Wednesday, January 2, 2013

“तिमी”


तिम्रा ओठ कुनै फूल गुलाबी लाज-मञ्जरी
टोल्हाउँछ कलेजो नै भो भो नबोल भै चरी !

दाँतमा शीत का थोपा राखिदिएछ ईशले
नहाँस है म मर्नेछु एक्लो पार्ला गिरीशले !

तिम्रो केश फुकाएको लाग्छ सुन्दर बादल
बज्छ देखेर त्यो केश मन-मयुर मादल !

तिम्रा आँखा जुरेलीका जस्ता प्यारा मनोहर
डुबिदिन्छु तिनै आँखाका नानीमा बरोबर !

तिम्रो मुहार चम्किन्छ जस्तो हिमाल सुन्दर
तिम्रो माया अझै मीठो कल्पना झैँ छ कोमल !

यती राम्री तिमी प्यारीलाई सकिनँ क्यै दिन
माफ क्षमा गरिदेऊ मुटुमात्र छ है दिन !!!


:नरेन्द्र पराशर
(शृंगारसुधा कवितासंग्रहबाट)

No comments:

Post a Comment