Saturday, November 2, 2019

जीविकाको “अक्षर प्रेम”


सङ्गीतसाहित्यकलाविहीनM
साक्षात् पशुM श्रृङ्गविषाणहीनM

सङ्गीत, साहित्य र कला नभएकाहरू पुच्छरबिनाका पशु हुन् । यसरी यस श्लोकमा सङ्गीत, साहित्य, कलालाई उच्च सम्मान दिइएको छ । वास्तवमा कलासाहित्यले नै मानिसको हृदयको अज्ञात प्यासलाई तृप्त पार्दछ । आनन्द प्रदान गर्दछ । आनन्द नै जीवनको गन्तव्य हो । यही आनन्दको खोजले नै मानिसलाई कलासाहित्यको सन्निकट पु¥याउँछ । हाम्रा पुरातन ऋषिमुनिहरूले अनादिकालदेखि आनन्दप्राप्तिको खोजलाई साहित्य रचनामार्फत सम्बोधन गरेका छन् । त्यसकै निरन्तरतास्वरूप आजसम्म पनि कला साहित्यको सिर्जना भइ नै रहेको छ ।

नेपाली भाषामा कविता, कथा, उपन्यास, निबन्ध, नियात्रा, गजलजस्ता विधामा रचनाहरू भएका छन् । प्राथमिककालीन, माध्यमिककालीन हुँदै आधुनिक नेपाली साहित्य क्रमशः उत्तर आधुनिकतातिर समेत लम्किँदो छ ।

आज नेपाली साहित्य जे जस्तो रूपमा अगाडि बढेको छ त्यसबाट आशा गर्ने थुप्रै ठाउँहरू छन् । साथै नेपाली भाषामा जे जति साहित्य सिर्जना भएका छन्, त्यसका लागि स्वदेशमा र अन्यत्र बसोबास गर्ने नेपाली भाषीहरूको पनि उत्तिकै योगदान रहेको छ ।
नेपालबाहिर रहेर पनि नेपाली भाषा साहित्यको सेवा गर्नेहरूप्रति हामी सबैले इतिहासदेखि नै पर्याप्त सम्मान प्रदान गर्दै आएका छौँ । यस क्रममा हामी सिक्किमका साहित्यकारहरूलाई विशेष सम्झना गर्दछौँ । आसाम, दार्जिलिंग, सिक्किम, बर्मामा रहेर नेपाली भाषामा साहित्य सिर्जना गर्नु आफैँमा आदरयोग्य कुरा हो ।

यही क्रममा गजलसङ्ग्रह लिएर आएकी छिन् M जीविका खतिवडा अश्रु । विदेशमा रहेर पनि नारीहरूले देखाएको नेपाली साहित्यप्रतिको यसप्रकारको आस्थालाई नमन गर्नुपर्दछ । किनभने नारीहरूले घर, परिवार, बालबच्चालगायत अरू पनि जम्मै काम भ्याएरमात्र साहित्यका लागि कलम चलाउँने मौका पाउँने हुन् । त्यसको लागि निकै ठूलो धैर्य र लगाव आवश्यक पर्दछ । जो जीविकामा पनि पाउँन सकिन्छ ।

गजलकार जीविका खतिवडा कोशी अञ्चल, मोरंग जिल्ला, जाँते गा वि स ३ बेल्टारमा जन्मिएर हाल गान्तोकमा रहेकी एक उर्वर कला सर्जक हुन् ।

अक्षर प्रेम गजलसङ्ग्रह लिएर साहित्यिक फँटमा देखिएकी जीवकाको सौन्दर्यचेत उम्दा महसुस हुन्छ । जीवन यात्राका अनेकौँ आरोहअवरोहमा सँगालिएका अनुभव, अनुभूतिहरूलाई जीविकाले आफ्ना गजलहरूमार्फत कलात्मक प्रस्तुति दिएकी छिन् । 

माध्यमिक कालमा नेपाली साहित्यमा मोतीराम भट्टले भित्र्याएको गजल विधाका संरचनागत आफ्नै मूल्य र मान्यता छन् । प्रेम, प्रणय, रतिराग वा हृदयका प्रेममय कोमल भावानुभूतिहरूलाई गेयात्मक शैलीमा अरबीबाट उर्दु हुँदै हिन्दीको बाटो भएर नेपाली भाषामा देखापरेको यस गजल विधाले आजका दिनसम्ममा निकै लामो यात्रा तय गरिसकेको छ । र जीविका खतिवडा अश्रुले यस विधाका लागि सिक्किमबाट थप एउटा इटा प्रदान गरेकी छिन् ।

