रातको नीरवतासँगै अनायास झर्छे पारिजात !
औँसीको रातमा जूनको उज्यालो बोकेर
पारिजातले बजाउँछे वेदनाको वीणा
क्षणभङ्गुर जीवनको सत्यलाई स्विकारेर
पारिजातले गाउँछे सौन्दर्यको गीत !
बिहानअघि नै फैलिन्छे जीवनको लाली लिएर
र मुस्कुराउँछे आँगनको डिलमा सुगन्ध वर्षा गराएर
स्वर्गले पृथ्वीमा पठाएको कुनै अद्भुत परीजस्तै
मृत्युअघि नै अमर भएर हाँस्छे पारिजात !
ऊ सौन्दर्यमा बोल्छे जसरी बोल्छन् आकाश, बादल र बोल्छन् वृक्षहरू
ऊ स्वीकारमा हाँस्छे जसरी हाँस्छन् उषाकिरणमा हिमालका टाकुराहरू
शिरीषको फूलजस्तै कुनै भमराको स्पर्शअघि नै
सहर्ष झर्छे पारिजात स्वर्गबाट पृथ्वीमा!
हो, तिमी पनि पारिजातको बुटामुनि
बनाऊ एउटा प्रेमको मन्दिर
राति नै पारिजात झर्दा परोस् मन्दिरको छानामा
ताकि
पारिजात नझरोस् हिलो, धूलो वा फोहरमा !
सेतोपाटी डटकम
प्रकाशित मिति ः २०८३।०४।११ गते
सोमबार
https://www.setopati.com/literature/394530?fbclid=IwY2xjawTdNl5leHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZBAyMjIwMzkxNzg4MjAwODkyAAEeWMftslCEdBeXYUoZrD5BbegY5G3ihrN_S8O_TlYlcntBRZGG2UIKep36aKI_aem_UFS55Jb6xVaHTAJVZe_XPA
No comments:
Post a Comment