Tuesday, April 2, 2013

साहित्य र राजनीतिः हिजो र आज


१. प्रारम्भः

नेपालको जनसङ्ख्या, नेपाली मातृभाषीको सङ्ख्या, साक्षरताको अवस्था, प्रतिव्यक्ति वार्षिक आम्दानी, बजार र यातायातको सुविधाजस्ता तथ्याङ्कहरू हेर्दा नेपाली साहित्यको विकास र उन्नति जे जति भएको देखिन्छ त्यो आफैँमा आश्चर्यजनक उपलब्धि हो । साथै केही समययता प्रतिस्पर्धात्मकरूपमै पुस्तक प्रकाशनको क्रम बढेको देखिनु थप आशालाग्दो स्थिति हो । नेपाली साहित्यिक बजारमा पाँच हजारभन्दा माथिको सङ्ख्यामा बिक्री भएका पुस्तकहरू आँैलामा गन्न सकिने गरी नै सीमित होलान् । खुशीको कुरा के हो भने चाउचाउ र बिस्कुटजस्ता औद्योगिक उत्पादनको मात्र विज्ञापन देख्न र सुन्न बाध्य भएका मानिसहरूमाझ पुस्तकहरूका विज्ञापन पनि देखिन थालेका छन्, जसले पठनसंस्कृति निर्माणार्थ मनोवैज्ञानिक दबाब सिर्जना गर्न अवश्य सहयोग पुगेको छ । उसो त राम्रो पुस्तकलाई पाठकहरूले चिहानबाट पनि निकालेरै पढ्छन् भन्ने कुरा आफ्नो ठाउँमा छँदैछ । नेपाली साहित्यमा एकआध सुन्दर कृतिहरू वर्षैपिच्छे प्रकाशित भइरहेकै छन् र तिनले पाठकहरूको साहित्यिक तीर्खा मेटाउन सहयोग गरेका पनि छन् ।

