मेरो एउटा दुस्मन छ
जो मलाई फोहोरजत्तिकै घृणा गर्छ
तर म उसलाई फूलजत्तिकै मन पराउँछु ।
ऊ मेरो अनुहारमा
घाम नउदाउनू भन्छ
मेरो बगैँचामा वसन्त नआउनू भन्छ
मेरो घरका झ्याल–ढोकाबाट
हावा नपस्नू भन्छ
मेरो आँगनका फूलले नमग्मगाउनू भन्छ ।
मेरा बाल–बचेराले
उसले सुन्ने गरी नकराउनू भन्छ
उसलाई दुख्नेगरी नरमाउनू भन्छ ।
ऊ आफ्नो घरको बार्दलीमा बस्छ
र प......रबाट बाटो हिँड्ने जो कोहीलाई
मनमनै मेरो घर नपस्नू भन्छ ।
कोसेली वा उपहार बोकेका कोही नपसून् भन्छ
मन्दिरबाट आशीर्वाद लिएर फर्केका बूढाबूढीलाई
मेरो घरअगाडिको चौतारामा नबसून् भन्छ ।
उसलाई मेरो घरमाथि चरा बसेको मन पर्दैन
जून मेरो छानामाथि बसेको
मेरा खेतबारीमा भाग्य लहलह झुलेको
आँपका रूखमा आशाका फूलहरू फुलेको
कुलाको पानी मेरो गैरीखेतमा डुलेको
उसलाई केही मन पर्दैन ।
यो वर्षात् किन मेरो घरको छानो भत्काउँदैन ?
पल्लो गाउँको खोलो
किन मेरो घरको बाटो आउँदैन ?
आगो किन यसरी अँगेनामा चुपचाप छ ?
किन झिल्को जूनकीरीजस्तो माथिमाथि उड्दैन ?
किन केही जलाउँदैन ?
ऊ मेरो सपनामा मरुभूमि पसोस् भन्छ
मेरो घरमा आँधी आएर बसोस् भन्छ
राति चोर आएर भकारीमा घुसोस् भन्छ
मेरा ओठबाट
मुस्कान उडेर बालुवामा गै खसोस् भन्छ
तर म उसलाई फूलजत्तिकै मन पराउँछु ।
यत्रो दुनियाँमा ऊबाहेक अरू
मेरो साथी–सगोत्री,
आफ्नो–अर्को
ठूलोे–सानो, परिचित–अपरिचित
यौटै कतै कोही छैन
जसले आफ्नै रहर र सपना भुलेर
घाम–पानी,
फूल, जून र चराहरू भुलेर
मबारे यतिबिघ्न सोचोस्
मलाई यतिबिघ्न सम्झोस् ।
दुस्मन नहुनु भनेको त
आफूतिर हरदम फर्किरहने
जीवनको यौटा रमाइलो पाटै नहुनु हो रहेछ
म उसलाई फूलजत्तिकै मन पराउँछु ।
रचनाकारः मनु मन्जिल
"ल्याम्प–पोस्टबाट
खसेको जून" (कविता सङ्ग्रह)बाट कविको अनुमतिले साभार
प्रकाशक ः फाइन प्रिन्ट
No comments:
Post a Comment