Monday, May 13, 2013

प्रेमको बाँसुरी

छ माधुर्यको मोहनी मातवाला
नशा शान्तिको शीतको दिव्य-प्याला
सबै व्यर्थ हल्ला गरी बन्द जा जा
बजा प्रेमले प्रेमको बाँसुरी जा ।।
।।१।।
न जा पापमा स्वार्थको साँघुरोमा
तँ जा प्रेमको पुण्यको टाकुरोमा
सफा स्निग्ध सङ्गीतको शिष्ट बाजा
बजा प्रेमले प्रेमको बाँसुरी जा ।।
।।२।।
सधैँ गुञ्जिऊन् चित्तका मिष्ट तार
चरा प्रेमका चिर्बिराऊन् हजार
धरा ध्यानले धन्य होस्, पग्लिई जा
बजा प्रेमले प्रेमको बाँसुरी जा ।।
।।३।।
तिरीरी तरेली नयाँ धूनमा जा
मजा मुक्तिको ब्रह्मको नादमा जा
सधैँ लट्ठ पार्ने सुधा-सारमा जा
बजा प्रेमले प्रेमको बाँसुरी जा ।।
।।४।।

:नरेन्द्र पराशर

No comments:

Post a Comment