२. कम्युनिस्ट आन्दोलन र पठन संकृतिः

तीसको दशकदेखि आक्रामक शैलीमा उकालो लागेको नेपाली कम्युनिस्ट आन्दोलनले थुपै्र प्रकारका जनवादी साहित्य जनतामाझ पु¥यायो । तत्कालीन नेकपा (माले), चौ.म., मसाल, मशालजस्ता वाम पार्टीहरूका आआफ्नै नीतिसिद्धान्तअनुरूप ती पार्टीका लेखकहरू पनि सोहीअनुसार कलम चलाउथे । यी वामपन्थी पार्टीहरूका अनुयायी लेखकहरूको योगदानले नेपाली समाजमा भूमिगतरूपमा पठन संस्कृतिको राम्रो विकास गरेको थियो भन्न सकिने प्रशस्त आधारहरू छन् । यीमध्ये मोदनाथ प्रश्रित, सञ्जय थापा नेकपा (माले)का प्रखर साहित्यकार थिए भने चौ.म.की पारिजात, मसालका मोहनविक्रम सिंह र मशालका चैतन्य(मोहन बैद्य,किरण) पनि उत्तिकै प्रभावशाली लेखक थिए । खासगरी नेपाली युवाहरूलाई वाम आन्दोलनमा सघनतापूर्वक समावेश गर्न मोदनाथ प्रश्रितका रचनाहरूको भूमिका महत्वपूर्ण रहेको कुरामा शायदै दुईमत होला । देवासुर सङ्ग्राम, नारी बन्धन र मुक्ति, चोरनानी, भुतप्रेतका कथाजस्ता कृतिहरूले धेरै युवायुवतीहरूलाई वामपन्थी बनाइदिएको थियो । यिनै र यसै प्रकारका कृतिहरू पढिसकेपछि सर्वसाधारण मानिसहरू माक्र्सवादतिर आकर्षित हुन्थे र विस्तारै द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक समाजवाद, सामन्तवाद, साम्राज्यवाद, दलाल, नोकरशाही पूँजीवाद पढ्दै न्याय र समानताको लागि वर्ग सङ्घर्षलाई कार्यान्वयन गर्न गाउँघरमै प्रमुख दुश्मन खोज्नसक्ने हैसियत बनाउथे । तत्कालीन नेकपा (माले) ले खुनपसिना गरेर तयार पारेका आफ्ना सदस्यहरूमा वर्गसङ्घर्षको नशा राम्रै गरी चढ्नु कुनै नौलो कुरा थिएन । झापा विद्रोहको रूमानी कार्बाहीको धरातलमा सी.पी. मैनालीहरूको वीरताको कथामा आधारित रहेर तत्कालीन नेकपा (माले) गठन भएको थियो । तत्कालै झापा विद्रोहलाई मालेको नेतृत्वले आत्मआलोचनाको दृष्टिबाट हेर्न थालिसकेको अवस्थामा आफ्नो अतीतको गौरवपूर्णकार्बाहीलाई तल्लोस्तरका सदस्यहरू भने एकप्रकारले अनुपम् आदर्श मान्दथे । नेकपा (माले)को लाइन सी.पी. मैनालीबाट मदन भण्डारीसम्म आइपुग्दा यू टर्नमा पुगिसकेको थियो । २०४७ सालमा प्रजातन्त्रको पुनस्र्थापनापश्चात् नेकपा (माले) नेकपा (माक्र्सवादी)सँग एकीकरण भई एमाले हुँदै पूर्णरूपले जनताको बहुदलीय जनवादमा आइपुगेको हो । यसबीचमा प्रजातन्त्रको खुल्ला अर्थनीति र मार्केट फोर्सले एमालेका आफ्ना विशेष मान्छेहरूलाई गैरसरकारी संघसंस्था सञ्चालन, प्राध्यापन, बोर्डिङ स्कूल स्थापना, सरकारी कर्मचारी, सहकारी स्थापना र अन्य आर्थिक गतिविधिका आकर्षक स्थानहरूमा केन्द्रित पार्दै जाँदा एमालेभित्रै जन्मिएको नव धनाढ्य वर्गसँग विमति जनाउदै सुरुमै उसका थुप्रै कार्यकर्ता खुलेर वा नखुलेरै पनि असन्तोषको भुमरीमा परिसकेका थिए ।

३. माओवादीको उदय

तिनताक नेकपा (एकताकेन्द्र)बाट क. सन्देश (प्रकाश, नारायाणकाजी श्रेष्ठ)लाई पन्छाउँदै फुटेर बनेको नेकपा (माओवादी) भने हतियारबन्द आन्दोलनको तयारीको चर्का कुरा गर्दै गाउँघरमा भरुवा बन्दुक बटुल्दै थियो । यसरी देशमा आफ्नो जबर्जस्त पहिचानसहित उभिएका दुई वामघटकहरूका रणनीतिक कार्यदिशा फरक परेपछि एमालेका लागि काम नलाग्ने भइसकेका पुराना राता किताबहरू पचासको दशकमा नेकपा (माओवादी)का लागि भने गज्जबले कामलाग्ने खुराक बनेका थिए ।

