१. 
तिमीलाई उसले 
कविताको बाढी दिएको छ
आफ्नो अस्तित्व
रक्षाको 
महासङ्कट झेल्दै 
तिमी निस्सासिएकी
छ्यौ 
यस अर्थमा 
ऊ एउटा प्राकृतिक
प्रकोप हो ।
२. 
तिमीलाई उसले 
कविताको सपना दिएको छ
त्यस सपनामा तिमी 
शशी शातील्य
झुल्किएकी छ्यौ
चकोर स्वरूपमा ऊ 
आधा–जीवन अनिदो बसेको छ  
यस अर्थमा
ऊ एउटा दुःस्वप्न हो
।
३. 
तिमीलाई उसले 
कविताको दिव्य-चक्षु दिएको छ 
र तिमी तिनै चक्षुले 
दिनको अन्धकारमा 
प्रज्ञाज्योति
फिजाउँछ्यौ
अनि मुस्कानको
उज्यालोले
कालो रात जलाउँछ्यौ
यस अर्थमा 
ऊ एउटा आगजनी हो ।
४. 
तिमीलाई उसले 
कविताको रहस्य दिएको
छ   
जसले तिम्रो चेतन–पारावार 
रहस्यमय बनाइदिएको छ
गुलाफझैँ प्रफुल्ल
तिम्रो मुहार 
कनक-सुन्दरीको मुकुटको मणिझैँ 
जाज्ज्वल्यमान्
बनाएको छ 
यस अर्थमा 
ऊ एउटा आत्मदाह हो ।
५. 
तिमीलाई उसले  
कविताको आकाश दिएको
छ  
जहाँ तिमी जीवन
गरिमाको साम्राज्य 
एकलौटी भोग गर्छ्यौ
र उन्मुक्तिको मधुले मात्तिएर
सम्भोगीय सीत्कार भर्छ्यौ
जहाँ स्वर्गका परीहरू
ईर्ष्याले थुक निल्छन्
यस अर्थमा 
ऊ एउटा दुर्भाग्य हो
।
६. 
तिमीलाई उसले 
कविताको झङ्कार दिएको
छ 
अर्थात् 
प्राकृतिक
प्रकोप
दुःस्वप्न
आगजनी
आत्मदाह
अर्थात् 
दुर्भाग्य दिएको छ 
यस अर्थमा ऊ समयको
एउटा विनिर्माण हो ।
:नरेन्द्र पराशर
 
 
No comments:
Post a Comment