Wednesday, December 20, 2017

साइकलप्रति




धेरै भीड बढ्यो सबै सहरमा, बाटा भए साँघुरा
मान्छेको पनि साँघुरो मन भयो, पाखण्डले उर्वरा
ठूला मोटर, भट्भटे, ट्रक कुदे, आँखै नहेरी कन 
प्यारो सुन्दर शिष्ट साइकल यो, गर्दैछ है क्रन्दन ।।
।।१।।
















यो तूफान विकासयुक्त युग हो, इन्जीनको यन्त्रको 
नाफाको द्रुत शान, मान, मदको, आकण्ठ पाखण्डको 
बाटामा क्षयरोगग्रस्त गरिवी–जस्तै भएको भनी  
प्यारो सुन्दर शिष्ट साइकल यो, रूँदै बसेको छ नि ।।
।।२।।

ए लूरे किन आउँछस् नजिकमा, मर्लास् उता जा पर

जा जा जा पर जा यता वर नआ, भन्छन् सबै मोटर
ठूला वाहनका बडा गजबका, दादागिरी छन् अति 
प्यारो सुन्दर शिष्ट साइकल यो, भोग्दैछ है दुर्गति ।।
।।३।।

धूलो त्यो नउडाउने न त धुवाँ, हल्ला नगर्ने कतै 

जाती जो छ अचम्म सेवक भई, आनन्द छर्ने सधैँ 
के फिर्ला दिन फेरि साइकलको, यो काठमाण्डौँभरि ?
प्यारो सुन्दर, शिष्ट साइकल यो, गुड्ला त बाटो भरी ?
।।४।।

Wednesday, November 22, 2017

झोला पुरानो भयो !





प्यारो चट्ट नयाँ सुरम्य छरितो, झोला अनौठो थियो

छाम्दा हात लिँदा सदैव रसिलो, आनन्द बर्साउँथ्यो ।
त्यो बेला कति चम्किलोपन थियो, हेर्दै उज्यालो थियो
यो बेला तर जीर्ण देख्छु बिचरो, झोला पुरानो भयो ।।
।।१।।

बोक्यो रोग र भोक–शोक सपना, बोक्यो सधैँ जीवन

बोक्यो हर्ष र आश–त्रास यसले, संघर्षको दर्शन ।
त्यो बेला बलियो नयाँ पनि थियो, भारी सबै बोक्दथ्यो
यो बेला तर दीन–हीन छ कठै १ झोला पुरानो भयो ।।
।।२।।

धोए स्वच्छ हुने थियो समय त्यो, हुन्थ्यो सफा टल्किने

बोक्दा अन्तर–आँतमा कुसुमको आनन्द झल्का दिने ।
लाग्थ्यो है अब च्यातिँदैन कहिल्यै, उध्रेर ऐले गयो
आशा गर्छ सहानुभूति यसले, झोला पुरानो भयो ।।
।।३।।

बोक्यो है सहजै अनेक ननिका बोक्नै नमिल्ने कुरा

धायो धूसर पङ्क–पांशु नभनी मैदान औ टाकुरा ।
लाग्थ्यो है चुहिँदैन हेर कहिल्यै, ऐले चुहुन्ते भयो
आफ्नै जीवन हो कि हो कि जसरी, झोला पुरानो भयो ।।
।।४।।


नयाँ बस्तीको पुरानो छाप्रो




केही थान मानव आकृति लुकाएर
ब्रह्मबोधी सन्त झैँ सदा शान्त हुन्थ्यो
नयाँबस्तीको पुरानो छाप्रो ।

उषाकालीन भानु–रश्मिले
बाँसका भाटाहरू चहकिला हुन्थे
खरको छानो उज्यालो हुन्थ्यो
पुराना काठका मूढाहरू मुस्कुराउँथे
कुखुराको खोरबाट कुखुरी काँ को जीवन्त ध्वनि टाढा टाढासम्म फैलिन्थ्यो
अनि चीसो बतासको स्पर्शमा पुलकित बन्थ्यो
नयाँबस्तीको पुरानो छाप्रो ।

