प्रेम–स्पर्शले प्रकम्पित हृदयमा
रातको नीरवतासँगै अनायास झर्छे पारिजात ।
औँसीको रातमा जूनको उज्यालो बोकेर
पारिजातले गाउँछे वेदनाको गीत
क्षणभङ्गुर जीवनको सत्यलाई स्वीकारेर
पारिजातले गाउँछे सौन्दर्यको गीत ।
बिहानअघि नै उदाउँछे जीवनको लाली लिएर
र मुस्काउँछे आँगनको डिलमा सुगन्ध वर्षा गराएर
स्वर्गले पृथ्वीमा पठाएको कुनै अद्भुत परीजस्तै
मृत्युअघि नै अमर भएर हाँस्छे पारिजात ।
ऊ मौनमा बोल्छे जस्तो आकाश, बादल र बोल्छन् वृक्षहरु
ऊ मौनमा हाँस्छे जस्तो हाँस्छन् उषाकिरणमा हिमालका टाकुराहरु
सिरीषको फूलजस्तै कुनै भमराको स्पर्शअघि नै
सहर्ष झर्छे पारिजात स्वर्गबाट पृथ्वीमा ।
हो तिमी पनि पारिजातको बुटोमुनि
बनाऊ एउटा प्रेमको मन्दिर
राति नै पारिजात झर्दा परोस् प्रेममन्दिरको छानामा
ताकि पारिजातले झर्नु नपरोस् हिलो, धूलो वा फोहरमा ।
– नरेन्द्र पराशर
आनन्द आश्रम
रतुवामाइ ४
मोरङ

No comments:
Post a Comment