Wednesday, April 3, 2013

आर्थिक सम्वृद्धिका चार आधार

एकक्षणलाई सोच्नुहोस् कि तपाईको घरमा बेच्नका लागि केही पनि छैन । यसको कूल तात्पर्य तपाई कसैसँग अनेक तरहले ऋण, सापटी लिन थाल्नुहुन्छ । त्यो पनि केही समयपछि पाइन छाड्छ । अनि तपाईलाई केही दयालु मानिसहरूले केही दिनका लागि कृपा गरिदिन सक्छन् र तपाईको घरपरिवार थप केही दिनका लागि चल्नसक्छ । त्यसपछि ? त्यसपछि जे हुन्छ त्यो सहजै अनुमान गर्न सकिन्छ । देशको अवस्था पनि यही हो । यदि देशसँग बेच्नका लागि केही छैन भने त्यो देश विदेशबाट झिकाइने सामग्रीका लागि पैसा तिर्दैमा टाट पल्टिन्छ । आज हामीले देशबाट बाहिर के के सामान बेचिरहेका छौँ भन्ने कुरा एकदमै महत्वपूर्ण छ । यदि हामीले त्यसो गर्न सकिरहेका छैनौँ वा अति कममात्र सामान बेचिरहेका छौँ भने हाम्रो अर्थतन्त्र एकदिन डावाडोल हुने निश्चित छ । रेमिटेन्स र अनुत्पादक क्षेत्रमा त्यसको लगानीले देश राम्ररी चल्न सक्दैन । 

संसारभरि छरिएर रहेका कुनै पनि देशलाई प्रकृतिले छलेकी छैनिन् । सबै देशहरूलाई कुनै न कुनै स्रोत दिएकी छन् । कसैलाई बालुवै–बालुवाको थुप्रोमुनि खनीज तेल दिएकी छिन् भने कसैलाई पहरै–पहराले भरिएको जमीन दिएकी छिन् । कसैलाई समुद्र दिएकी छिन् भने कसैलाई नदी । कसैलाई वनै–वन दिएकी छिन् भने कसैलाई ढुङ्गै–ढुङ्गा । कसैलाई हिमाल दिएकी छिन् भने कसैलाई कोइला । प्रकृतिले कसैलाई पनि विभेद गरेकी छैनिन् । परम् कल्याणी प्रकृतिले जहाँ जे दिनु पर्ने हो त्यहाँ त्यही चीज–वस्तु प्रदान गरेकी छिन् । 

हो,  बालुवैबालुवाले भरिएको अरबलाई प्रकृतिले तेल खानी दिईन् र त्यहाँका मानिसहरूले त्यही तेललाई अनेक बल र बुद्धि लगाएर निकाले, बेचे र पैसा कमाए । वन भएका ब्राजिलजस्ता देशले काठ बेचे र पैसा कमाए । वन पनि मासेनन् । समुद्र भएका देशले त्यहाँबाट खानेकुरा निकाले र बेचे अनि पैसा कमाए । खनीज–धातु प्रशस्त हुने देशले यन्त्र, औजार, मेसिन बनाएर बेचे अनि पैसा कमाए । प्राविधिक बुद्धि हुने देशका मानिसले कम्प्युटर र सफ्टवेयरहरू बनाए, बेचे र पैसा कमाए । यसरी जस जसले आफ्नो देशमा के छ र त्यसबाट के के बनाएर बेच्न सकिन्छ भनेर सोचे र त्यस दिशामा काम गरे ती देशहरू अहिले धनी र सम्पन्न छन् । तर जुन जुन देशका मानिसहरूले आफ्नो देशमा के छ र कसरी बेच्न सकिन्छ भनेर सोचेनन् तिनै देशहरूमात्र आज आर्थिकरूपले कङ्गाल भएका छन् ।
 
के हामीलाई प्रकृतिले ठगेकी हुन् त ? होइन । हामीलाई त प्रकृतिले यति धेरै चीज दिएकी छिन् कि त्यसको लागि परमेश्वरलाई कोटीकोटी प्रणाम् गर्दा पनि कमै हुन्छ । दिन र रात झण्डै बराबर हुने (युरोप, अमेरिकामा यस्तो हुँदैन) स्थान, दक्षिणमा उर्बर भूमि, उत्तरमा हिमाल, बीचमा पहाड, अनगिन्ती नदीनाला, वन र जडिबुटी हाम्रा लगि अमूल्य सम्पत्ति हुन् । हामीले उपर्युक्त कुरालाई हेर्ने हो भने राज्यको प्रत्यक्ष संलग्नतामा निम्न चार प्राकृतिक स्रोतलाई सहजै बेच्न सक्छौँ । जल, वन, ढुङ्गा, प्राकृतिक सौन्दर्य ।

