिर्जना गर्नु आफैँमा आदरयोग्य कुरा हो ।
यही क्रममा गजलसङ्ग्रह लिएर
आएकी छिन् M जीविका खतिवडा अश्रु । विदेशमा रहेर
पनि नारीहरूले देखाएको नेपाली साहित्यप्रतिको यसप्रकारको आस्थालाई नमन गर्नुपर्दछ ।
किनभने नारीहरूले घर, परिवार, बालबच्चालगायत अरू पनि जम्मै काम भ्याएरमात्र साहित्यका लागि कलम चलाउँने मौका
पाउँने हुन् । त्यसको लागि निकै ठूलो धैर्य र लगाव आवश्यक पर्दछ । जो जीविकामा पनि
पाउँन सकिन्छ ।
गजलकार जीविका खतिवडा कोशी
अञ्चल, मोरंग जिल्ला, जाँते गा वि स ३ बेल्टारमा जन्मिएर
हाल गान्तोकमा रहेकी एक उर्वर कला सर्जक हुन् ।
अक्षर प्रेम गजलसङ्ग्रह लिएर
साहित्यिक फँटमा देखिएकी जीवकाको सौन्दर्यचेत उम्दा महसुस हुन्छ । जीवन यात्राका अनेकौँ
आरोह–अवरोहमा सँगालिएका अनुभव, अनुभूतिहरूलाई जीविकाले आफ्ना गजलहरूमार्फत
कलात्मक प्रस्तुति दिएकी छिन् ।
माध्यमिक कालमा नेपाली साहित्यमा
मोतीराम भट्टले भित्र्याएको गजल विधाका संरचनागत आफ्नै मूल्य र मान्यता छन् । प्रेम, प्रणय, रतिराग वा हृदयका प्रेममय कोमल भावानुभूतिहरूलाई
गेयात्मक शैलीमा अरबीबाट उर्दु हुँदै हिन्दीको बाटो भएर नेपाली भाषामा देखापरेको यस
गजल विधाले आजका दिनसम्ममा निकै लामो यात्रा तय गरिसकेको छ । र जीविका खतिवडा अश्रुले
यस विधाका लागि सिक्किमबाट थप एउटा इटा प्रदान गरेकी छिन् ।
पुराना दिनहरूमा प्रेम र अनुरागको
विषयलाई सम्बोधन गर्दै आएको गजल विधा आजभोलि रतिरागसम्ममा मात्र सीमित छैन । गजलले
समाजको समसामयिक चित्रणसमेत कलात्मक र प्रभावकारीरूपमा प्रस्तुत गर्न थालेको छ । जो
जीविकाको गजलसङ्ग्रह “अक्षर प्रेम”मा पनि देख्न सकिन्छ ।
भाव, विचार, कला, शब्द संयोजन तथा लयले गजललाई प्रभावकारी बनाइरहेको हुन्छ
। खास गरी काफिया र रदीफको संयोजनबाट संरचित गजल नै उत्तम मानिन्छ । मतलाबाट शुरु भएर
मकतासँगै एक आवृत्ति प्राप्त गरी गायन वा वाचन गर्दा हृदयलाई तृप्त पार्नसक्ने तTत्व गजलमा हुनैपर्छ ।
गजलकार जीविका खतिवडा अश्रुले
पनि यस प्रकारको संरचनालाई यथासम्भव अनुशरण र आत्मसात गर्दै रचना गरेको पाइन्छ ।
आशा–निराशा, उकाली–ओराली, दुःख–सुख, हाँसो–रोदन, मिलन–विछोड, प्रेम–घृणा, घाम–छायाँ, घात–प्रतिघात जस्ता विविध कुराहरूले
सबै मानिसहरूलाई प्रभाव पारिहेको हुन्छ । यिनै प्रभावहरूबाट गजलकार जीविका पनि प्रभावित
भएर गजलका आधारभूत मूल्यमान्यताहरूलाई अङ्गीकार गर्दै आफ्ना गजलहरूमा एकान्तता, कोलाहल, राजनीति, देशप्रेम, अक्षर अनुरागमा कहीँ धैर्यतापूर्वक
र कहीँ हतारिएर छरपस्ट पोखिएकी छिन् । प्रेमको शाश्वत सत्यलाई केन्द्रमा राख्दै उनी
वर्तमानमा मानिसले भोग्दै आएका पीडा र छटपटीहरूलाई कलात्मकरूपले अभिव्यक्त गर्छिन्
।
महिलाहरूले अझै पनि सामाजिक
