Tuesday, May 21, 2013

परसरेकी छे कविता


एकरसताको महानिद्रामा
स्वप्नदोषले स्खलित आकाश
तुष्ट देखिन्छ
नजिकै
सिर्जनाका स्वप्नपुष्प लुकाएर
ख्यालठट्ठामै धर्ती अवैध गर्भवती भएकी छे
सौन्दर्यको दुनियाँमा
आनन्दको भाग खोस्न
संसार अगाडि सर्दा
आजै परसरेकी छे कविता !

अलि पर
हिलैहिलोमा को जान्छ र ?
फूलले आत्महत्या गरेको साँझ
कुन माहुरी खुशी हुन्छ र ?
अँध्यारो छर्ने मैनबत्ती बाल्न
हतारिएका छन् भानुका प्रकाशहरू
सौन्दर्यको दुनियाँमा
आफैँलाई कुरूप पार्न
संसार अगाडि सर्दा
आजै परसरेकी छे कविता !!

:नरेन्द्र पराशर

No comments:

Post a Comment