Thursday, July 11, 2013

चरीका आँखा




कुनै गाउँकी एउटी राम्री किशोरीको
हृदय बगैँचाभित्र
कल्कलाएर उम्रिएका रहररूपी दूबोका पातहरूमा
खासमा बैंसका कोपिलाहरूमा
उखरमाउलो चाञ्चल्यले
दिव्य लालिमा पोतिएको
प्रेमको तुलसीमठमा
जसरी कविहरूले श्रद्धा देखे
त्यसै गरी मैले
मलेवा, हलेसा
हाँस र जुरेलीका आँखाहरूमा
सद्यस्नात पवित्रता देखेँ
खासमा चराका आँखाहरूमा....!

भविष्यको गर्भमा
आइपर्ने लफुङ्गो जीवनसाथी नसम्झिएकी
भूतकालको बालापन बिर्सिएकी
कुनै गाउँकी
एउटी स्वच्छ किशोरीको
आँखाको आँगनमा उम्रिएका
अगणित स्वप्नपुष्पहरूमा
नाच्दै रमाएका कल्पनाका पुतलीहरुमा
जसरी कविहरूले कविता देखे
त्यसै गरी मैले जीवन गरिमा देखेँ
खासमा चराका आँखाहरूमा...!



:नरेन्द्र पराशर

No comments:

Post a Comment