Thursday, January 3, 2013

“पूर्णा” मा समर्पण


पूजा गर्छु तिमीलाई फूल नित्य चढाउँछु
पूर्ण हौ, पूर्ण छौ पूर्णा ! पूर्ण श्रध्दा चढाउँछु !
(1)

पूर्णको पूर्ण विस्तीर्ण पूर्ण प्रेम चढाउँछु
दिव्य सौन्दर्यको पूर्ण-आभा-पूर्ण चढाउँछु !
(2)

प्रेम गङ्गे ! तिमी पूर्णा ! व्योमब्रह्म चढाउँछु
पूर्ण झन्कारको नाद शब्दब्रह्म चढाउँछु !
(3)

तिमी पुर्णा ! तिमी प्रेमा ! तिमी सम्पूर्ण पूर्णता
सद्य-स्नात सुधानन्द ! ब्रह्मनाद चढाउँछु !
(4)

आहा मेरी प्रिया पूर्णा ! दिव्यनाद चढाउँछु
मेरी अन्तर्यकी देवी ! नाद बिन्दु  चढाउँछु  !
(5)

:नरेन्द्र पराशर

रामेका बा


Wednesday, January 2, 2013

‘शिखरका खरका झुपडी मुनि’


मृदु हरा लहरा पहरासँग
रजतका छतका छहरासँग
म त हिँडेँ कमलो र गुणी बनी
शिखरका खरका झुपडीमुनि !

विपिनमा मुरली खगमा बजी
विटपमा लटरम्मा सजिधजी
सुमन बन्न हिँडेँ म बनी धनी
शिखरका खरका झुपडीमुनि !

शहरका घरका भरमा परी
हृदयकी वसुधा मरुमा झरी
प्रकृतिका कृति ली म हिँडेँ छु नि
शिखरका खरका झुपडीमुनि !

रकमका कमका गम छन् न ता
चउरका उरका मन छन् त्यता
अब सनातन मुक्त  हिँडेँ मुनि
शिखरका खरका झुपडीमुनि !

:नरेन्द्र पराशर


यो प्रेम गर्ने परमेश्वरै हो


यो प्रेम गर्ने परमेश्वरै हो
डोर्‍याउने यो परमेश्वरै हो
आनन्दको ईश्वर छेउ आयो
आकाश झैँ व्याप्त भएर आयो !

छातीभरी झोल बगेर आयो
कोइलीको बोल गरेर आयो
अमूल्यको मोल दिएर आयो
उन्मुक्तिको घोल पिएर आयो!

हाँस्दै अहा सुन्दर चीज आयो
चैतन्यको अन्तिम बीज आयो
विस्तीर्ण फैलावटसाथ आयो
अज्ञात आकर्षण मात आयो !

ढल्केर हल्का अनुराग आयो
प्यारीसँगै त्यो कति छेउ आयो
लौ प्रेमको गीत बजेर आयो
कैल्यै नजाने गरी छेउ आयो !

यो धर्म गर्ने परमेपरमेश्वरै हो
सत्कर्म गर्ने परमेश्वरै हो
ऐश्वर्यको नन्दन पुष्प आयो
त्यै पुष्पले जीवन स्वाद छायो !!

:नरेन्द्र पराशर

“तिमी”


तिम्रा ओठ कुनै फूल गुलाबी लाज-मञ्जरी
टोल्हाउँछ कलेजो नै भो भो नबोल भै चरी !

दाँतमा शीत का थोपा राखिदिएछ ईशले
नहाँस है म मर्नेछु एक्लो पार्ला गिरीशले !

तिम्रो केश फुकाएको लाग्छ सुन्दर बादल
बज्छ देखेर त्यो केश मन-मयुर मादल !

तिम्रा आँखा जुरेलीका जस्ता प्यारा मनोहर
डुबिदिन्छु तिनै आँखाका नानीमा बरोबर !

तिम्रो मुहार चम्किन्छ जस्तो हिमाल सुन्दर
तिम्रो माया अझै मीठो कल्पना झैँ छ कोमल !

यती राम्री तिमी प्यारीलाई सकिनँ क्यै दिन
माफ क्षमा गरिदेऊ मुटुमात्र छ है दिन !!!


:नरेन्द्र पराशर
(शृंगारसुधा कवितासंग्रहबाट)

वाचा


Tuesday, June 12, 2012

सपना



........................
सपनाका पुतलीहरूलाई फुक्का छोडिदिएं मैले
र उडाइदिएं सपना कै बगैचाहरूमा
अनेकौं प्रफुल्ल स्वप्नपुष्पहरूका
अमृतमय परागहरूमा
रमाइरहे मुक्त सपनाका उन्मुक्त पुतलीहरू
स्वप्नहीनताकोविरूध्धमा
अनन्त सपनाका अद्भुत् नन्दन बागहरू सजाएर
बहाइदिएं सपनाकी पवित्र गंगा
पारावार खुलेको स्वप्नमय ह्रिदयको फांटमा

सपनाका तोरीबारीहरू
सपनाका हिमचुचुराहरू
सपनाका मानसरोबरहरू
सपनाका आकाशगंगाहरू
यी सबै सबै प्राप्य छन्
सपनाका उत्तप्त तरंगहरूमा

मेरा सपनाका पुतलीहरू रमाइरहे
प्रत्येक स्वप्नपुस्पहरूलाई सुनाइरहे
कुनै गुप्त रहश्य
जन्मजात थाकेर सुतेकाहरूले
कसरी देख्नु सपना
ढुंगाहरूले बरू देख्न सक्लान् सपना
तर लाशहरूले कसरी देख्नु सपना

सपनाका पुतलीहरू कहिल्यै थाकेनन् उडेर
रंग् माथि रंग् थपिरहे
आनन्द माथि आनन्द थप्दै उडिरहे
दुबै पखेटा फैलाएर
सपनाकै आकाशतिर उडिरहे
सपनाका अगणित रंगीन पुतलीहरू
मेरा सपनाका आखा नजिक उडिरहे
सपना देख्न सिकाउंदै
उडिरहे
उडिरहे....!