म आफूलाई डुलाउन लान्छु र हराउँछु
र आफैँले आफैँलाई खोज्न निस्कन्छु
म भेटिँन्न पर परसम्म पनि
यही नभेटिनुको रिक्ततामा
म मौन अस्तित्वसँग जोडिएको हुन्छु
नदेखिने प्रकाशजस्तै
नसुनिने ध्वनिजस्तै
नसुँघिने वासनाजस्तै
यस्तै यस्तै जगत्का पातला कुराहरुमा हुन्छु ।
तर म हुन्न ।
तब म हुन्न
जब म हराउँछु जगदस्तित्वको विस्तीर्णतामा
म छु भन्ने असामान्य बोध
म छैन भन्ने सामान्य संबोधिबाट प्राप्त गर्छु
तब म भेटिन्छु नहुनुको अनन्त अस्तित्वमा ।
म खुम्च्याउँछु आफैँलाई अनन्त बिन्दुमा र हराउँछु
म फुकाउँछु आफैँलाई र असीममा विस्तारित हुन्छु
म यसै गरी
आफैँले आफैँलाई वर्षौँदेखि हराइरहेको छु
म यसै गरी
आफैँले आफैँलाई केही पलदेखि भेटिरहेको छु ।
म छु त्यसैले म छैन ।
म छैन त्यसैले म छु ।
नरेन्द्र पराशर
आनन्द आश्रम
रतुवामाई ४ मोरङ
2082.07.21

No comments:
Post a Comment