अपहेलना भोग्न बाध्य हुनुपरेको अवस्थाप्रति जीविका चिन्तित देखिन्छिन् । त्यस्ता अवाञ्छित
अवस्थाहरूप्रति असन्तुष्टि व्यक्त गर्दै सम्पूर्ण नारी जातिकै आत्मसम्मानका लागि महिलाहरू
नै सशक्त भएर अगाडि आउँनु पर्ने भावना व्यक्त गर्ने जीविकाको गजल “अक्षर प्रेम” सङ्ग्रहमा बयालीस वटा गजलहरू सङ्ग्रहित छन् ।
जीवनलाई साहित्यसेवाको यात्राबाटै
सार्थक बनाउन प्रयत्नशील रहेकी जीविका खतिवडा अश्रुले तयार पारेको अक्षर प्रेम गजल
सङ्ग्रह प्रकाश कार्की सुमनले प्रकाशित गरेका हुन् भने बिराटनगरका कवि बालकृष्ण पोख्रेल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व
सदस्य सचिव सनत रेग्मी, साहित्यकार मधु पोख्रेलले सफलताको शुभकामना व्यक्त गर्नु भएको छ भने नेपाली साहित्य
परिषद् सिक्किमले पनि शुभेच्छा प्रकट गरेको छ ।
जाँदाजाँदै म पनि जीविकाको
साहित्यिक यात्राको सफलताको कामना गर्दै उनको एउटा गजल टुक्रा गुन्गुनाउँदै बिदा लिन्छु
M
तिम्रै सृष्टि तिमी आफैँ लत्याउँछौ
किन <
अघि बढ्दा बाटो मेरो भत्काउँछौ
किन <
-नरेन्द्र पराशर
रतुवाममाई –४, मोरंग
Wednesday, February 20, 2019
हाम्रो मति
हामी बाँदर पालेर, निकुञ्जमा रमाउँछौँ ।
कर्मवीर युवालाई, 'खाडी'तर्फ धपाउँछौँ ।।
।।१।।
रुख काट्न दिँदैदिन्नौँ, धोद्रो पारी सडाउँछौँ ।
बर्मा मलेसियाबाट कच्चा काठ झिकाउँछौँँ ।।
।।२।।
'स्वदेशी बीउ फल्दैन', भन्ने विज्ञान ल्याउँछौँ ।
विदेशी बीउ किन्दामा हामी मस्त रमाउँछौँ ।।
।।३।।
हामी कागजमा ठूला पोखरी नै खनाउँछौँ ।
फेरि कागजमै हामी, पुर्नलाई लगाउँछौँ ।।
।।४।।
खोला हालेर झोलामा, आफ्नै भँडार फोर्दछौँ ।
दिई कानुनका धारा, थैली हामी निचोर्दछौँ ।।
।।५।।
किलो पाँचेकको घिच्रो, घमण्डले फुलाउँछौँ ।
टन क्विन्टलको माला पाएदेखि लगाउँछौँ ।।
।।६।।
नेपाली बोल्न रोकेर, अंग्रेजी नै पढाउँछौँ ।
भाषा ध्वस्त गरी हामी प्रज्ञामा मुस्कुराउँछौँ ।।
।।७।।
'केही छैन मरी लानु' भनी निर्धक्क भन्दछौँ ।
भ्रष्ट आचारको पैसो, कुना पसेर गन्दछौँ ।।
।।८।।
'बिग्रियौँ, पर्ख सच्चिन्छौँ,' भन्छौँ हल्ला फिँजाउँछौँ ।
सच्चिने जनताले हो, लाठी ठोक्न लगाउँछौँ ।।
।।९।।
यौटा वाक्य बटारेर, नीतिमै छिद्र पार्दछौँ ।
सद्धे जहाज ल्याएर, भोलिपल्टै बिगार्दछौँ ।।
।।१०।।
साना साना दुलाबाट हात्ती हामी छिराउँछौँ ।
आफैँ गल्ती गरी हामी, दोष अन्तै भिराउँछौँ ।।
।।११।।
गणतान्त्रिक हौँ भन्छौँ राजाझैँ मुस्कुराउँछौँ ।
दशैँका पाहुनालाई, घुँडा टेक्न लगाउँछौँ ।।
।।१२।।
कर्मवीर युवालाई, 'खाडी'तर्फ धपाउँछौँ ।।
।।१।।
रुख काट्न दिँदैदिन्नौँ, धोद्रो पारी सडाउँछौँ ।
बर्मा मलेसियाबाट कच्चा काठ झिकाउँछौँँ ।।
।।२।।
'स्वदेशी बीउ फल्दैन', भन्ने विज्ञान ल्याउँछौँ ।