४. कांग्रेस र दर्शन

यता प्रजातन्त्रको पुनस्र्थापनापश्चात् २०४८ बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको जननिर्वाचित सरकारले प्रजातान्त्रिक मर्मअनुसार विश्वेश्वरप्रसाद कोइरालाको समाजवादी राजनैतिक दर्शनलाई लागु गर्ने मेसो नै पाएन वा त्यसो गर्नुपर्ने कुनै आवश्यकता नै ठानेन । राजतन्त्रको जरो राम्ररी गढिसकेको देशमा प्रजातन्त्रजस्तो दुर्लभ शासन पद्धति स्थापना भएको अपूर्व मौकामा पनि नेपाली कांग्रेसका विचारकहरू विकास, उन्नति र विधिको शासनमा चिन्तित नभई भट्टीमा बहत्तरे र छत्तीसेका विषय वा वामपन्थीहरूलाई सत्तोसराप गर्नुमा नै केन्द्रित हुनपुगे । उनीहरूले नेपाली सामाजिक संरचनाको वैविध्य, गरिवी र दुर्गतिलाई सम्बोधन हुने कुनै काम गर्न त सकेनन् नै जनताको सामान्य विकास र उन्नतिको तीव्र चाहनालाई पनि नजरअन्दाज गरिरहे । यसबीचमा नेपाली पत्रकारिता जगत् पनि दलीय हितभन्दा माथि उठ्न सकिरहेको थिएन(जसको चरित्र र हालत आज पनि खासै फरक छैन) । कांग्रेसी बुद्धिजीवीहरूका दार्शनिक लेखनस्रोत जरैबाट काटिए । एक्ला प्रदीप गिरीले धानेको कांग्रेसको बौद्धिकता पत्रपत्रिकाहरूमै सीमित रहनु अनौठो थिएन । यता नरहरि आचार्यका पखेटा पटकपटक काटिए । अनि यसबीचमा कांग्रेसले न त कवि जन्मायो न त लेखक । एकआध कांग्रेसी लेखकहरू पनि साझा र प्रज्ञातिर कागजको ठेक्कापट्टाबाट दाम कमाउने खेतीमै सीमित रहे । जानी नजानी कांग्रेसले केवल कर छलुवा व्यापारी, भ्रष्टाचारी नेताहरू र खराब कर्मचारीतन्त्र स्थापना गरिदियो । नेपालको दुर्गति यहीँबाट सुरु भएको हो । यदि नेपाली कांग्रेस वा गिरिजाप्रसाद कोइरालाले बाटो राम्ररी पक्डिएको भए शायद यो देश निकै माथि पुगिसकेको हुन्थ्यो । वामपन्थीहरूलाई प्रमुख दुश्मन मान्ने गिरिजा बाबुको हठपूर्ण पूर्वाग्रही सोच नै कांग्रेसको पहिचान हो कि भन्ने भान भइरह्यो र प्रजातान्त्रिक अतिवादको कारणले आफ्नो शिशुकाल(२०५१)मै बहुमत प्राप्त संसद बलपूर्वक भङ्ग गरियो ।

५. नेपाली राजनीतिमा शक्तिकेन्द्रको चासो

जनताको बहुदलीय जनवादको पूर्ण भाष्य तयार गर्न पाउदा नपाउदै जननेता मदन भण्डारीको अवसान(रहस्यमय हत्या) हुनु र मध्यावधि निर्वाचनमा एमाले ठूलो दल भएर देखापर्नु तथा उसको नौ महिने शासनकालमा विकास निर्माण र शान्ति सुरक्षाको सर्वाधिक उत्तम नमुना पेश हुँदै जानुले राष्ट्रिय तथा अन्राष्ट्रिय शक्तिकेन्द्रहरूमा अवश्य पनि विचलन पैदा भएको थियो । अर्कोतिर संसदीय वामदलले लोकप्रियता हासिल गर्दै गएमा क्रान्तिकारी दललाई पुग्नसक्ने घाटाको बारेमा नेकपा (माओवादी) अनभिज्ञ थिएन । देशैभरि सशक्त र चुस्त जनवर्गीय सङ्गठन भएको माओवादी र उसको तातो अवधारणाप्रति त्यहीबेला शक्तिकेन्द्रहरू पर्ख र हेरको नीतिअनुसार जिज्ञासु बन्दै गएका थिए ।