केवल पानीको एउटा गाग्रो सीधा हुन्थ्यो
बाँकी कमसल धातुका
दुईचारवटा मैला, थोत्रा र रित्ता भाँडाकुँडाहरू
शवासनमा लडेका ढलेका हुन्थे ।
तर पनि
प्रकृतिको अलौकिक आनन्द पिएर 
सुखद् भविष्यको कल्पनामा
सदा मुस्कुराइरहेको हुन्थ्यो
नयाँबस्तीको पुरानो छाप्रो ।

छोरालाई कालापानी पठाएर
बुहारीलाई बिग्रिएको पुरानो सिलाइ मेसिन मर्मत गरिदिएर
नाति नातिनालाई बोर्डिग स्कुल पठाउँने
वर्षौँदेखि अड्किएको जग्गाको लालपूर्जा निकाल्ने
ढुक्कले गिटी कुट्ने
केवल पाँच थान स्थिर सपना सजाएर
आशावादी बन्थ्यो
नयाँबस्तीको पुरानो छाप्रो ।

छोरो कालापानी गयो
तर फर्किएन 
बुहारीको सिलाइ मेसिन फेरि बिग्रियो र पुनः बनेन
नातिनातिना बोर्डिंगबाट निकालिए
लालपूर्जाको लागि कागजात पुगेन
‘यस्तै त हो.....के पुग्दैन पुग्दैन...’
जीवनबोधको करुण दर्शनसँगै 
मनमनै धेरैपटक तरङ्गित भयो
तर पनि अँध्यारो भएन
नयाँबस्तीको पुरानो छाप्रो ।

मन्द हावा उही
कलकल गर्ने पानी उही
उदय र अस्त हुने घाम र जून उही
असीमित आकाश र धर्ती उही
रङ्गीन फूल र पातहरू उही
सबै सबै कुरा उही उही ।

बिस्तारै न्यानो घाम छेलियो
शीतल जून छेलियो
खुल्ला आकाश छेलियो
सिरसिर चल्ने बतास छेलियो ।

हेर्दाहेर्दै
जराजीर्ण, स्तब्ध र निरुपाय त्यस छाप्रामा
नयाँ बस्तीको ढल र बर्खाको भल पस्यो  
कानुन पस्यो 
डोजर पस्यो ।

पानीले छानाको खर कुहियो
डाँडाभाटा मक्किए
कानुनको धक्काले दलीन खस्यो ।

छानो खस्यो 
छानोसँगै सपना खस्यो ।

अहिले
कतै पनि देखिन्न—
नयाँबस्तीमा पुरानो छाप्रो । 






Monday, March 13, 2017

किन सम्झिदैनौ ?










वर्षा हुँदा यता कति सम्झिराख्छु
हो रातको प्रणवतासँग सम्झिराख्छु
पर्दैन रात कि त्यता किन सम्झिदैनौ ?
बर्सिन्न मेघ कि त्यता किन सम्झिदैनौ ?
।।१।।

ताराहरू चहकिँदा सम्झिराख्छु
हो फूल फुल्दछ यता सम्झिराख्छु
फुल्दैन फूल कि त्यता किन सम्झिदैनौ ?
देखिन्न जून कि त्यता किन सम्झिदैनौ ?

।।२।।

चीसो छुँदा पवनले सम्झिराख्छु
पन्छी उडे गगनमा सम्झिराख्छु
हुन्नन् चरा कि त्यता किन सम्झिदैनौ ?
हुन्नन् कि रूख लहरा किन सम्झिदैनौ ?

।।३।।

धड्किन्छ है मुटु यता सम्झिराख्छु
पग्लेर आँशुसँगमा सम्झिराख्छु
झर्दैन आँशु कि त्यता किन सम्झिदैनौ ?
धड्किन्न के मुटु त्यता किन सम्झिदैनौ ?

