हाइड्रोसिलको उपचार गर्न
एकपटक उनी पक्कै बिराटनगर गएका हुन्
अन्यथा रामेका बा कहीं गएनन्……. !
माथ्लाघरे ‘लक्ष्मीप्रसाद’ ‘महेश योगी’ कहाँ जाँदा पनि
तल्लाघरे ‘देवीप्रसाद’ ’
‘ॐ शान्ति’मा गए पनि
अहँ रामेका बा कहीँ गएनन्……!
रामेका फकत खेतमा गए
हलो जोते, डल्ला फुटाए, आली लगाए
खेतमै, माटोमै पसिना बगाए
तर कहीँ गएनन्
जान भ्याएनन्…….!
सानैमा ‘दोलखा’ को ‘जफे’बाट
भागेका रामेका बा
कता कताबाट ‘कपरसुख्खा’ पुगे
कपरसुख्खा ‘मोरङ’ को ‘सिजुवा’ मा पर्छ
‘सौठा’ का भलाद्मीहरुले
‘काधुपाडा’की केटी
मिलाइए पछी
उनी छिट्टै रामेका बा बने
खुशी बने
कमसे क्म एउटा नाम बने…. !
रामेका बाले रक्सी तानेनन्
कसैका चेलीबेटी तानेनन्
कसैका खुट्टा पनि तानेनन्
मात्र जीवनको गाडा ताने….!
रामेका बाको मावली थिएन
ससुराली पनि थिएन
कुनै थप अभिलेख थिएन
मुस्किलले मतदाता नामावलिमा नाम थियो
चुनाव ताका उहिले पञ्च आउथे
उनले ‘हुन्छ’ भन्थे
पछी कांग्रेस्-एमाले आए
उनले ‘हुन्छ’ भने
अली अघी माओवादी आए
उनले उत्तिकै खुशी भएर ‘हुन्छ’ भने
रामे बा ले कसैलाई निरासा दिएनन्
सबैलाई भोट् दिए…..!
‘कपरसुख्खा’मै पनि उनलाई कमैले चिन्छन्
कसैद्वारा नचिनिदा पनि
आँफैंले आँफैंलाई चिने जस्ता
आहा ! रामेका बा !
रामेका बाले वेद पढेनन्
उपनिषद्, गीता व पुराण पढेनन्
कुनै मन्दिराका खुड्किला चढेनन्
ब्रह्म, आत्मा र मुक्ति खोज्दै
अहँ, कतै गएनन्
उनी केवल घरबाट खेत गए
र खेतबाट घर गए
तर एउटा पनि सपना चकनाचुर नभएका
‘कदला’ खोला किनरको सानो झुपडीमा बस्ने
आहा ! रामेका बा !
ज्ञानका प्रदिप्त आभा
आहा ! रामे का बा !
No comments:
Post a Comment