६. जनयुद्धकालको साहित्यः

संसदीय व्यवस्थाकै धज्जी उड्ने गरी जथाभावी सरकार बनाउने र गिराउने खेलमा सरिक भएका एमाले, कांग्रेस र रा.प्र.पा.का संसद सदस्यहरू दिनानुदिन बदनाम भएकै बेलामा माओवादीले अपत्यारिलो गरी सशस्त्र जनयुद्ध छेडिदियो । नेपालमा कहिल्यै कल्पना पनि नगरिएको र नपत्याइएको सशस्त्र कम्युनिस्ट विद्रोहले देखिने गरी नै आफ्नो आकार लिन थाल्यो । दिन दुगुना रात चौगुनाको दरले माओवादी आक्रमणहरू सफलतापूर्वक वृद्धि हुँदै जाँदा नेकपा (माले) ले पैतीस सालदेखि तयार गर्दै लगेका धेरै ताता सदस्यहरूलाई स्वाभाविकरूपले आकर्षित गरिरह्यो । यसबेला मै हुँ भन्ने लेखकहरू पनि अलमलिए । खासमा जनयुद्धकालभरि नेपाली साहित्य जनयुद्धको निरपेक्ष समर्थन वा विरोधमा नै केन्द्रित रह्यो । परम्परावादी वाम शिक्षादीक्षाबाट प्रशिक्षित साहित्यकारहरूमाथि यस कालखण्डमा वास्तविकरूपले चर्को मनोवैज्ञानिक दुविधाको प्रभाव परेको थियो । यहीकालमा वामस्वरलाई काउन्टर दिँदै विनिर्माणवाद र उत्तर आधुनिकतावाद निकै बहस र चर्चामा आए र तिनको प्रभाव नेपाली साहित्यमा अहिले पनि जबर्जस्तरूपले परेको देख्न र महशुस गर्न सकिन्छ ।

७. अबको बाटोः

जनयुद्धको समाप्ति र गणतन्त्रको स्थापनापश्चात् पनि नेपाली लेखकहरूमा लेखकीय द्विविधा समाप्त भइसकेको छैन । नेपाली समाजमा रहेका केही भ्रम र पूर्वाग्रहहरूले लेखकहरूलाई तर्साएर लेखनलाई सङ्कुचित पारिदिएको आभास हुन्छ  । सुन्दा जतिसुकै प्रिय वा अप्रिय लागे पनि जातीय नारा वर्गीय नाराको तुलनामा सदैव कमजोर हुन्छ । लेखकहरूले सत्य कुरा नबताइदिँदा राजनीतिले कहिल्यै पनि सही बाटो पक्डिन सक्दैन । अब छलकपट गरेर चालबाजीका रोमान्टिक कुरा गर्ने र लेख्ने बेला रहेन । लेखकहरूले ठण्डा दिमागले सोच्नुपर्दछ र दूरगामी सोच राखेर सत्यलाई जस्ताको तस्तै जनमानसमा पस्किदिनु पर्दछ ।

८. भिन्नताको खोजीः

एनेकपा (माओवादी)को एक्काइसौँ शताब्दीको जनवाद कुन अर्थमा नेकपा (एमाले)को जनताको बहुदलीय जनवादभन्दा फरक हो भन्ने कुरा कसैले पनि प्रस्ट पार्नु पर्ने आवश्यकता ठानेका छैनन् । प्रेस र वाक् स्वतन्त्रता, (स्वतन्त्र) न्यायालय, बहुदलीय प्रतिस्पर्धामा आधारित आवधिक निर्वाचनजस्ता प्रायः सबै जानामाना प्रजातान्त्रिक परिपाटीलाई स्वीकार गरिसकेपछि ती सबै पार्टीहरू सारमा समानै हुन् । फरक त केवल तिनको आर्थिक नीतिमा मात्र रहेको मान्न सकिन्छ । फरक त तिनले अपनाउने कार्यक्रमको प्राथमिकतामा मात्र झल्किन सक्छ ।