।।४।।

Saturday, May 9, 2015

भूूकम्प गएको छ

मन्दिरका गजुरमा बस्ने परेवाहरू
एकाएक स्तब्ध भएका छन्
समान धड्किने सानो शिशुको मुटु
एकाएक असमान भएको छ

हो, एउटा भयङ्कर भूूकम्प गएको छ ।

दुुःख–कष्टमा पनि चाउरिएका गाला र
थोते दाँत देखाएर
निष्पाप मुस्काउन सक्ने
हजुर बा र हजुर आमालाई
र्निममतापूूर्वक
भारी दलीनले थिचेर गएको छ
हो, एउटा भयङ्कर भूूकम्प गएको छ ।

यही धर्तीबाट पाएको
रातो कमेरे माटोले लिपेको
पाखाभरी सौन्दर्य छर्ने
सुन्दर घर
माटोमै मिलेको छ
भत्किएको घरसँगै
जीवनका कलात्मक स्वप्नहरू पुरिएका छन्

प्रेमका गजुरहरू
चकनाचुर भएका छन्
लाश र भग्नावशेषहरू थुपारेर
वीभत्स दृश्य बिस्कुन लगाएर
हो, एउटा भयङ्कर भूूकम्प गएको छ ।

काख रित्तो पारेर
सिउँदो खाली गरेर
साना साना दुुधे बालकहरू टुहुरो बनाएर
भीर–पाखा, गाउँ–शहर जगैबाट हल्लाएर
आतङ्कको बज्र आएको छ
हो, एउटा भयङ्कर भूूकम्प गएको छ ।

पराई र आफन्तहरू चिनाएर
सबैलाई एउटै त्रिपालमुनि छिराएर
बाँडीचुँडी खाने
मिलीजुली बस्ने
एउटा पुरानो परम्परालाई
सम्झाइदिएर
नयाँ नेपाल बनाउँन
एउटा ढोका खोलिदिएको छ
हो, एउटा भयङ्कर भूूकम्प गएको छ ।


:नरेन्द्र पराशर


Monday, February 9, 2015

जीवन : सिर्जना र प्रज्ञान


सिर्जना शक्तिका हामी साना सन्तति सुन्दर
बनौँ आनन्दको ज्योति महाज्योति समुज्ज्वल ।।१।।

मान्छे उत्सव हो मीठो कला सङ्गीत नृत्य हो
उच्च आदर्श चैतन्य बोधले ऊ सुकृत्य हो ।।२।।

दिव्य दृष्टि छ सम्भाव्य बुझ्न संसारको गति
चेतनाको खुले द्वार कहाँ हुन्छ र दुर्गति < ।।३।।

उत्स उत्सवको प्रेम प्रेम निर्झरको लय
यो हो जीवन प्रज्ञाको छविच्छाया समुच्चय ।।४।।

जसरी हुन्छ ढाकेको विश्वले विश्व यो सबै
त्यसरी जिन्दगीलाई ढाक्छ जीवनले सधैँ ।।५।।

ढाक्छ दर्पण ध्वाँसोले देखिँदैन प्रतिच्छवि
ढाक्छ अज्ञानले ज्ञान छोपिराख्छ त्यसै गरी ।।६।।

करुणा प्रेम मैत्रीको बीज उम्रिन्छ ज्ञानमा
ज्ञान नै धन हो दिव्य ज्ञान उम्रिन्छ ध्यानमा ।।७।।

प्रज्ञा जीवनको लागि ज्ञान ध्यान समन्वित
श्रमले सिर्जना छर्ने पारौँ उन्नत जीवन ।।८।। 


