Thursday, November 14, 2019

शिशुभाव चोखो



जीवन्त चोखोपन खेलमा छ, जीवन्त चोखोपन झेलमा छ
समग्र सम्पूर्ण स्वरूप चोखो, जीवन्त चोखोपन मेलमा छ ।
सौन्दर्य चोखोपन अङ्ग अङ्ग, विशुद्ध चोखोपनले विहङ्ग–
झैँ उड्छ, झल्किन्छ अनेक रङ्ग, छ भाव चोखो शिशुसाथ दङ्ग ।।
।।१।। 
धर्ती र आकाश र वायु चोखो, होला नहोला जल अग्नि चोखो 
हिमाल चोखो अनि फूल चोखो, होला नहोला परब्रह्म चोखो ।
दिव्यांशु चोखो र सुधांशु चोखो, होला नहोला परमेश चोखो
चोखो सधैँ बाल स्वभाव चोखो, जो शीतथोपासरि हुन्छ चोखो ।।
।।२।।
आचार चोखो र विचार चोखो, पवित्रताको व्यवहार चोखो 
बोलाइ चोखो र हिँडाइ चोखो, हँसाइको दिव्य बहार चोखो ।
हेराइ चोखो र सुताइ चोखो, आनन्दको उत्सुक भाव चोखो
छ शान्ति चोखो र अशान्ति चोखो, अज्ञानता नै पनि पूर्ण चोखो ।।
।।३।।
विरोध चोखो रिस राग चोखो, सौन्दर्यको भाव प्रभाव चोखो 
हल्ला छ चोखो अनि मौन चोखो, मुस्कानको कोमल भाव चोखो ।
चोखो यही सात्विक सत्व चोखो भएर नै पूज्य बनिन्छ चोखो
यी बाल–बालासँग भाव चोखो, चोखो भई बढ्दछ भाव चोखो ।।
।।४।।

–नरेन्द्र पराशर
रतुवामाई –४ मोरङ
छन्द ः उपजाति







No comments:

Post a Comment