९. बाम एकताः

यस अर्थमा टाउको टेकेर उभिएको जनताको बहुदलीय जनवाद र टाउकै टेकेर तँभन्दा म राम्ररी अडिएको छु भन्दै अलमलिएको एक्काइसौँ शताब्दीको जनवाद एकै ठाउँमा आएर खुट्टा टेकेर उभिनु आवश्यक छ । यसो भयो भने नेपाली जनताका बीचमा रहेका अन्तरविरोधहरूलाई हल गर्ने दिशामा एउटा भरपर्दो प्रगतिशील तथा अग्रगामी प्रजातान्त्रिक शक्तिको उदय हुनेछ । राजनैतिक तहमा चारित्रिक शुद्धता र विधिको शासनलाई आदर्श मानेर अगाडि बढ्नेबित्तिकै नेपालको आर्थिक समृद्धिलाई कसैले अवरोध पु¥याउन सक्नेछैन । विगतको पृष्ठभूमि जे जस्तो भए पनि वर्तमानमा खासै सैद्धान्तिक भिन्नता नभएका दुई ठूला वामपन्थी दलहरू लामो समयसम्म अलग अलग रहिरहनु देश र जनताको हितमा हुँदैन । यहाँनेर स्मरणीय कुरा के हो भने २०४६ सालको जनआन्दोलनपछि तत्कालीन मदन भण्डारी (सागर) महासचिव रहेको ने.क.पा.(मा.ले.) र मनमोहन अधिकारी महासचिव रहेको ने.क.पा.(मार्क्सवादी)बीच एकीकरण भयो (तिनताक, माले भनेको भयङ्कर क्रान्तिकारी मानिन्थ्यो भने मार्क्सवादी दक्षिणपन्थी) तर ०६२।६३ को दोश्रो जनआन्दोलनपश्चात् यसप्रकारको बाम-एकता हुन नसक्नु प्रकारान्तले नेपाली बाम आन्दोलनको मात्र होइन नेपाली राजनीतिकै दुर्भाग्य हो !

१०. विद्रोही सोचः

जहाँसम्म क. किरण वैद्य बाको कुरा छ, लोकतान्त्रिक विधि र पद्धतिभन्दा बाहिरबाट समस्याको समाधान खोज्ने कुराले अन्ततः नेपाल पुनः अन्तहीन (जन)युद्धको भुमरीमा फस्नेछ र त्यसप्रकारको युद्धको कमाण्डबैद्य बाको हातमा मात्र सीमित हुनेछैन । त्यसले अन्तराष्ट्रिय शक्ति केन्द्रहरूलाई फराकिलो क्रीडास्थल प्रदान गर्नेछ र नेपालको अस्तित्व नै धरापमा पर्नेछ । नेपाल उसै पनि दुई फरक राजनैतिक दर्शन बोकेका ठूला देशका बीचमा 'बफर जोन'को रुपमा रहेको रणनैतिक(सामरिक ) महत्वको क्षेत्रमा अवस्थित छ ।  नेपाल दुई ढुङ्गाबीचको ग्रिनेट हो भन्ने गैरजिम्मेवार केटौले र काँचो भनाइ अब कहिल्यै पनि दोहो¥याउनु हुँदैन ।

११. साहित्यकारहरुको दायित्वः

अतः यो एउटा यस्तो बेला हो, जुनबेलामा सबै राजनैतिक दलहरूले विगतबाट पाठ सिकेर आफ्नै बलबुँतामा व्यावहारिक निर्णय गर्नु नै देश र जनताको हितमा हुनेछ भन्ने कुरा जिम्मेवार साहित्यकारहरूले सबै नेताहरूलाई बताइदिनु आवश्यक छ । किनभने राजनीतिज्ञहरूका गोडा लडखडाएका छन् र स्रष्टाहरूले तिनलाई लड्नबाट बचाएर सही दिशा देखाइदिनु साहित्यिक धर्म हो ।

नरेन्द्र पराशर
 २०७०।१।७ मा राजधानी दैनिकमा प्रकाशित

No comments:

Post a Comment