: नरेन्द्र पराशर 

Sunday, December 14, 2014

दोलखा : दर्पण


गृहमन्त्रालयमा लामो समय सेवा गर्दै जागीरको अन्तिम अवस्थामा दोलखा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा पन्द्र महिना कार्यरत रही भर्खरै अवकाश प्राप्त गर्नुभएका कवि प्रह्लाद पोख्रेलको “आस्थाको गन्तव्य” नामक यात्राकाव्य केही दिनअघि  चरिकोटमा सम्माननीय प्रधानमन्त्री श्री सुशील कोइरालाबाट विमोचित भएको छ । यस काव्यले हाल चरिकोटको साहित्यिक तथा बौद्धिक वर्गमा फरक प्रकारको तरङ्ग सिर्जना गरिदिएको छ ।

जनकपुुर अञ्चलको हिमाली जिल्ला दोलखा काठमाण्डौँ उपत्यकाबाट नजिकै पर्ने अत्यन्त रमणीय स्थान हो । अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकको खाडीचौरबाट सुनकोशी नदी तरेर उकालो लाग्दै गर्दा मुुडे बजार कटेपछि सिन्धुुपाल्चोक जिल्लाको सीमा समाप्त भई दोलखा खरीढुुङ्गाको चीसो हावाले स्वागत गर्दछ ।

खरीढुुङ्गा आफ्नो गर्भमा अनकौँ खनीज र रत्नहरु बोकेर हिउँको प्रतीक्षामा सदैव शीतल रहने स्थान हो जहाँबाट टाढाटाढासम्म फैलिएका हिमाल र पहाडका तरेलीहरुलाई आनन्दपूूर्वक दृश्वावलोकन गर्न सकिन्छ । वन, पाखा छिचोल्दै घुम्ती बाटोबाट चरिकोटतिर लाग्दा चरङ्गेको चाँदीजस्तो सफा पानी बग्ने खोला तरेपछि चरिकोट आइपुुगेको पत्तै हुँदैन । 

दोलखा जिल्लाको सदरमुकाम चरिकोट बजारले झण्डैझण्डै दार्जिलिंगको स्वरुप लिइसकेको छ । गौरीशङ्कर हिमाल आफ्नो अद्भूत शोभासहित चम्किएको अलौकिक दृश्यले हृदय नै अभिभूत बन्न पुग्दछ । चरिकोटबाट नै मोटरमा उत्तरमा अप्पर तामाकोशी, लामाबगरसम्म पुुग्न सकिन्छ भने पूूर्वमा जिरी । 

तामाकोशी नदीको नीलो पानी पानीमात्र नभएर यो देशकै उज्यालो भविष्यको रुपमा देखा पर्दैछ । यसैगरी यहाँको वन र माटोमा अनेकौँ वनस्पतिहरु, अन्नबाली, तरकारी तथा फलफूूलहरु फलिरहेका हुन्छन् । 

सन्ध्याकालमा देखिने गौरीशंकर हिमालको अद्भूत दृश्य 
गौरीशङकर हिमाली शृङखलासहितको चित्ताकर्षक भूू–दृश्यले समग्र दोलखालाई अद्वितीय पर्यटकीय गन्तव्यको रुपमा उजागर गरिरहेको अनुुभूति हुन्छ । त्यसै गरी यहाँ बसोबास गर्ने आदिबासी तथा अल्पसङ्ख्यक जातिहरु सुरेल, थामी, जिरेलहरुको परम्परागत जीवशैली, जात्रा, पर्व, मेला र संस्कृतिले यस जिल्लाको फरक परिचयका लागि थप योगदान गरेका छन् । साथै दोलखा जिल्लामा अवस्थित प्रसिद्ध भीमेश्वर मन्दिर, कालिञ्चोक भगवती, कालिका भगवती, कालीनाग, देउलाङ्गेश्वर, जटापोखरी, तामाकोशी त्रिवेणीधाम जस्ता धार्मिक तीर्थस्थल र मन्दिरहरुले यहाँको सांस्कृतिक तथा धार्मिक आस्थालाई उचो बनाएका छन् । 

