Sunday, February 10, 2013

वाचा

प्रेमको कलिलो बोट पटक्कै मर्न दिन्नँ म
प्रेमको कमलो फूल चटक्कै झर्न दिन्नँ म
प्रेमको स्वच्छ यो ताल धमिलो हुन दिन्नँ म
प्रेमको व्योम हो नीलो ! यो कालो हुन दिन्नँ म !
!!
तिम्रो पवित्र मायामा भाग लाग्न म दिन्नँ है
तिम्रो सौंन्दर्यमा प्यारी दाग लाग्न म दिन्नँ है
तिम्रा स्वप्निल आँखामा धूलो पर्न म दिन्नँ है
तिम्रा कोमल आत्माका इच्छा मर्न म दिन्नँ है !
!!
छोडी टाढा तिमीलाई परदेश म जान्नँ है
मोडी मुख तिमीबाट अर्कोतिर म जान्नँ है
तिम्रो वसन्त छोडेर मरुस्थल म जान्नँ है
लत्याएर मुना माया पाप बोक्न म जान्नँ है !
!!

सजाएर सदा राख्छु आँखामै नित्य राख्दछु
लुकाएर तिमीलाई छातीमै नित्य राख्दछु
मह चाकासरी मीठो मायामै नित्य राख्दछु
फूल हौ ! फूलबारीकै छायामै नित्य राख्दछु !!
!!

No comments:

Post a Comment