Thursday, November 14, 2019

अनि पो कविता


बगैँचामा सधै फूल फुल्ने गर्छन् वसन्तमा ।

सत्य हो तर थोरैले मात्र दिन्छन् सु–वासना ।।
कविता पनि धेरैले लेख्ने गर्छन् हतारमा । 
थोरैका कविताबाट मात्र आउँछ वासना ।।

छोई छामी उचालेर तौलेर छान्नु पर्दछ ।

छानेको शब्दले ठीक ठाउँमा हान्नु पर्दछ ।।
हानेको ठाउँमा चट्ट अर्थले लाग्नु पर्दछ ।
लागेको अर्थले छैठौँ इन्द्रिय जाग्नु पर्दछ ।।

गुण गुरुत्वले दिव्य रम्यता फुल्नु पर्दछ । 

फुलेको रम्यताभित्र भव्यता खुल्नु पर्दछ ।।
खुलेको भव्यताभित्र नव्यता घुल्नु पर्दछ ।
घुलेको नव्यताभित्र कविता डुल्नु पर्दछ ।। 

भावको फूलबारीमा सारी रङ्गीन अर्थको ।

आऊन् सौन्दर्यकी राधा लिई धारा विचारको ।।
अनि पो दिव्य आभाले कविता जग्मगाउँछे ।
पारिजात भई तिम्री कविता मग्मगाउँछे ।।


-नरेन्द्र पराशर
रतुवामाई ४
मोरंग





No comments:

Post a Comment