जिरी, शैलुुङ, च्छोरोल्पा, वेदिङ, बिगुु, लप्चे जस्ता प्रकृतिप्रदत्त मनोरम स्थानहरुले दोलखा जिल्लालाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन अपूूर्व योगदान दिइरहेका छन् । 

कवि प्रह्लाद पोख्रेल 
यसका अतिरिक्त माथ्लो तामाकोशी विद्युुत् उत्पादन परियोजनाले स्वदेशी लगानी, क्षमता र इच्छाशक्तिलाई थप आत्मविश्वास प्रदान गरिरहेको छ । एकातिर खरीढुुङ्गामा फिल्मसिटी स्थापनाको प्रस्तावित कार्यक्रमले थप उत्साह जगाएको अवस्था छ भने अर्कातिर वनजन्य उद्योगहरुको स्थापना र सञ्चालन तथा खरीढुुङगाकै खनीज उद्योगलाई पुनर्जीवन दिने प्रयासले पनि यस जिल्लालाई औद्योगिकीकरणतिर अगाडि बढ्न प्रेरणा प्रदान गरिरहेको छ । ठाउँ ठाउँमा व्यावशायिक कृषि तथा पशुुजन्य उत्पादनका उद्यमहरु शुुरु हुने क्रममा छन् । 

यसरी हेर्दा राजधानीबाट नजिकै रहेको समग्र दोलखा जिल्लाले आफ्नो प्राकृतिक छटा र गौरवलाई आकर्षक बनाउँदै लगिरहेको छ । 

यी र यस्तै अद्भूत परिदृश्य र जिल्लालाई सुुन्दर बनाउने स्थानीय प्रयासहरुबाट प्रभावित भएर तत्कालीन प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत रहँदा अनुुभूूत गरेको प्रभावलाई कवि प्रह्लाद पोख्रेलले काव्यिक शब्दका सुन्दरतम बान्कीहरुमा प्रतिविम्बत गरिदिनुु भएको छ । 

हृदयलाई उद्वेलित पार्ने कुनै पनि स्थानको भ्रमण गरिसकेपछि निबन्धात्मक शैलीमा लेखिएका यात्रा संस्मरणका लेखहरु हामीले यदाकदा पढिरहेका नै हुन्छौँ । प्रतीक प्रधान, युवराज नयाँघरे, नारायण ढकाल, शारदा शर्मा, स्व. गोबिन्द वर्तमान, निर्मोही व्यास, अमृत भादगाउँले, देवेन्द्र भट्टाईलगायतका स्रष्टाहरुले यस प्रकारको लेखनमा विशेष भूूमिका खेलेको कुरालाई यहाँनेर स्मरण गर्न सकिन्छ । तर कुनै स्थान विशेषमा रहँदा बस्दाको समग्र भ्रमण र त्यसले कवि हृदयमा पारेको अनन्त प्रभावलाई वार्णिक छन्दमा काव्यात्मक अभिव्यक्ति दिनुु निकै कठिन कार्य मानिन्छ ।

कालिञ्चोक भगवती 

छन्द हाम्रो पूूर्वीय साहित्यको प्राचीन सम्पत्ति हो । तसर्थ छन्द हाम्रो आफ्नै साहित्यिक परिचय र पहिचान पनि हो । वार्णिक छन्दहरुमा कविता रचना गर्न थप अध्ययन र धैर्यको आवश्यकता खड्किइरहेको हुन्छ । जीवन र जगत्को अनुुभव र अनुुभूूतिलाई छन्दमा रुपान्तरण गर्दा त्यसमा कुनै प्रकारको कपटपूूर्ण विनिर्माणले काम गर्दैन । छन्दमा आधुनिकताको जालसाजी पनि चल्दैन । साथै छन्दको आफ्नै गुुणवत्ताको कारणले सिर्जना हुने सीमितालाई कलापूूर्ण चातुुर्यले मात्र सही तरिकाले सम्बोधन गर्नसक्छ । अन्यथा अपूूर्व आनन्द दिनसक्ने सामथ्र्य रहेको छन्द विधानले कवितालाई लयमा मात्र सीमित पारिदिन सक्छ । भनिएकै छ कि छन्दमा लेखिएका सबै कृतिहरु कविता होइनन् । तर कवि प्रह्लाद पोख्रेलसँग परिष्कारवादी काव्यसाधनामा लामो अनुुभव रहेको कारणले “आस्थाको गन्तव्य” यात्राकाव्यले काव्यिक मर्म बोक्न सफल भएको छ । 