पुराना दिनहरूमा प्रेम र अनुरागको विषयलाई सम्बोधन गर्दै आएको गजल विधा आजभोलि रतिरागसम्ममा मात्र सीमित छैन । गजलले समाजको समसामयिक चित्रणसमेत कलात्मक र प्रभावकारीरूपमा प्रस्तुत गर्न थालेको छ । जो जीविकाको गजलसङ्ग्रह अक्षर प्रेममा पनि देख्न सकिन्छ ।

भाव, विचार, कला, शब्द संयोजन तथा लयले गजललाई प्रभावकारी बनाइरहेको हुन्छ । खास गरी काफिया र रदीफको संयोजनबाट संरचित गजल नै उत्तम मानिन्छ । मतलाबाट शुरु भएर मकतासँगै एक आवृत्ति प्राप्त गरी गायन वा वाचन गर्दा हृदयलाई तृप्त पार्नसक्ने तTत्व गजलमा हुनैपर्छ ।

गजलकार जीविका खतिवडा अश्रुले पनि यस प्रकारको संरचनालाई यथासम्भव अनुशरण र आत्मसात गर्दै रचना गरेको पाइन्छ ।

आशानिराशा, उकालीओराली, दुःखसुख, हाँसोरोदन, मिलनविछोड, प्रेमघृणा, घामछायाँ, घातप्रतिघात जस्ता विविध कुराहरूले सबै मानिसहरूलाई प्रभाव पारिहेको हुन्छ । यिनै प्रभावहरूबाट गजलकार जीविका पनि प्रभावित भएर गजलका आधारभूत मूल्यमान्यताहरूलाई अङ्गीकार गर्दै आफ्ना गजलहरूमा एकान्तता, कोलाहल, राजनीति, देशप्रेम, अक्षर अनुरागमा कहीँ धैर्यतापूर्वक र कहीँ हतारिएर छरपस्ट पोखिएकी छिन् । प्रेमको शाश्वत सत्यलाई केन्द्रमा राख्दै उनी वर्तमानमा मानिसले भोग्दै आएका पीडा र छटपटीहरूलाई कलात्मकरूपले अभिव्यक्त गर्छिन् ।

महिलाहरूले अझै पनि सामाजिक अपहेलना भोग्न बाध्य हुनुपरेको अवस्थाप्रति जीविका चिन्तित देखिन्छिन् । त्यस्ता अवाञ्छित अवस्थाहरूप्रति असन्तुष्टि व्यक्त गर्दै सम्पूर्ण नारी जातिकै आत्मसम्मानका लागि महिलाहरू नै सशक्त भएर अगाडि आउँनु पर्ने भावना व्यक्त गर्ने जीविकाको गजल अक्षर प्रेम सङ्ग्रहमा बयालीस वटा गजलहरू सङ्ग्रहित छन् ।

जीवनलाई साहित्यसेवाको यात्राबाटै सार्थक बनाउन प्रयत्नशील रहेकी जीविका खतिवडा अश्रुले तयार पारेको अक्षर प्रेम गजल सङ्ग्रह प्रकाश कार्की सुमनले प्रकाशित गरेका हुन् भने बिराटनगरका कवि बालकृष्ण पोख्रेल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, साहित्यकार मधु पोख्रेलले सफलताको शुभकामना व्यक्त गर्नु भएको छ भने नेपाली साहित्य परिषद् सिक्किमले पनि शुभेच्छा प्रकट गरेको छ ।

जाँदाजाँदै म पनि जीविकाको साहित्यिक यात्राको सफलताको कामना गर्दै उनको एउटा गजल टुक्रा गुन्गुनाउँदै बिदा लिन्छु M

तिम्रै सृष्टि तिमी आफैँ लत्याउँछौ किन <
अघि बढ्दा बाटो मेरो भत्काउँछौ किन  <



-नरेन्द्र पराशर
रतुवाममाई मोरंग


 

  





No comments:

Post a Comment