विदेशी बीउ किन्दामा हामी मस्त रमाउँछौँ ।।
।।३।।
हामी कागजमा ठूला पोखरी नै खनाउँछौँ ।
फेरि कागजमै हामी, पुर्नलाई लगाउँछौँ ।।
।।४।।
खोला हालेर झोलामा, आफ्नै भँडार फोर्दछौँ ।
दिई कानुनका धारा, थैली हामी निचोर्दछौँ ।।
।।५।।
किलो पाँचेकको घिच्रो, घमण्डले फुलाउँछौँ ।
टन क्विन्टलको माला पाएदेखि लगाउँछौँ ।।
।।६।।
नेपाली बोल्न रोकेर, अंग्रेजी नै पढाउँछौँ ।
भाषा ध्वस्त गरी हामी प्रज्ञामा मुस्कुराउँछौँ ।।
।।७।।
'केही छैन मरी लानु' भनी निर्धक्क भन्दछौँ ।
भ्रष्ट आचारको पैसो, कुना पसेर गन्दछौँ ।।
।।८।।
'बिग्रियौँ, पर्ख सच्चिन्छौँ,' भन्छौँ हल्ला फिँजाउँछौँ ।
सच्चिने जनताले हो, लाठी ठोक्न लगाउँछौँ ।।
।।९।।
यौटा वाक्य बटारेर, नीतिमै छिद्र पार्दछौँ ।
सद्धे जहाज ल्याएर, भोलिपल्टै बिगार्दछौँ ।।
।।१०।।
साना साना दुलाबाट हात्ती हामी छिराउँछौँ ।
आफैँ गल्ती गरी हामी, दोष अन्तै भिराउँछौँ ।।
।।११।।
गणतान्त्रिक हौँ भन्छौँ राजाझैँ मुस्कुराउँछौँ ।
दशैँका पाहुनालाई, घुँडा टेक्न लगाउँछौँ ।।
।।१२।।
Sunday, January 20, 2019
कसरी हाँस्न मिल्छ र ?
थारैमात्र रहे भैँसी पाल्नुको हुन्छ अर्थ के ?
सुकेको रूखमा पानी हाल्नुको हुन्छ अर्थ के ?
उम्रिदैन भने बीज बारीमा किन छर्नु र ?
गरिमाहीन मान्छेमा लगानी किन गर्नु र ?
।।१।।
निकालिन्न भने केही खानीको हुन्छ अर्थ के ?
खोलैखोला बगी जाने पानीको हुन्छ अर्थ के ?
सुन हैन भनी जाने आगोमा किन गाल्नु र ?
खोटो सिक्का टिपी व्यर्थै खल्तीमा किन हाल्नु र ?
।।२।।
बसिँदैन भने ठूलो घरको हुन्छ अर्थ के ?
बोकिँदैन भने भारी बलको हुन्छ अर्थ के ?
लुगा राखेर बाक्सामा नाङ्गो भै हिँड्न मिल्छ र ?
जनको स्वप्नकोे वृक्ष चटक्कै गिँड्न मिल्छ र ?
।।३।।
चम्किँदैनन् भने राति ताराको हुन्छ अर्थ के ?
फल नपाइने सारा नाराको हुन्छ अर्थ के ?
आमाको पटुकाको त्यो नासो के मास्न मिल्छ र ?
देश नै शोकमा देख्छु कसरी हाँस्न मिल्छ र ?
।।४।
सुकेको रूखमा पानी हाल्नुको हुन्छ अर्थ के ?
उम्रिदैन भने बीज बारीमा किन छर्नु र ?
गरिमाहीन मान्छेमा लगानी किन गर्नु र ?
।।१।।
निकालिन्न भने केही खानीको हुन्छ अर्थ के ?
खोलैखोला बगी जाने पानीको हुन्छ अर्थ के ?
सुन हैन भनी जाने आगोमा किन गाल्नु र ?
खोटो सिक्का टिपी व्यर्थै खल्तीमा किन हाल्नु र ?
।।२।।
बसिँदैन भने ठूलो घरको हुन्छ अर्थ के ?
बोकिँदैन भने भारी बलको हुन्छ अर्थ के ?
लुगा राखेर बाक्सामा नाङ्गो भै हिँड्न मिल्छ र ?
जनको स्वप्नकोे वृक्ष चटक्कै गिँड्न मिल्छ र ?
।।३।।
चम्किँदैनन् भने राति ताराको हुन्छ अर्थ के ?
फल नपाइने सारा नाराको हुन्छ अर्थ के ?
आमाको पटुकाको त्यो नासो के मास्न मिल्छ र ?
देश नै शोकमा देख्छु कसरी हाँस्न मिल्छ र ?
।।४।
Subscribe to:
Posts (Atom)