श्री भीमेश्वर, कालिञ्चोक भगवती, सैलुुङगेश्वर, कालिका भगवती, गौरी–शङ्कर, कालीनाग, देवलिङ्गेश्वर, पर्यटनको गन्तव्य, आस्थाको गन्तव्य गरी नौ वटा भागमा विभाजित र नौ वटै छन्द(अनुुष्टुुप्, भुुजङ्गप्रयात, वसन्ततिलका, पञ्चचामर, पृथ्वी, शिखरिणी, मन्दाक्रान्ता, शार्दूूलविक्रीडित, स्रग्धरा) प्रयोग गरी यस यात्राकाव्यमा तत् तत् विषयको महिमा– आराधनामा मात्र गरिएको छैन अपितुु ती विषयका छेउछाउ आउने दार्शनिक, आध्यात्मिक, भौगोलिक, प्राकृतिक, सांस्कृतिक, सामाजिक, धार्मिक तथा ऐतिहासिक परिदृश्य र महत्तालाई जीवनोपयोगी कविताका श्लोकहरुमा मानवीय र प्राकृतिक हितका लागि अद्वितीय सन्देशसहित कविले रुपान्तरण गरिदिनुु भएको छ । 

लेकाली दृश्य
कवि प्रह्लाद पोख्रेल व्यक्तिगतरुपमा पनि शान्त स्वभावको भएको कारणले हुुनसक्छ उहाँको आस्थाको गन्तव्य पनि शान्तरसकेन्द्री नै छ । कुनै आनावश्यक उत्तेजना उहाँको कवितामा पाइदैन । प्राकृतिक रुमानी शैलीले प्रभावित देखिने यस काव्यका पवित्र श्लोकहरु मानवतावादी सन्देशले समेत ओतप्रोत देखिन्छन् । त्यतिमात्र होइन, काव्यका श्लोकहरुमा दोलखा जिल्लाको समग्र विकासको मार्गचित्र समेत कोरिएको छ । 

सामाजिक पछौटेपन, अन्धविश्वास, अशिक्षा, असुुरक्षा र अभावलाई के कसरी कम गर्न सकिन्छ भन्ने चिन्तामात्र होइन, नैतिक र सामाजिक उत्तरदायित्व बहन गर्दै त्यसको समाधान समेत दिने चेष्टाले यो काव्यको गरिमा अझै उचो हुन पुुगेको छ । 

अन्त्यमा, दोलखा समग्ररुपमा जसरी प्राकृतिक सौन्दर्यले शोभायमान छ उसै गरी त्यसलाई काव्यिक दर्पणमा प्रतिविम्बन गर्ने दोलखा स्रस्टा समाज, काठमाण्डौँ र कला साहित्य प्रतिष्ठान, दोलखा संयुक्त प्रकाशक रहेको कवि प्रह्लाद पोख्रेलको यात्राकाव्य “आस्थाको गन्तव्य”ले सबैलाई दोलखा पुुग्नैपर्ने र घुम्नैपर्ने हुुटहुुटी पनि जगाउँछ । 


–नरेन्द्र पराशर
अन्नपूूर्ण दैनिक मा प्रकाशित 
2071.8.27 Saturday.