Wednesday, February 13, 2013

प्रेम कविता



बिर्सिन्छु भन्छु सम्झिन्छु 
फेरि सम्झिन्छु झन् झनै
आँखा चिम्लिन्छु सम्झिन्छु 
उडेका पुतली झनै !
||१||
झरना कल्कलाएको 
वासन्ती पुष्प पुष्पित
बितेका दिन सम्झिन्छु 
सँगै हुन्थेँ तिमीसित !
||२||
काव्य-केलि कला-कुञ्ज 
कल्पना कल्कलाउदा
सम्झिन्छु प्रेमको आभा 
जूनतारा उदाउदा !
||३||
प्रेम-सम्बोधिको दिव्य 
जादू कल्लोल नादमा
प्रेम-लालित्य सम्झिन्छु 
सौन्दर्यको  प्रभातमा !
||४||
दूबोको पातमा शीत 
प्रातमा झल्मलाउदा
प्रेम आनन्द सम्झिन्छु 
भावना सल्बलाउदा !
||५||
टुक्रा बादल टाढाका 
सम्झिन्छ्यौ कि तिमी पनि ?
म त सम्झिन्छु सम्झिन्छु 
दिव्य प्रेम  अझै पनि !
||६||

:नरेन्द्र पराशर
(छन्द: अनुस्टुप्)

No comments:

Post a Comment