सोचमग्न छ मध्यरात–
के साँच्चै कुनै गहन रहस्य छ त जीवनमा ?
गहिरो सागरको अगणित छालहरूको पत्याउनै नसकिने मधुर सङ्गीत छ त जीवनमा ?
मुक्ति, मोक्ष वा आनन्दको कुनै स्थायी क्षण वा लयबद्धता हुन्छ त जीवनमा ?
मौनताको खाली आकाशझैँ के सत्यको सघन स्वर गुञ्जयमान हुन्छ त जीवनमा ?
असीम शून्यको अङ्कमालभित्र सम्बोधि हुन्छ त जीवनमा ?
आशावादिताको उषा–लालिमामा फुल्छ त तृप्तिको सुगन्धमय फूल जीवनमा ?
जीवन !
रहस्यमय यात्रा, आश्चर्यमय अनन्तको सङ्गतिहीन यात्रा
हर क्षणमा बाँच्नुपर्छ गतिको अस्तित्व
हर क्षणमा साँच्नुपर्छ प्रेमको गहिरो रङ्ग
अनि थोरै आशा लाग्छ–
हो, भोलि फेरि उज्यालो हुनेछ
घाम लाग्नेछ ।
–नरेन्द्र पराशर
आनन्द आश्रम
रतुवामाई न.पा.४, मोरङ
No comments:
Post a Comment