नेपाल र नेपालीको लागि पानी अद्वितीय प्राकृतिक स्रोत हो । हाम्रा नदीनाला र खोलाहरू वर्षौँ–वर्षदेखि अर्थहीन बगिरहेका छन् । राष्ट्रिय अर्थोपार्जनको स्रोत बन्नु–बनाउनु त कता कता, उल्टै यी नदीहरू बाढीपहिरो वा विनाशका कारक बनेका छन् । दक्षिण एसियाको शिरमा रहेका हाम्रा नदीनालाहरू हरेक घरको छतमा रहेका पानी टांकीसरह हुन् । सदाबहार रहने यस्ता नदीहरूबाट बिजुली निकाल्ने, साथै सिँचाईका लागि प्रयोग गर्ने हो भने हामीसँग बेच्नका लागि प्रशस्त बिजुली र अन्न तयार हुनेछन् । बिजुली उत्पादनका लागि स्वदेशी पूँजीलाई नै प्राथमिकता दिइनुपर्छ । यदि स्वदेशी पूँजीले मात्र थेग्न सक्दैन भने विदेशी पूँजीलाई आकर्षित गर्नुको विकल्प रहँदैन । यदि विदेशीले लगानी गर्छन् भने उत्पादनको निश्चित प्रतिशत उनीहरूले दाबी गर्नु कुनै नौलो कुरा होइन । आफ्नो ल्याकत छैन भने (इच्छा नहुँदा नहुँदै पनि) आफू थोरै निहुरिएरै भए पनि आफ्नो हितमा काम गर्नुपर्छ । यदि कुनै आवश्यक चीज पूरै नाश हुनुभन्दा आधी नाश उचित हो भन्ने पुरानो उक्ति यहाँनेर स्मरणीय छ ।
 
त्यसै गरी चुरे र महाभारतबीचमै केही नदीहरूलाई जोडिदिने हो भने तराई भावरमा प्रशस्त जग्गा निकाल्न सकिन्छ जो अहिले बगरको रूपमा अनुब्जाउ र अर्थहीन भएर रहेको छ । यसरी प्राप्त जग्गालाई व्यवस्थित गरेर त्यहाँ भूमिहीनहरूको एकमुस्ठ बस्ती बसाल्ने र तरकारी, भुइँकटहर, खर्बुजा, केरा खेती, बंगुर–कुखुरा वा पशुपालनजस्ता एकिकृत आयआर्जनका कार्यक्रम सञ्चालन गर्न सकन्छि जहाँ स्कूल, अस्पताल, कृषि, वन, पशुसेवाको एकिकृत सेवा एकै ठाउँबाट सहजै उपलब्ध गराउन सकिन्छ । यसले एकातिर भूमिहीनहरूको समस्या समाधान हुनेछ भने अर्कातिर वन विनाश रोकिने छ ।
 
हामीले बेच्ने दोस्रो स्रोत हो ढुङ्गा–गिट्टी, बालुवा । हामीसँग विभिन्न गुणस्तरका प्रशस्त ढुङ्गा–गिट्टी, बालुवाहरू छन् । जथाभावी यी स्रोतहरू बेच्दा बाढीपहिरोको समस्या आउनु वा उब्जाउ जमिन पुरिन पुग्नु कुनै नौलो कुरा होइन । सम्बन्धित विषयका विज्ञहरूको संलग्नातामा व्यवस्थापन योजना तयार पारी निश्चित स्थानहरू छनोट गरेर सही तरिकाले ढुङ्गा–गिट्टी निकाल्नुको हाामीसँग विकल्प छैन । यी ढुङ्गा–गिट्टी, बालुवाहरू अर्थहीन भएर थुप्रिनु हुँदैन । यी त सस्तै छरिएर रहेका फरक रँङका महङ्गा सुनचाँदी हुन् ।
 
वन हाम्रो अर्को महत्वपूर्ण स्रोत हो । तराईको वनलाई मात्र वैज्ञानिक व्यवस्थापनमा लैजाने हो भने यसले अकल्पनीय आम्दानी दिनसक्ने हैसियत राख्दछ । वनलाई विभिन्न ब्लकहरू(मान्नोस् १०० वटा)मा विभाजन गरी एउटा ब्लकमा एक वर्ष काट्ने र काटिएको ब्लकमा पुनरोत्पादन सुरक्षित गर्ने चक्रप्रणाली अपनाउने हो भने सयौँ वर्षसम्म त्यसले लगातार काठमात्र होइन, लाखौँ मानिसहरूलाई स्तरअनुसारको रोजगारी दिनसक्छ । उत्पादन भएका काठहरूबाट अनेकौँ खालका आधुनिक काष्ठ उद्योगहरू चलाउन सकिन्छ । जसले काठको मागको हाहाकार समाप्तमात्र हुनेछैन अपितु ठगी खान पल्किएका जो कोहीको वनमाथि भइरहेको दबदबा पनि सदाका लागि समाप्त हुनेछ । वनक्षेत्र अतिक्रमण रोकिने छ । जैविक विविधताको समुचित संरक्षण हुनेछ भने राष्ट्रले कार्बन सञ्चितिमा महत्वपूर्ण भूमिका खेल्न सक्नेछ । खासगरी तराईका बूढा रुखहरू पालिरहनुको औचित्य साबित हुनसक्दैन । वन संरक्षणको नाममा रूखहरूलाई दिनानुदिन बूढो बनाएर धोद्रो पार्दै जानु अति नै अवैज्ञानिक र अशोभनीय काम हो । मलेसियाजस्ता देशबाट हाल भइरहेको काठ आयात हाम्रो लागि गम्भीर दुर्भाग्यको विषय हो । यदि वनलाई वैज्ञानिक व्यवस्थापनमा लैजाने हो भने वन कर्मचारीहरूले अहिलेजस्तो व्यर्थको दुक्ख झेल्नै पर्दैन र उनीहरूले राज्यलाई उपलब्ध गराइदिने राजस्वले नै पर्याप्त सुविधा प्राप्त गर्ने अवसर जुटाइदिने छ । दुईचार हजार कतैबाट झर्ला कि भनी फायल घुमाइरहनै पर्दैन ।
 
हामीले बेच्नसक्ने अर्को महत्वपूर्ण स्रोत भनेको प्राकृतिक सौन्दर्य हो । पवित्र हिन्दकुश हिमालयको मध्यमा अवस्थित हाम्रो देशको हिमाललाई संसारले नै रहस्यमय मानेर हेर्दछ । हामीले यसमा थप रहस्य थप्नैपर्छ । हिमाली क्षेत्रमा सुविधासम्पन्न होटेल र लजहरू व्यवस्थितरूपले स्थापना गर्नुपर्दछ । यसका लागि निजी क्षेत्रका लगानीकर्ताहरूलाई विशेष सुरक्षा र सहुलियत दिनुपर्दछ । सोमार्फत् पर्यापर्यटनका लागि आवश्यक पर्ने सम्पूर्ण पुर्वाधारहरू तयार गर्नुपर्दछ । नेपाल पस्ने पर्यटकहरूको स्तर निर्धारण गरिनुपर्छ र निश्चित आकारको खर्च गर्नसक्ने पर्यटकलाईमात्र देशमा भित्रिन सक्ने वातावरण सिर्जना गरिनुपर्दछ । तपोभूमि हिमालयमा योग र ध्यानको एकछत्र पर्यटन चलाउने हो भने संसार नै चमत्कृत हुनेछ । यसले समग्र देशमा हाल भइरहेको नकारात्मक सोचलाई घटाएर तत्कालै सकारात्मक ऊर्जा प्रदान गर्न सक्नेछ । फलस्वरूप आजको जस्तो भाषण र गफमा रमाउन छोडी सही खानपान र आहारबिहारमा प्रेरित भई सामाजिक र सांस्कृतिक उन्नयनका लागि मानिसहरू श्रम र सिर्जनामा विश्वास गर्ने बन्न सक्छन् । यसै सिलसिलामा हामीले लुम्बिनीको सौन्दर्यलाई पनि बेच्न सक्छौँ । तिब्बत आउने लाखौँ पर्यटकहरूको केही प्रतिशतमात्र पनि लुम्बिनी छिराउन सक्ने हो भने त्यो हाम्रो लागि पर्याप्त आम्दानीको स्रोत साबित हुनेछ । भारत तथा चीनसँग सन्तुलित र यथार्थ कूटनैतिक सम्बन्ध कायम गर्दै हामीले बेच्नसक्ने चीजलाई बेच्न के गर्नु पर्छ भन्ने विषयमा पर्याप्त ध्यान दिएर योजनाहरू बनाई काम सुरु गरिहाल्ने हो भने निजीस्तरमा आयआर्जनका उद्यममा संलग्न हुने र हुन चाहनेलाई पनि यसले उत्साह थप्नेछ । परिणामस्वरूप देशको आर्थिक सम्वृद्धि अगाडि बढ्नेछ ।

नरेन्द्र पराशर
हिमालय टाइम्स, २०६९।१२।२१  मा प्रकाशित

No comments:

Post a Comment